चार करोडको नेपाली सिनेमा, भारतमा तीन सय करोडको चर्चा
ट्रेलर हेरेपछि ती युवाले अनुमान गर्छन्,‘‘ढाई सौ करोडमे बहुबली बनीथी। ये फिल्म तीन सौ या साढे तीन सौ करोड मे बनि होगी।’’ ती युवाको अनुमानपछि युट्युबर भन्छन्, ‘‘मै बताता हुँ आपको। ये फिल्म सिर्फ ४ करोडमे बना हे।’’ अनुमान गर्ने व्यक्ति चकित पर्छन्। प्रेमगीत ३ ले अहिले नयाँ तरङ्ग पैदा गरेको छ। नेपाली सिनेमासँग सम्बन्धित मात्रै हैन सामान्य शुभचिन्तकसम्म प्रफुल्लित र उत्साही देखिएका छन्।
काठमाडौं। भारतको पन्जाबस्थित एक भव्य सपिङ मल। ‘म्युजिक रियाक्सन’ नामको भारतीय युट्युब च्यानलमा एकजना युट्युब क्यामरामेन हातमा पिन माइक लिएर उभिएका छन्। उनको नजर सपिङ मलमा आएका एक युवामा पर्छ।
पन्जाबी फेटा बाँधेका ती युवासँग उनी कुरा गर्न थाल्छन्। सुरुमा ती युवालाई युट्युबरले कुनै फिल्मकाे ट्रेलर देखाउँछन्। ट्रेलर हेराएपछि युट्युबरले फिल्ममा अभिनीत कलाकारको नाम लिँदै ‘यह किस देशकी फिल्म हे?’ भनेर अनुमान गर्न लगाउँछन्।
पन्जाबी युवाले प्रतिक्रिया दिन्छन्,‘‘जैसे बाहुबली टाइप हे न उसी टाइपकी लगरीइ हे। मुझे नहीँ पता कि यह किस देश का है।’
युट्युबरले फेरि सोध्छन्,‘‘बाहुबली ढाई सौ करोडमे बनिथी। ये फिल्म कित्ना बजेटमे बनी होगी ?’’
ती युवाले अनुमान गर्छन्,‘‘ढाई सौ करोडमे बाहुबली बनीथी। ये फिल्म तीन सौ या साढे तीन सौ करोड मे बनी होगी।’’
ती युवाको अनुमानपछि युट्युबर भन्छन्, ‘‘मै बताता हुँ आपको। ये फिल्म सिर्फ ४ करोडमे बना हे।’’ ती व्यक्ति चकित पर्छन्। ‘फिल्मको ट्रेलर हेर्दा आफूले बाहुबलीसँग तुलना गरेको फिल्म कसरी ४ करोडमा बन्न सक्छ?’ भन्दै उनी अचम्मित भएका हुन्।
अर्को भिडिओमा तीनै युट्युबर चन्डीगढ नजिकको एक सहर (सिल्भर सीटी एक्सटेन्सन)को व्यस्त सडकमा देखिन्छन्। एकजना बटुवासँग कुरा गर्न खोज्छन्। उनलाई सोधेपछि थाहा हुन्छ उनी जम्बुबाट आएका रहेछन्।
‘साहिल’ नामका ती व्यक्तिलाई युट्युबरतले अघिजस्तै गरी उही फिल्मको ट्रेलर देखाउँछन्। ट्रेलर सकिएपछि युट्युबरतले २३ सेप्टेम्बरमा भारतमा रिलिज हुने जानकारी गराउँछन्।
भर्खरै ट्रेलर हेरेका ती बटुवाले अरूलाई पनि ट्रेलर हेर्न आग्रह गर्दै भन्छन्, ‘‘बहुत सही हे। इस्को जरुर देखो यार। बहुत अच्छि हे।’’
युट्युबर फेरि सोध्छन्, ‘‘आप भी देखोगे?’’ युट्युबरकाे प्रश्न भुईँमा झर्न नपाउँदै बटुवा भन्छन्, ‘‘मे अभि जाके ल्यापटपमे डालकर देखुँला। थिएटरमे पूरी मुवी देखने जाऊंगा।’’
चन्डीगढको एक बगैँचामा ६ जना युवासँग उही युट्युबरतले फिल्मका ट्रेलर देखाएर कुरा गरेका छन्। ‘‘बर्फीले दृश्य और पहाड के दृश्य को देखते हुए ऐसा लगा जैसे कोई हलिवुड फिल्म देख रहा हुँ’’ एक जनाले प्रतिक्रिया दिन्छन्।
कतिपयले विदेशी ‘वेब सिरिज’ जस्तै लागेको बताए। ‘‘यह किस देश की फिल्म हो सकती?’’ युट्युबरको प्रश्नमा उनीहरूले हलिउड देखि इरानसम्मका नाम लिन्छन्।
‘एक्सन रोमान्सलगायत हेर्दा अमेरिकन फिल्म जस्तो’ लागेको एकजनाले बताए। कसैले युरोप, कसैले भारत, कसैले साउथ इन्डिया, कसैले इरान त कसैले स्विजरल्यान्डको हुनसक्ने अनुमान लगाए।
साढे तीनसय करोड रुपैयाँसम्मको अनुमान गरिएको फिल्म
‘म्युजिक रियाक्सन’ युट्युब च्यानलमा फिल्म सम्बन्धी सामग्री राख्दै आएका ती युट्युबरतले सयौंजना भारतीय र पाकिस्तानी मानिससँग प्रतिक्रिया लिएका छन्। उनले सबैलाई फिल्मको १ मिनेट ३० सेकेन्ड लामो ‘ट्रेलर’ देखाउँछन्।
सबैसँग एकै खालको प्रश्न गर्छन्। अनुमान गर्न लगाउँछन् र जिज्ञासा पनि मेटाइदिन्छन्। फिल्मको बारेमा जानकारी गराइदिन्छन्।
भारतीय तथा पाकिस्तानी नागरिकले ट्रेलर हेरेर एक सयदेखि साढे तीनसय करोड रुपैयाँसम्मको लागतमा बनेको भन्दै अनुमान गरेको फिल्म अरू कुनै देशको नभएर नेपालकै हो। अमेरिकी साउथ इन्डियनदेखि इरानी फिल्म भनेर अनुमान लगाइएको फिल्म हो प्रेम गीत-३।
‘जी म्युजिक कम्पनी’ र ‘अल्ट्रा बलिउड’ युट्युब च्यानलबाट सार्वजनिक भएको प्रेमगीत ३ को ट्रेलर अहिले नेपालमा ट्रेन्डिङमा छ। छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते (सेप्टेम्बर २३)मा रिलिज हुँदैछ।
नेपाल र भारतमा एकै दिन प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘प्रेमगीत-३’को हिन्दी संस्करणको ट्रेलर रिलिज भएलगतै अहिले एक खालको सनसनी मच्चिएको छ। दर्जनौँ भारतीय युट्युब तथा टेलिभिजनको कार्यक्रममा प्रेम गीत-३ को ट्रेलरका बारेमा चर्चा भइरहेको छ।
प्रेमगीत ३ को ट्रेलर
ट्रेलरमा हिउँले भरिएको मुस्ताङी दृश्य आकर्षक लाग्छन्। १ मिनेट लामो भिडिओमा अभिनेता प्रदीप खड्काको वर्चस्व छ। प्रदीपबाहेक कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनीष राउत, सुनील थापा, लक्ष्मी बर्देवा पनि अटाएका छन्।
फिल्ममा रोमान्स भन्दा पनि द्वन्द्वलाई नै प्राथमिकता दिइएको देखिन्छ छ। तर, फिल्मको ब्रान्ड भ्यालु चाहिँ प्रेम नै हो। ट्रेलरको मुख्य पात्र प्रेम (प्रदीप खड्का)को चरित्रले गीत वा राजगद्दीमध्ये एक चुन्नुपर्ने बाध्यतालाई दर्शाइएको छ।
नेपालमा यसअघि २ सिक्वेलसम्म बनेको ‘प्रेम गीत’ अहिले तीनसम्म पुग्दा हिन्दी डबिङमा भारतमा पनि प्रदर्शनमा आउन लागेको हो। नेपाली फिल्मको ५७ वर्षे इतिहासमा पहिलोपटक कुनै नेपाली सिनेमाले यसरी विदेशमा प्रदर्शनको मौका पाएको छ।
नेपालकै लोकेसनमा नेपालीले नै बनाएको फिल्मको यति लोभलाग्दो सफलताले सिनेमा बजार फराकिलो हुँदै गएको संकेत गर्छ। अर्कोतर्फ फिल्मकर्मीलाई यसले उत्साह र अभिप्रेरणा दिएको छ।
कोरोना महामारीले गर्दा करिब मृतझै भएको नेपाली फिल्म उद्योग विस्तारै जुरमुराउँदै छ। यहीबेला प्रेमगीत-३ ले नयाँ तरङ्ग पैदा गरेको छ। नेपाली फिल्मका सामान्य शुभचिन्तकसम्म प्रफुल्लित र उत्साही देखिएका छन्।
भारतीय बजारमा नेपाली फिल्म – ऐतिहासिक र गौरव
करिब २ वर्षपछि फिल्म क्षेत्र बिस्तारै पुरानै अवस्थामा चलायमान बन्दै छ। फिल्म हलमा दर्शकको भीड जम्मा हुने क्रम बढ्दै छ। यसअघि महामारीले प्रदर्शन स्थगन गरेर बसेका अधिकांश फिल्म प्रदर्शनको लाइनमा छन्।
यस्तो अवस्थामा नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आउनु गौरवको कुरा भएको समीक्षकको टिप्पणी छ।
कुनै पनि देशको परम्परा, संस्कृति, रीतिरिवाज, पर्यटन, भाषा भेष, इतिहास र राजनैतिक परिवर्तन तथा मनोरञ्जनलाई एकसाथ प्रवर्द्धन गर्न फिल्मको ठूलो योगदान रहेको हुन्छ। यसैको माध्यमबाट देशको पहिचान अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन फिल्मको महत्त्वपूर्ण भूमिका हुन्छ। प्रेमगीत-३ को भारतमा प्रदर्शनले नेपालको गौरव बढाउने विश्वास गरिएको छ।
भारतीय बजारमा नेपाली सिनेमाको सम्भावना
‘प्रेम गीत ३’ले नेपाली मौलिकता भारतीय दर्शकमाफ पुर्याउने निर्माण पक्षको आशा छ। निर्माता सन्तोष सेन भन्छन्, ‘‘पहिला मैले नेपालको लागि मात्र फिल्म बनाएको थिए। अब भारतको लागि पनि बनाउँछु। मेरो लक्ष्य भनेको भारतीय दर्शकको मनमा बसौँ भन्ने हो।’’
भारतमा नेपाली भाषी बस्ने ठाउँमा भने नेपाली भाषाकै फिल्म देखाइने उनले बताए। अरू क्षेत्रमा भने हिन्दीमा डब गरिएको फिल्म देखाइने छ। थोरै प्राविधिक ‘स्क्रिन प्ले चेन्ज’ गरिएकाले दर्शकले नेपाली हिन्दी दुवै फिल्म हेर्दा पनि हुने निर्माता सन्तोष सेन बताउँछन्।
आफू भारतीय दर्शको लागि नयाँ भएकाले फिल्म हेरेर प्रतिक्रिया दिन सेनले आग्रह गरे। ‘‘राम्रो छ भने प्रोत्साहन गर्नुस्। मन परेन भने कमेन्ट गर्नुस्। प्रेमगीत-३ रिलिजपछि नेपालका तीन करोड र १ सय ३३ करोड भारतीय जनताको लागि सोचेर बनाउनेछु।’’
नेपाली फिक्सन फिल्मले विदेशी भूमिमा प्रदर्शन भएर गर्व गर्न लायक सफलता पाएको भन्दै कलाकार पनि उत्साहित छन्।
प्रेमगीत-३ का अभिनेता प्रदीप खड्का भन्छन्, ‘‘भारतमा धेरैले माया गरिदिनुभएको छ। राम्रो प्रतिक्रिया पाएका छौँ। फिल्मको लागि उत्साहित छौँ। अब फिल्म चलिसकेपछि इतिहास बनाउन चाहन्छौँ।’’
नेपाललाई के फाइदा ?
निर्माताले चलचित्रमा पैसा लगानी गर्नु चानचुने कुरा होइन। करोडौँको लगानीमा चलचित्र निर्माण हुन्छन्। तर, लगानीसमेत उठाउन नसक्दा धेरै निर्माता पलायन हुनुपर्ने बाध्यता छ। जसका कारण यो क्षेत्रको विकास हुन नसकेको नेपाली सीने क्षेत्रको तीतो वास्तविकता हो।
विदेशी चलचित्रसँगको प्रतिस्पर्धाका कारण नेपाली दर्शककै मन जित्न गाह्रो छ। तर, केही नेपाली फिल्मले अन्तर्राष्ट्रिय चलचित्र बजारमा प्रदर्शनीको अवसर पाउनुलाई आशाको किरणका रूपमा व्याख्या गर्छन् निर्देशक मनोज पण्डित ।
‘‘फिल्मको गतिशीलता विकास हो। गतिशीलता हुनुपर्छ। नेपाली सिनेमाको गतिशीलताले भारतको मुख्य बजारमा छुँदै छ। यो उत्साहजनक कुरा हो। मूल कुरा सिनेमाले आफ्नो क्षेत्र फराकिलो बनाउँदै जाने कुरा हो,’’ उनी भन्छन्, ‘‘जति फराकिलो बनाउँदै गयो त्यति नै नेपाली फिल्ममाथिको दृष्टिकोणमा फरक पार्छ। यो नेपाली फिल्मको ठूलो सफलता हो। नेपाली फिल्म भारतीय बजारमा नियमित प्रदर्शन गराउन सकिन्छ भन्ने आशाको किरण देखिएको छ।’’
भाषा, भेषभूषा, संस्कृति, सङ्गीत तथा रहनसहनको शैली अरूमाझ फैलाउने शसक्त माध्यम सिनेमा हो। जानकार भन्छन्, ‘‘जसरी अरू देशका मानिसले बनाएका फिल्मले हामीलाई प्रभावित पारे, ध्यान खिचे, उनीहरूको भाषा सिक्यौँ, फेसन हेर्याैं, अपनाऔँ। यसैगरी, हाम्रो फिल्म हेरेपछि पनि अरु देशका नागरिकले त्यसै गर्नेछन्। हामीले उनीहरूको ध्यान यी विषयमा खिच्न सक्छौँ।’’
सुटिङ स्पट वा प्राकृतिक सौन्दर्यका कारण भारतीय फिल्म मेकरलाई नेपालमा आकर्षित गर्न पनि सकिने कतिपयको विश्वास छ। अहिले सबैतिरबाट वाहवाही पाएको प्रेमगीत-३ ले प्रदर्शनपछि नेपालको पहिचान कति स्थापित गर्छ ? नेपालको साख कत्तिको बढाउँछ ? त्यो भने फिल्म प्रदर्शनमा आएपछि नै थाहा हुनेछ।
Great News….All the best Prem Geet 3