महिला टिम फिफा वरीयतामा एक स्थान तल

नेपालभ्युज

महिला टिम फिफा वरीयतामा एक स्थान तल
फाइल तस्वीर

काठमाडौं । नेपाली महिला फुटबल टिम फिफा वरीयतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाच्च संस्था फिफाले शुक्रबार सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १०२औं स्थानमा झरेको छ । यसअघि, नेपाल १०१औं स्थानमा थियो ।

दक्षिण एसियामा नेपाल भारतपछि दोस्रो स्थानमा छ । भारत पनि नयाँ वरीयतामा दुई स्थान तल झर्दै ५८ औं स्थानमा पुगेको छ ।

यस्तै, बंगलादेश १४७ औं, श्रीलंका १५३ औं, माल्दिभ्स १५६ औं र भुटान १७६औं स्थानमा छन् ।

नेपाली टिम एक महिनापछि नेपालमै आयोजना हुने छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको तयारीमा छ । दशरथ रंगशालामा हुने उक्त च्याम्पियनसिपमा नेपाल श्रीलंका र भुटान समूह ‘बी’ मा छन् ।

जुलाई महिना महिला फुटबलमा निकै व्यस्त रहँदा अमेरिका शीर्ष स्थानमा कायम छ । महिला युरोमा उपविजेता बनेको जर्मनी तीन स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिँदा स्वीडेन तेस्रो स्थानमा झरेको छ ।

यस्तै, पहिलोपटक महिला युरो जितेको इंग्ल्यान्ड चौथो स्थानमा उक्लेको छ भने फ्रान्स पाँचौँ स्थानमा झरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved