फिल्मी शैलीमा अघि बढेको बालेनको डोजर ‘एक्सन’

बिहान सोही स्थानमा पुगेका मेयर बालेन शाह र अल्फाबिटाका मालिक द्विराज शर्माबीच चर्काचर्की परेको थियो। अनधिकृत संरचना भत्काउन गएका मेयर बालेनसँग शर्माले उल्टै आफ्नो घरको नक्सा देखाउन भने। त्यसपछि बालेन रिसाए। ‘‘तपाईंको घरको नक्सा तपाईंसँग हुन्छ कि मसँग ?’’ भन्दै बालेन झोक्किए। केहीबेरको चर्काचर्कीपछि बालेन फर्किए। दुई घण्टापछि बालेन उही ठाउँमा पुगे, अल्फाबिटा कम्प्लेक्सको नक्सा लिएर।

फिल्मी शैलीमा अघि बढेको बालेनको डोजर ‘एक्सन’

काठमाडौं। ‘‘उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ,’’ नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा डोजर चलाएपछि बालेनले फेसबुकमा लेखे।

यसअघि बिहान सोही स्थानमा पुगेका मेयर बालेन शाह र अल्फाबिटाका मालिक द्विराज शर्माबीच चर्काचर्की परेको थियो। अनधिकृत संरचना भत्काउन गएका मेयर बालेनसँग शर्माले उल्टै आफ्नो घरको नक्सा देखाउन भने। त्यसपछि बालेन रिसाए। ‘‘तपाईंको घरको नक्सा तपाईंसँग हुन्छ कि मसँग ?’’ भन्दै बालेन झोक्किए।

केहीबेरको चर्काचर्कीपछि बालेन फर्किए। दुई घण्टापछि बालेन उही ठाउँमा पुगे, अल्फाबिटा कम्प्लेक्सको नक्सा लिएर। भेट भयो उनै द्विराज शर्मासँग। नक्शा देखाउँदै बालेनले भो ‘अघि नक्सा माग्नुभएको थियो नि, यी ल्याएँ।’

शर्मा नाजावाफ भए। पछाडि रहेका डोजरका चालकलाई अघि बढ्न बालेनले निर्देशन दिए। शर्माले ‘पसलको सामान सार्न केही समय पर्खिदिन’ आग्रह गरे। त्यति बेलासम्म बालेनको समूहलाई भीडले घेरिसकेको थियो। अनधिकृत संरचना भत्काउन गएका बालेनलाई काम गर्न नदिने पो हो की भन्ने लागेर समर्थकको भीड आपसमा कुरा गर्दै थिए। बालेनलाई घेरेको भीडले नाराबाजी लगाउन थाल्यो, ‘वी वान्ट बालेन, बालेनलाई काम गर्न देऊ।’

समर्थकले सम्झिए अनिल कपुरको ‘नायक’

अल्फाबिटा कम्प्लेक्स बानेश्वरबाट बबरमहल जाने सडकभन्दा तल पर्छ। माथि सडक किनारामा भीड बाक्लो थियो। तल अल्फाबिटा कम्प्लेक्स प्राङ्गणमा त कुरै नगरौँ। कम्प्लेक्समा भएका कार्यालयका कर्मचारी, बटुवा तथा समर्थको बाक्लो भीडको नजर बालेनतिरै थियो। दर्जनौँ मिडियाका क्यामेरा बालेन र डोजरतर्फ सोझिएको थियो।

केहीबेरपछि अल्फाबिटा कम्प्लेक्सको अगाडि टाँसेर बनाइएको फार्मेसीतर्फ डोजर अघि बढे। भीड अझै नजिक पुग्यो। फार्मेसीको छतमा डोजरको बकेट पुग्यो। बकेटले फार्मेसीको छानो कर्‍यापकुरूप पारेर उत्कायो। भीडले हुटिङ गर्‍याे। मानौँ मैदानमा खेलाडीले गोल गरेर आफूले समर्थन गरेको टोलीलाई जीत दिलाएका छन्। भीडको उत्साह देख्दा लाग्थ्यो खेल अत्यन्तै रोमाञ्चक मोडमा पुगेको छ।

अनधिकृत संरचना भत्काउन गएका बालेनलाई काम गर्न नदिने पो हो की भन्ने लागेर समर्थकको भीड आपसमा कुरा गर्दै थिए। बालेनलाई घेरेको भीडले नाराबाजी लगाउन थाल्यो, ‘वी वान्ट बालेन, बालेनलाई काम गर्न देऊ।’

खेलकुदमा नब्बे मिनेटको समयमा जे गर्न सक्यो त्यो नै हार जितको कारक बन्न पुग्छ। तर, दुईघण्टाअघि जुन ठाउँबाट हिडेका थिए त्यही ठाउँमा पुगेर बालेनले संरचना हटाउनुलाई पनि भीडले उनको जित मान्यो।

कतिपयले बालेनको अवैध संरचना भत्काउने डोजर एक्सनलाई बलिउडको ‘नायक’ फिल्मका मुख्य अभिनेता अनिल कपुरसँग तुलना गरे।  ‘बालेन शाह नायक फिल्मको अनिल कपुर जस्तै भए निस्किए’’ कतिपय समर्थक भन्थे।

भीडमा मानिसले भन्थे, ‘‘एक जनाको मात्र इच्छाले मात्र होइन, सबै जनताले साथ दिनुपर्छ।’’ केही समयअघि दिवङ्गत र्‍यापर यमबुद्धको शालिक बनाउने भनेपछि विवादमा आएका बालेनले धेरैको गाली खाए। तर, सोमबार यता एकाएक उनको एक्सनले प्रशंसा कमाउन थालेको छ ।

डोजरले संरचना भत्काउन थालेपछि बालेन बानेश्वर चोकतर्फ लागे। भीडको केही समूह हुटिङ गर्दै अली माथिसम्म बालेनलाई पछ्याइरह्यो। नियमानुसार नबनेका अवैध संरचना भत्काउने अभियान थालेपछि पेलेरै संरचना जोगाउने मनसायका व्यापारी निराश भएका छन् ।

निरन्तर जारी रहने डोजर एक्सन

सोमबारदेखि नयाँ बानेश्वरबाट शुरु भएको अभियान काठमाडौँ महानगरपालिकाको विभिन्न स्थानहरूमा चलिरहेको छ। महानगरले बुधबार सुन्धारास्थित काठमाडौँ मल, न्युरोडको आरबी कम्प्लेक्समा बनाइएको अनधिकृत संरचनामा डोजर चलाएको छ।

दरबारमार्ग, तथा न्युरोडका अवैध संरचना भत्काउन तथा अन्डरग्राउन्ड पार्किङ खाली गर्न भनिसकिएको छ। नयाँ वानेश्वर, बुद्धनगर, शंखमुल, कोटेश्वर क्षेत्रमा गएर अवैध संरचना भत्काउन पनि महानगरले भनिसकेको छ।

बालेनको यो डोजर’ एक्सनलाई डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा साघुँरा सडक फराकिलो बनाएको सम्झना धेरैले गरेका छन्। सामाजिक सञ्जालमा पनि उत्तिकै प्रशंसा मिलिरहेको छ।

बालेको यो डोजर’ एक्सनलाई डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा साघुँरा सडक फराकिलो बनाएको सम्झना धेरैले गरेका छन्। सामाजिक सञ्जालमा पनि उत्तिकै प्रशंसा मिलिरहेको छ ।

डोजर एक्सनको विरोधमा व्यवसायी

बालेनको डोजर एक्सनलाई उद्योगी व्यवसायीले भने रुचाएका छैनन्। काठमाडौं उद्योग वाणिज्य संघको आकस्मिक बैठकले बसेर हस्तक्षेप भएको ठहर गरेको छ। व्यवसायी भन्छन्, ‘घरधनी र महानगरको लडाइँमा व्यापारी परे, वार्ता र कानुनी तरिकाबाट पनि समस्या समाधान गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो।’’

स्थानीय चुनावको महिना दिनअघिसम्म नामोनिशान नै नसुनेका बालेनको क्रेज असाधारणरूपमा चुलिएको थियो। दलहरूका शीर्ष नेताहरूसमेत अचम्ममा थिए। उनको अपत्यारिलो जितले राजनीतिक दललाई ठूलो चुनौती दिएको धेरैले विश्लेषण गरे। राजनीतिक दलका नेताबाट असन्तुष्ट कतिपयले भनिरहेका छन्, ‘‘बालेन एक प्रवृत्ति हो र यस्तो प्रवृत्ति देशैभर उदाउनुपर्छ।’’

तर, हेर्न बाँकी नै छ मेयर बालेन पपुलिस्ट एजेण्डामा मात्र सीमित रहन्छन कि महानगरलाई हेर्नलायक बनाउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved