बेइजिङ डायरी

बेइजिङमा रहेको माओको शव साँच्चै हो र ?

बेइजिङ घुम्न आएका नेपालीहरू एउटा दुबिधा मेट्न पनि माओको शव हेर्न जान्छन्। धेरैजसो नेपालीहरू माओको शव नहेरुन्जेल साँच्चै होइन नक्कली बनाएर राखिएको ठान्छन्। कत्तिले त हेरेर फर्केपछि पनि प्रश्न गर्छन् ‘माओको शव साँच्चैको हो र ?

बेइजिङमा रहेको माओको शव साँच्चै हो र ?

बेइजिङ। बेइजिङ बसेर काम गर्न थालेको एक दशक पुग्न लागेको छ। यी दश वर्षमा दशौँपटक माओ चतोङको शवसँग साक्षात्कार हुने अवसर मिलेको छ। हुन त माओको मृत्यु भएको ४६ वर्ष पूरा भएको छ। तर मृत्यु भएको लामो समयसम्म पनि माओको पार्थिव शरीर प्रत्यक्ष देख्न पाउनु एउटा अनुपम अनुभव हुन सक्छ।

जनवादी गणतन्त्र चीनका संस्थापक नेता माओ चतोङको स्मृति दिवस हो सेप्टेम्बर ९ तारिख। सन् १९७६ सेप्टेम्बर ९ मा माओको देहान्त हुँदा चार वर्ष पुग्न लागेको यो स्तम्भकार यतिबेला माओको आँगनीमा रमाइरहेको छ।

विद्यालयमा कतै माओको जीवनी पढ्नुपर्थ्यो। २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनताका पद्मरत्न तुलाधरको भाषणका क्यासेट गाउँ-गाउँमा पुगेका थिए। ती क्यासेट सुनाउने अग्रजले माओको कुरा गर्थे। माओको रचना गोप्य रूपमा पढाइन्थ्यो। माओले रातो डायरीमा लेखेका अनुशासनका नियम घोक्न लगाउँथेँ अग्रजहरू।

माओलाई राम्ररी चिन्ने मौकाचाहिँ २०४६ सालको राजनीतिक परिवर्तनपछि पाइएको हो। अझ २०५२ मा माओवादी शसस्त्र युद्ध सुरु भएपछि माओका बारेमा आम नेपालीले धेरै जानकारी पाए । त्यसो त माओ नेपालीका माझ पहिलेदेखि नै लोकप्रिय थिए भन्ने देखिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले माओको सम्मानमा कविता लेखेबाटै त्यो स्पष्ट हुन्छ। माओसँग नेपालका राजाहरू महेन्द्र र वीरेन्द्र तथा बीपी कोइरालाले खिचाएका फोटा अहिले पनि प्रयोग भइरहेका छन्।

माओ स्मारक हल

विश्वमा सबैभन्दा धेरै प्रशंसा र आलोचना पाएका नेता हुन् माओ। पश्चिमा जगत विशेषगरी अमेरिकाले माओको जतिसुकै आलोचना गरे पनि एक अर्ब ४० करोडभन्दा धेरै चिनियाँले माओलाई न्यानो माया दिएकै छन्। हरेक चिनियाँले सम्मानका साथ ‘अध्यक्ष माओ’ भनेर बोलाउँछन्।

चीनमा अहिले पनि माओको जन्म घर तथा उनका अध्ययन कक्ष, उनी चढेको रेल, उनको गाडी, उनका कलम, उनका डायरी लगायत संङ्ग्रहालयमा राखिएको छ। यति मात्र होइन लङमार्चको समयमा माओले सेल्टर लिएको ठाउँ र बास बसेको स्थानलाई पनि संरक्षण गरिएको छ। यस्ता क्षेत्रलाई चीनमा ’लालपर्यटन’ भनिन्छ।

माओका फोटो अङ्कित टोपी, टिसर्ट, घडी, प्लेट, लकेट, झोला, ज्याकेट, तास, कलम र माओका मूर्तिहरू अहिले पनि चीनमा सर्वाधिक बिक्री हुने गरेका छन्। विदेशी पर्यटकले मात्र होइन आन्तरिक पर्यटकले पनि उल्लिखित माओका चित्र अङ्कित वस्तुहरू किन्ने गरेका छन्।

नेपाली मिडिया र मानिसले शुद्धसँग भन्न नजान्ने नाम

कतिपय स्थानमा माओको हस्ताक्षर अझै देख्न पाइन्छ। बेइजिङको थिआनआनमन क्षेत्रको बीचमा राखिएको सहिद स्मारकमा माओको हस्ताक्षर छ। चीनमा प्रकाशन हुँदै आएको चिनियाँ भाषाको पिपुल्स डेलीको नामाङ्कित चिन्ह ‘मास्टहेड’ माओकै हस्ताक्षर हो।

उन्नाइसौँ शताब्दीमा जन्मिएर बिसौँ शताब्दीमा विश्वका चर्चित नेतामा दरिएका माओ चतोङलाई अधिकांश नेपालीले चिने पनि नाम शुद्धसँग लेख्न जान्दैनन्। माओ चतोङलाई नेपाली सञ्चार माध्यम र पुस्तकमा ‘माओत्सेतुङ’ लेखिने गरेको छ । जुन गलत उच्चारण र प्रयोग हो ।

आफूलाई माओको सच्चा अनुयायी ठान्ने नेपाली नेताले पनि माओको नाम शुद्धसँग लेख्न र भन्न नजान्नु विडम्बनापूर्ण छ ।

कोभिड महामारीभन्दा अगाडिसम्म बेइजिङ आइपुगेका नेपालीको इच्छा माओको शव हेर्ने हुन्थ्यो। आफूले चाहिँ पहिलोपटक सन् २००८ मा माओको शव देखिएको हो। त्यो बेलाको जस्तो सम्मान र अवसर फेरि पाउने सम्भावना अत्यन्त कम छ।

सन् २००८ मा तेस्रोचोटि चीन भ्रमणमा आउँदा पहिलोपटक माओको शव हेर्ने मौका मिल्यो। पहिलोपटक सन् २००४ मा एउटा अन्तर्राष्ट्रिय पुरस्कार ग्रहण गर्नका लागि बेइजिङ आएको थिएँ। त्यतिबेला थिआनआनमन क्षेत्रमा जाँदा दोभाषे लिउ होङस्याङले माओको शव राखिएको भवन बाहिरबाटै देखाएका थिए।

mawo with mahendra
राजा महेन्द्रसँग माओ

दोस्रोपटक सन् २००६ मा चीन भ्रमणमा आएको थिएँ। नेपाली पत्रकार टोलीमा सहभागी हुँदै गरेको उक्त भ्रमण चीनको स्वायत्त प्रदेश तिब्बतमा मात्र सीमित थियो। तेस्रोपटकको भ्रमणले माओलाई नजिकैबाट साक्षात्कार गर्न पाइएको हो।

सन् २००८ मा अखिल चीन युवा महासंघले नेपाल चीन युवा मैत्री संघलाई चीन भ्रमणमा आमन्त्रण गरेको थियो। उक्त समयमा म नेपाल चीन युवा मैत्री संघको सचिव थिएँ। निमन्त्रणा हाम्रो संस्थालाई गरे पनि नेपालका मुख्य राजनीतिक दलमा आबद्ध युवा संघका प्रतिनिधिलाई पनि सहभागी गराउने बिचार हामीले गर्‍यौ। यसो गर्दा अखिल चीन युवा महासंघ पनि खुसी भयो। काठमाडौंस्थित चिनियाँ दूतावासले पनि हामीलाई हौसला प्रदान गर्‍यो।

हाम्रो भ्रमण समूहमा नेपाल चीन युवा मैत्री संघका अध्यक्ष प्रकाशबाबु पौडेल, सचिवका हैसियतमा म आफैँ, कोषाध्यक्ष प्रेम तिवारी, सदस्यहरू हेमराज रानाभाट, इन्दिरा कार्की, तुलसीदास महर्जन र यदुनाथ पोखरेल गरी सात जना थियौँ।

मुख्य राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिका रूपमा नेकपा माओवादीको वाइसीएलका तत्कालीन अध्यक्ष गणेशमान पुन, नेपाली कांग्रेसको तरुण दलका तत्कालीन महामन्त्री पुष्प पराजुली र नेकपा एमालेको तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवासंघ (हालको राष्ट्रिय युवा संघ)का सचिव हस्त पण्डित सहभागी थिए।

गणेशमान- माओ चतोङको ‘डाइहार्ट फ्यान’

सन् २००८ को मध्य जुलाईमा काठमाडौँबाट बेलुका उडेका हामी बिहान ६ नबज्दै क्वाङचौमा उत्रियौँ। सोही बिहान साढे आठ बजेको बेइजिङ उडान तालिका थियो। चीनले पहिलोपटक आयोजना गर्दै गरेको गृष्मकालीन ओलम्पिक नजिकै आएकाले विमानस्थलमा सुरक्षा व्यवस्था अत्यन्त कडा थियो।

त्यही मेसोमा क्वाङचौस्थित विमानस्थलमा एउटा झन्झटमा फस्न पुगियो। सबैको लगेज आयो तर गणेशमान पुनको आएन। खोज्दा खोज्दै हाम्रो बेइजिङको उडान छुट्यो। लगेज नलिइकन बेइजिङ उड्ने निर्णय गणेशमान पुनले गरेपछि टिकट मिलाउन लागियो। सबैले केही पैसा उठाएर विमानस्थलको एकजना व्यक्तिलाई घुस खुवाएपछि हामी दिउँसो साढे एक बजे बेइजिङ उठ्न पायौँ।

बेइजिङ आइपुगेको भोलिपल्टै गणेशमानजीले सुपरमार्केटमा गएर नयाँ सुट किने। उनको रोजाइ माओले लगाउने डिजाइन र रङसँग मिल्दोजुल्दो थियो। त्यतिबेला पहिलो संविधानसभाको निर्वाचन भरखरै सम्पन्न भएर नेकपा माओवादी सबैभन्दा ठूलो दलका रूपमा उदाएको थियो।

बेइजिङको सैनिक सङ्ग्रहालयमा माओको शालिक

त्यस्तो बेला माओवादीको युवा संगठनका अध्यक्ष गणेशमान पुनको पोसाकको रोजाइ माओसँग मिल्दोजुल्दो भएकाले चिनियाँहरू उनीप्रति निकै घनिष्ठ भएका थिए। बजारमा गएको बेला कोही साथीहरू मोबाइल किन्थे भने कोही ल्यापटप। गणेशमानचाहिँ माओको चित्र अंकित टिसर्ट, टोपी, प्लेट र मूर्ति मात्र किन्थे। त्यो देखेर चिनियाँहरू उनलाई माओको ‘डाइहार्ट फ्यान’ भन्दै जिस्क्याउँथे पनि।

गणेशमानकै प्रस्तुतिले हो कि चिनियाँहरूले हामीलाई माओको शव देखाउन लगे। हामीलाई दिएको पूर्वनिर्धारित कार्यतालिकामा माओको शव हेर्ने कुरा उल्लेख थिएन। त्यसैले, त्यो आकस्मिक राखिएको कार्यतालिका हो जस्तो लाग्छ।

होटलबाट बिहानै थिआनआनमन क्षेत्रको दक्षिण भागमा रहेको माओ स्मारक भवनमा हामीलाई पुर्‍याउँदा अन्य व्यक्तिलाई रोकेर हाम्रा लागि विशेष व्यवस्था गरिएको रहेछ। माओ स्मारक भवन छिर्नुभन्दा अगाडि हामीलाई मोबाइल र क्यामरा बाहिरै छोड्न भनियो। हाम्रा सहयोगी चिनियाँलाई सबैले मोबाइल फोन र क्यामरा दिएर हामी भवनभित्र पस्यौँ।

भवनमा पस्नासाथ मार्बलबाट बनेको साढे तिन मिटर अग्लो माओको सालिक देखियो। त्यो तह पार गरेर अझ भित्र पुगेपछि माओको शव देखियो। उत्तरतिर शीर र दक्षिणतिर पाउ पारेर सुताइएका माओलाई क्रिष्टलभित्र राखिएको रहेछ। छातीसम्म चिनियाँ कम्युनिस्ट पार्टीको झन्डाले ढाकिएको शव कालो ग्रेनाइटको कफिनमा थियो। कफिनको चारैतिर चिनियाँ कम्युनिस्ट पार्टीको चिह्न, चीनको राष्ट्रिय चिह्न, चिनियाँ जनमुक्ति सेनाको चिह्न र माओको जन्म र निधनको तिथिमिति लेखिएको थियो।

हामीले माओलाई शिर झुकाएर श्रद्धाञ्जलि अर्पण गर्‍यौँ। त्यसपछि वरिपरि घुमाउँदै गाइडका रूपमा खटिएकी सुन्दर चिनियाँ युवतीले माओको जीवनी व्याख्या गरिन्। त्यसपछि हामीलाई स्मारक भवनको दोस्रो तलामा लगियो। सामान्य व्यक्तिले माओको शव हेर्दा उभिन् र बोल्न पाइँदैन। दोस्रो तलामा त विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूलाई मात्र लगिँदो रहेछ। हामीलाई उच्च सम्मान दिएर माथिल्लो तलामा लगिएको कुरा त अहिले आएर मात्र थाहा भयो।

माओ स्मारक हलमा माओको शव हेरेपछि फोटो खिचाउँदै नेपाली

माओ स्मारक भवनको दोस्रो तलामा माओ चतोङसँगै चिनियाँ कम्युनिस्ट पार्टीका लोकप्रिय नेताहरू चाउ एनलाई, लिउ साओछी, चु त, तङ स्याओफिङ र छन् युनको नाममा स्मृति कोठाहरू रहेछन्। चिनियाँ फोटोग्राफरले त्यहाँ हाम्रो फोटो पनि खिचिदिए। तर, हामी कसैलाई पनि त्यहाँ खिचिएको फोटो दिइएन।

सन् २०१३ देखि बेइजिङमै बसेर काम गर्न थालेपछि म दर्जनौँ पटक माओको शव हेर्न गएको छु। विशेषगरी, नेपालबाट आएका साथीहरूको ठूलो इच्छा हुन्छ माओको शव हेर्ने। नेपाली साथीहरूसँग जाँदा प्राय म बाहिरै रहन्छु उनीहरूका झोला, क्यामरा र मोबाइल कुरूवा भएर। भित्र पसेर माओको शव हेरेको चाहिँ दश पटकभन्दा बढी भइसक्यो होला।

‘माओको शव साँच्चैको हो र?’

बेइजिङ घुम्न आएका नेपाली एउटा दुविधा मेट्न पनि माओको शव हेर्न जान्छन्। धेरैजसो नेपालीहरू माओको शव नहेरुन्जेल साँच्चै होइन नक्कली बनाएर राखिएको ठान्छन्। कत्तिले त हेरेर फर्केपछि पनि प्रश्न गर्छन् ‘माओको शव साँच्चैको हो र ?’ बेइजिङमा पुगेर प्रत्यक्ष हेर्नेहरूमा यस्तो आशङ्का हुन्छ भने नेपालबाटै कुरा गर्नेहरूको जिज्ञासा कस्तो हुँदो हो !

जतिपटक पुगे पनि सन् २००८ मा जस्तो वरिपरि घुम्दै हेर्न पाएको छैन। दोस्रो तलामा पुग्ने त कल्पनै भएन। माओ स्मारक भवनमा पसेपछि न उभिन दिइन्छ न राम्ररी नियालेर हेर्न नै पाइन्छ। उत्तरतिरको ढोकाबाट छिर्यो‍ सरासर हिँड्दै हेर्यो‍ अनि दक्षिणतिरको ढोकाबाट फुत्त निस्कियो।

माओको पार्थिव शरिर

माओ स्मारक हलको बारेमा खोजबिन गर्दा निकै रोचक कुराहरू थाहा भयो। माओको देहान्त सन् १९७६ सेप्टेम्बर ९ तारिखमा भएको थियो । उनको मृत्यु भएको अढाइ महिनापछि १९७६ नोभेम्बर २४ मा निर्माण सुरू भएको यो भवन १९७७ मे २४ मा पूरा भयो।

यसको निर्माणमा चीनका विभिन्न प्रान्तका सात लाख नागरिकले सांकेतिकरूपमा स्वयंसेवा गरेका थिए। स्मारक भवनमा चीनका विभिन्न प्रान्तका फरक-फरक वस्तु प्रयोग भएका छन्।

सिचुवान प्रान्तको ग्रेनाइट, क्वाङतोङको पोर्सिलियन माटो, पल्लो सान्सीका सल्लाको काठ, सिन्चियाङको विशेष प्रकारको वनस्पतिको बिउ, थाङसानको माटो, नान्चिङबाट रङ, खुनलुन पहाडबाट सेतो पत्थर, च्यान्सी प्रान्तबाट पाइन लग, ताइवानबाट पानी र बालुवाको नमुना यसमा मिसाइएको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ढुङ्गाको नमुना ल्याई यो भवनमा प्रयोग गरिएको छ। ५७ दशमलव २ हजार वर्ग मिटर क्षेत्रफलमा रहेको माओ स्मारक भवनको मुख्य प्रवेशद्वारको माथिपट्टि सुनौला अक्षरमा ‘अध्यक्ष माओ स्मारक हल’ लेखिएको छ।

माओको शव हेर्दा स्मारक भवनभित्र टोपी लगाउन पाइदैन। टोपी खोलेर हातमा बोक्ने अथवा गोजीमा राख्नुपर्छ। मङ्गलबारदेखि आइतबारसम्म बिहान ८ बजेदेखि १२ बजेसम्म खुला रहने यो भवन माओको जन्मदिन डिसेम्बर २६ र मृत्यु भएको दिन सेप्टेम्बर ९ मा चाहिँ दिउँसो २ देखि ४ बजेसम्म पनि खुल्ने गर्छ।

माओको जन्मदिन र मृत्युदिन बाहेक अप्रिल महिनाको पहिलो हप्ता पर्ने पुर्खा दिवसमा पनि यहाँ मानिसको ओइरो लाग्ने गर्छ। नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जत्तिकै उच्च र हिउँजस्तै स्वच्छ छ। त्यही सगरमाथाको ढुङ्गा राखिएको स्मारक भवनमा रहेका अध्यक्ष माओलाई हार्दिक श्रद्धाञ्जलि।


Comment

5 thoughts on “बेइजिङमा रहेको माओको शव साँच्चै हो र ?

  1. माओवादी पार्टीले 17,000 भन्दा वढीको ज्यान जानेगरि र नेपाल जस्तो गरिव राष्ट्रको आधारशिलाहरू ध्वस्त पार्दै गरेको मारकाटको संघर्षमा ‘माओ’को नाम मुछेकोमा चिनियांहरूको त्यती खुसि थिएनन् भन्ने सुनिन्थ्यो ?

  2. नाम र उच्चारणलाई लिएर गरिएको लेखक ज्युको टिप्पणी अति नै हल्का लाग्यो। मानिसहरुले प्रयोग गरिने भाषाको आधारमा अक्षर र लिपि बन्छन , त्यसैको आधारमा लवज तय हुन्छ। अर्को भाषा प्रयोग गर्नेले आफुले सुनेको आधारमा लेख्दा र बोल्दा फरक देखिन्छ र सुनिन्छ। उदाहरणको लागि नेवारी भाषामा त र ट हुँदैन त्यसको साटो दुवैको बीचको एउटा वर्ण हुन्छ जुन नेपाली भाषामा हुँदैन त्यसैले उनीहरुले त भन्दा ट सुन्छौं र ट भन्दा त् सुनिन्छ। हामी नेपाली भाषा बोल्नेहरुलाई उनीहरुको विशेष वर्णको विषयमा थाहै हुन्न उल्टै नेवारलाई नै खिसी गर्छौं।

    1. बाबुराम सर तपाईंले भनेको कुरा भाषा विज्ञानका हिसाबले ठीकै हो। नेपालीहरुले माओ चतोङलाई माओत्सेतुङ लेखेको कारण चाहिँ चिनियाँ भाषाका कारणले होइन अंग्रेजी भाषाका कारणले हो। माओको नाम अंग्रेजीमा अनुवाद गर्दा पश्चिमाहरुले माओत्सेतुङ बनाए। अनि हामी नेपालीले त्यही अनुसरण गर्‍यौँ। किनभने त्यतिखेर चिनियाँ भाषालाई रोमन लिपिमा लेेखिने फिनियनको आविष्कार भएकै थिएन। अहिले पश्चिमा जगतले पनि माओ चतोङ लेख्न थाले तर हामी नेपाली चाहिँ उही पुरानो धङधङीमा रमाइरहेका छौँ।

      1. बाबुराम सर चिनियाँ व्यक्तिका नाम र ठाउँका नाम शुद्ध कसरी लेख्ने भन्ने बारेमा यो लि‌ङ्कमा केही उदाहरण छन्। फुर्सद भएमा कृपया पढ्नु होला ल।
        https://nepal.cri.cn/2022/07/26/ARTIGiqKqQ6Erur1hmjEjXTH220726.shtml?spm=C75752.Pivk8OthtkQm.EJjlnpPt1wxQ.32

Leave a Reply to Sundar Nath Bhattarai Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved