कस्तो थियो ‘फोरेस्ट गम्प’? जसको रिमेक अमिर खानले ‘लाल सिंह चड्ढा’ बनाए !

अमिर खानको यो घोषणासँगै लालसिंह चड्ढाबारे विभिन्न प्रकारका विवाद हुने गरेका थिए। अमिर खानले ‘फोरेस्ट गम्प’ को घोषित रिमेक गरेको प्रसङ्ग त छँदै थियो, ‘फोरेस्ट गम्प’ को अमेरिकी कथालाई पन्जाबको परिदृश्यमा भारतीयकरण गर्ने अमिरको योजनाबारे विशेषतः शिख समुदाय सशंकित थियो।

कस्तो थियो ‘फोरेस्ट गम्प’? जसको रिमेक अमिर खानले ‘लाल सिंह चड्ढा’ बनाए !

काठमाडौं। हलिउड र बलिउड बीच सिनेमाको कथा, पटकथा, शैली र दृश्य चोरी वा नक्कलको प्रसङ्ग बारम्बार उठिरहेको हुन्छ। तर ‘फोरेस्ट गम्प’ र ‘लाल सिंह चड्ढा’ को सम्बन्ध भने त्यस्तो हैन। अमिर खानको लाल सिंह चड्ढा ‘फोरेस्ट गम्प’ को नक्कल वा डुप्लिकेट नभएर औपचारिक तथा घोषित ‘रिमेक’ हो।

करिब ३ वर्ष अघि सन् २०१९ मार्चतिर अमिर खानले ‘फोरेस्ट गम्प’ को भारतीय संस्करण बनाउने घोषणा गरेका थिए। अमिर खानको यो घोषणासँगै लाल सिंह चड्ढाबारे विभिन्न प्रकारका विवाद हुने गरेका थिए। अमिर खानले ‘फोरेस्ट गम्प’ को घोषित रिमेक गरेको प्रसङ्ग त छँदै थियो, ‘फोरेस्ट गम्प’ को अमेरिकी कथालाई पन्जाबको परिदृश्यमा भारतीयकरण गर्ने अमिरको योजनाबारे विशेषतः शिख समुदाय सशंकित थियो।

सन् १९८० को दशकमा चरमोत्कर्षमा पुगेको खालिस्तान आन्दोलन, शिख विद्रोह, अमृतसर गोल्डेन टेम्पल अकुपाइ, अपरेसन ब्लुस्टार र शीख निजी अंगरक्षकहरूद्धारा प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याजस्ता विषयलाई लाल सिंह चड्ढामा कसरी प्रस्तुत गरिएला भन्ने आशंका शीख समुदायमा बाक्लो थियो।

साथै, सिनेमाको उत्तिकै तीव्र प्रतीक्षा समेत भइरहेको थियो। अगस्ट ११ मा सिनेमा रिलिज भएसँगै प्रतीक्षाको घडी समाप्त भएको छ। पन्जाबी पगडी र लामा दाह्रीमा अमिर खानको सरदारजी छवि लोकप्रिय भएको छ। सरदारनीको भूमिकामा छिन, करिना कपुर। अमिर खान र करिना कपुरको जुगलबन्दी यस अघि नै केही सिनेमामा लोकप्रिय थियो, जस्तो कि ‘थ्री इडियड्स’, ‘तलास’। बलिउड सीने समीक्षकहरू लाल सिंह चड्ढाले त्यसलाई नयाँ उचाइमा उठाएको ठान्दछन।

सिनेमा प्रदर्शनपछि शिख समुदायको प्रतिक्रिया सोचेजस्तो नराम्रो देखिएन। बलिउड सिनेमामा पन्जाबी नायक, नायिकाको पृष्ठभूमिमा बनेका सिनेमा कमै हुन्छन्। बरु लाल सिंह चड्ढाले त्यो मनोविज्ञानको समेत फाइदा उठाउन पाएको छ। प्रदर्शनको पहिलो दिनमै सिनेमाले राम्रो व्यापार गरेको बताइएको छ। फोरेस्ट गम्प’ हलिउडमा सन् १९९४ को सर्वाधिक चर्चित तथा सबैभन्दा धेरै कमाउने सिनेमा बनेको थियो। यस सिनेमाले ६७७ मिलियन डलर कमाइ गरेको थियो।

‘फोरेस्ट गम्प’ सन् १९८६ मा प्रकाशित विन्स्टन ग्रुमको सोही नामको शीर्षक भएको उपन्यासमा आधारित सिनेमा हो। समीक्षकहरू भन्छन् कि उपन्यासको तुलनामा सिनेमाको काल्पनिक सीमित थियो। विन्स्टनले ग्रुमले आफ्नो उपन्यासको नायक ‘फोरेस्ट गम्प’ लाई चन्द्रमा र अन्य कयौँ ग्राहकहरूमा समेत पुर्‍याएका थिए। ‘फोरेस्ट गम्प’ मार्फत ग्रुमले अनेक उटपट्याङ समेत गराएका थिए।

तर, सिनेमा ‘फोरेस्ट गम्प’ को धार भने सेमी–कमेरिडन र मानवीय संवेदनाको पाटोलाई जोड दिनु हो। दर्शकहरू मलिन हाँसो हाँस्ने र सुँक्कसुँक्क रुने स्थितिको निर्माण गर्नु हो। उपन्यासका सबै पक्ष सिनेमामा नसमेटिनुलाई कसैले पनि अस्वाभाविक मानेका थिएनन्।

ग्रुमको उपन्यासलाई एरिक रोथले सिनेमामा ढालेका थिए भने रोवर्ट जमैकसले निर्देशन गरेका थिए। नायकको भूमिकामा भने टम हैक्स थिए। ‘फोरेस्ट गम्प’ एक मन्दबुद्धि तथा सफा हृदय भएको युवकको जीवन र संघर्षको कथा हो। एक प्रकारको नरम अपाङ्गता भएका युवकको कथा यसमा बुनिन्छ। सफा हृदयबाट उत्पन्न हुने ऊर्जा र इच्छाशक्तिको कारण यस्ता मानिस सफल र सार्थक जीवन बाँच्न सक्दछन भन्ने यसको मुख्य सन्देश हो।

तर, कथा यतिमा मात्रै सीमित हुँदैन। अमेरिकी समाजका कयौँ ऐतिहासिक घटनाको सेरोफेरोमा कथा बुनिएको हुन्छ। यो सिनेमामा रिचार्ड निक्सन, जोन अफ केनेडीजस्ता चर्चित राष्ट्रपतिहरू पात्रको रूपमा उदित हुन्छन्। साथै भियतनाम युद्ध र वाटरगेट काण्डजस्ता घटनाहरूलाई छुँदै कथा अघि बढ्दछ। अमेरिकी समाजका पीडा, छटपटी, कठोरता, आन्दोलन र बद्लाबहरूलाई सिनेमामा श्रृंखलाबद्ध देखाउन खोजिएको छ। यसका कारण सिनेमा कताकति कला भन्दा डकुमेन्ट्रीको गुणतिर ढल्किएको हुन्छ।

‘फोरेस्ट गम्प’ को एरिक रोथको पटकथालाई पछ्याउँदै अतुल कुलकर्णीले लाल सिंह चड्ढाको कथा बुनेका हुन। अमिर खानसंग सहकार्यको सम्झौता गर्नु अघि नै अतुलले यो काम थालेका थिए। ‘फोरेस्ट गम्प’ को ‘अमेरिकन’ कथालाई भारतीय पारामा ढाल्न अतुललाई करिब १० वर्ष लागेका थियो। सिनेमाको निर्देशन भने अद्धैत चन्दनले गरेका छन्। तर, उनी औपचारिक निर्देशक मात्रै हुन कि साँचो निर्देशक भन्ने बहस समेत सृजना भएको छ। निर्माता र नायकका रूपमा अमिर खानको व्यक्तित्व सर्वत्र छाएको छ।

ललसिँह चड्ढाले सन् १९७० देखि सन् २०१७ सम्मका राष्ट्रिय घटनालाई समेट्दछ। विशेषतः ८० को दशकमा सुरुआत भएको खालिस्तान आन्दोलनको पृष्ठभूमिबाट एक पन्जाबी युवा लाल सिंह चड्ढामार्फत् राष्ट्रिय घटनाक्रमलाई छुन थाल्दछ। इन्दिरा गान्धीको हत्या, लालकृष्ण अड्बानीको रथयात्रा, बाबरी मस्जिदको ध्वंश, कश्मीर विवाद, कारगिल युद्धजस्ता मात्र हैन, १९८३ मा भारतले क्रिकेटमा विश्वकप जितेको, सुस्मिता सेनले जितेको मिस युनिर्भसको ताज र मोदीको स्वच्द्ध भारत अभियानजस्ता घटना समेत सिनेमामा समेटिन्छन।

‘फोरेस्ट गम्प’ की नायिका जेनी कुरानको भूमिका रोविन राइट्सले गरेकी थिएन। जेनी गम्पकी बाल्यकालकी साथी हुन्छिन्। जेनी आफ्नै विदुर बाबुबाट यौन दुर्व्यवहार खपेकी युवती हुन्छिन्। गम्पको सङ्गत उनी आफ्ना बाल्यकाका पीडा र दुर्भाग्यहरू बिर्सँदै आफूलाई नयाँ रूपमा स्वध्वंश र स्वनिर्माण गर्छिन्। उनी हिप्पी आन्दोलनको सदस्य बन्छिन्।

व्यक्तिव्यक्ति बीचका सङ्गत मान्छेका जीवनमा सामान्य परिघटनामात्र हैन, ती जीवनलाई आकारित गर्ने आधार पनि हुन। जेनीसंगको सङ्गत र प्रेमले ‘फोरेस्ट गम्प’ ले आफ्ना अपाङ्गतालाई भुल्छ र जीवनको दौडमा नयाँ उर्जाको संचयन गर्दछ। अर्कोतिर जेनी जीवनलाई एक आन्दोलनका रूपमा स्वनिर्माण गर्छे। पछि गम्प र जेनीको बिहे हुन्छ। एउटा छोरा समेत जन्मिन्छ र त्यसको केही समयपछि जेनी कुनै अज्ञात रोगको कारण जटिल प्रकृतिको मृत्युवरण गर्छिन्।

लाल सिंह चड्ढामा लालसिंह बनेका अमिर खानको बाल्यकालदेखिको स्त्री साथी रुपाको भूमिका करिना कपुरले गरेकी छन्। लालसिंहले रुपा डिसुजालाई पहिलो पटक स्कुलमा भेटेका थियो। पछि उनी लाल सिंहको घर आइजाई गर्छिन्। त्यतिखेर लाल सिंह खुट्टाहरू सजिलै उभिँदैनथे। तर, जब रुपा देख्थ्यो, दौडिने इच्छा जागृत भएर आउँथ्यो।

लाल सिंह चड्ढामा रुपाको जीवन पनि निक्कै जटिल र पेचिला घटनाक्रमबाट गुज्रिएको हुन्छ। रुपा मोडलिङ हुँदै बलिउड हिरोइनको महत्त्वाकाङ्क्षा लिएर अघि बढ्छिन्। यसक्रममा उनको संघर्षका आफ्नै कथाहरू निर्मित हुन्छन्। आत्महत्याको भावनादेखि अबू सलेहको रखैलसम्म रुपा डिसुजाको जीवनले अनेक रङ्गहरू भर्दछ।

सिनेमामा कथाको कथा बाचक लालसिंह आफै हुन्छ। ऊ पठानकोटबाट रेलमा चन्डिगढको यात्रा गर्दै हुन्छ। रेलमा आफ्नो सहयात्रीलाई कथा सुनाउने कायदाबाट कथा अघि बढ्छ। लाल सिंह चड्ढाको सान्दर्भिकताबारे एक भारतीय सिने समीक्षक पंकज शुक्ला लेख्छन–‘रिमेक सिनेमा मौलिक सिनेमाको हाराहारी हुँदैन भन्ने मान्यता लाल सिंह चड्ढाले तोड्न सक्छ। के थाहा लाल सिंह चड्ढा हेर्दा दर्शकलाई फोरेस्ट गम्प हेरे भन्दा बर्ता सहज र स्वाभाविक लागोस्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved