कांग्रेस र एमालेको बीचमा प्रचण्डले खेल्न चाहेको प्रधानमन्त्रीको लास्ट ‘इनिङ्स’

कांग्रेससँग गठबन्धन गरेर चुनावमा जाँदा फेरि पनि निर्णायक अवस्थामा माओवादी नै हुने प्रचण्डको विश्वास छ। त्यस्तो अवस्थामा कांग्रेसलाई रोक्न एमालेले आफूलाई प्रधानमन्त्री प्रस्ताव गर्ने र कांग्रेस पनि दबाबमा आउने प्रचण्डको आँकलन हुनसक्छ। जुन असम्भव पनि छैन। संभवत: त्यसको वातावरण बनाउन प्रचण्डले अहिलेदेखि नै प्रधानमन्त्रीको अन्तिम इनिङ्स भनिरहेका छन्।

कांग्रेस र एमालेको बीचमा प्रचण्डले खेल्न चाहेको प्रधानमन्त्रीको लास्ट ‘इनिङ्स’

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९ असारमा स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै आफूले मुलुकको नेतृत्व लिन चाहेको बताए। उनले भने, ‘‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लेफ्टको पहिलो हुने झन् ठूलो सम्भावना छ। भयो भने देशको बागडोर हाम्रो हातमा आउँछ। महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने सम्भावना छ।’’

त्यसको भोलिपल्टै १० असारमा प्रचण्डले सोही चाहना दोहोर्‍याए। नेपाल पर्वतारोहण संघले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘‘पहिलोपटक प्रधानमन्त्री हुँदा त मलाई यो सपना हो कि विपना हो भनेर विचार गर्दागर्दै नौ महिना बित्यो। दोस्रोपटक प्रधानमन्त्री हुँदा मैले साँच्चै नै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ। अब फेरि एकपटक देशको नेतृत्व गर्ने सपना छ।’’

६ साउनमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई देशको बागडोर लिनबाट कसैले नरोक्ने बताए। आफ्नो पार्टी बलियो नभए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो नहुने भन्दै उनले भने ‘‘आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन।’’

शनिबार (१४ साउन)मा पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रममा प्रचण्डले फेरि उही लालच प्रकट गरे। ‘‘विकास, सुशासन, समृद्धि यसरी हुन्छ भनेर देखाउनु छ। मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ्स होस्। यो लास्ट इनिङ्स पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु’’ उनले भने।

स्थानीय तहको चुनावी परिणामपछि माओवादी अध्यक्ष प्रचण्डले पुन प्रधानमन्त्री बन्ने आकांक्षा प्रकट गरिरहेका छन्। यसअघि, १० वर्षको अवधिमा दुईपटक छोटोछोटो कार्यकाल प्रधानमन्त्री बनेका प्रचण्ड उनकै भाषामा प्रधानमन्त्रीमा ‘लास्ट इनिङ्स’ खेल्न चाहन्छन्।

प्रचण्डका अघिल्ला इनिङ्स

भदौ २०६५ मा उनी पहिलोपटक प्रधानमन्त्री भएका थिए। १० वर्ष लामो सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आएको माओवादी पहिलो संविधानसभा चुनावमा सबभन्दा ठूलो दल बनेपछि उनले त्यो अवसर पाएका थिए। तर, विडम्बना त्यो कार्यकालमा प्रधानसेनापति हटाउन खोज्दा आफैँ हट्नुपर्‍यो।

संविधान बनेपछि २०७२ असोजमा माओवादीले नेकपा एमालेसँग नौ/नौ महिना प्रधानमन्त्री हुने सहमति गरेको थियो। पहिलोपटक प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नौ महिनापछि सत्ता छाड्न मानेनन्। सत्तामा उक्लने प्रचण्डको चाहना पनि पूरा हुन पाएन। उनले सत्ता गठबन्धनको भरपर्दो विकल्प कांग्रेसलाई देखे। एमालेसँगको गठबन्धन टुटाएर १९ साउन ०७३ मा कांग्रेसकै समर्थनमा आफू प्रधानमन्त्री बने। दोस्रोपटक प्रधानमन्त्री भएका प्रचण्डले पूर्वसहमतिअनुसार १० महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको चाबी बुझाए।

राजनीतिमा अस्थिर र ढुलमुले स्वभावको छवि बनाएका प्रचण्ड कहाँ एकै ठाउँमा अडिन्थे। फेरि एमालेसँग गठबन्धन गर्न आइपुगे तेस्रोपटकको प्रधानमन्त्रीको आकांक्षा लिएर। आफूले साढे दुई वर्ष प्रधानमन्त्री पाउने आश्वासन पाएपछि प्रचण्डले जीवनभरि आफ्नो विरोधी रहेका ओलीसँग लगनगाँठो कसे। एमाले सरकार ढालेको केही महिनामै वाम गठबन्धनको ‘सरप्राइज’ दिएका प्रचण्डले २०७४ को संसदीय चुनावमा एमालेसँग गठबन्धन मात्र हैन पार्टी एकता नै गरे। त्यतिबेलासम्म ओली दोस्रोपटक प्रधानमन्त्री बनिसकेका थिए।
‘प्रतिक्रियावादी’ले आफूलाई पाँचै वर्ष प्रधानमन्त्री दिन्छु भन्दा पनि कम्युनिस्ट एकता र समाजवादी क्रान्तिको लागि त्याग गरेको भन्दै प्रचण्डले भाषण गरे।  प्रचण्डले भनेको ‘प्रतिक्रियावादी’ कांग्रेस थियो। तर, ओलीसँग साढे २, साढे २ वर्ष प्रधानमन्त्री बन्ने सहमति पनि कार्यान्वयन भएन।

साढे २ वर्ष बित्यो। ओलीले पूर्व सहमतिअनुसार प्रधानमन्त्रीको कुर्सी छाडेनन्। त्यसपछि प्रचण्डको भाषा फेरियो। अब कांग्रेस ‘प्रतिक्रियावादी’ रहेन, संविधान र गणतन्त्र र परिवर्तनको रक्षक बन्न पुग्यो। प्रचण्डकै भाषामा कांग्रेस सभापति देउवा ‘अग्रगामी लिडर’ बने। अनि ओली ‘कम्युनिस्ट’ बाट ‘प्रतिगामीका नाइके’मा झरे। त्यतिन्जेल साढे २ वर्षको कार्यकाल प्रचण्डलाई सुम्पिन नमानेर ओलीले संसद् विघटन गरिसकेका थिए।

कांग्रेससँग बार्गेनिङ, अहिल्यै पोजिसन क्लियर

प्रतिनिधिसभाको प्रस्तावित चुनाव मिति आउन १ सय १५ दिन पनि बाँकी छैन। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हरहालतमा चुनावपछि प्रधानमन्त्री हुने दाउमा छन्। उनकै शब्दमा ‘लास्ट इनिङ्स’। प्रचण्डले धेरैपटक आफूले धेरैलाई प्रधानमन्त्री बनाएको भन्दै गर्व गर्दै आएका छन्। अबको चुनावपछि भने सकेसम्म अरू जो कसैलाई प्रधानमन्त्री बन्नबाट रोक्ने रणनीति उनले अख्तियार गरेको देखिन्छ।

डा. लोकराज बराल, राजनीतिक विश्लेषक

खासमा प्रचण्ड अघिल्लो चुनावी नतिजापछि ओलीलाई रोकेर आफू नै पहिले प्रधानमन्त्री हुने दाउमा थिए। सफल नभएपछि ओलीलाई समर्थन गरेको कतिपयको टिप्पणी छ। समय परिस्थतिका कारण ओली नै प्रधानमन्त्री भएपछि प्रचण्डले आधा–आधा कार्यकाल बाँड्ने सहमति गर्नुपरेका कारण अहिले भने चुनावअघि नै कांग्रेससँग बार्गेनिङ गरेको राजनीतिक विश्लेषक डा‍. लोकराज बराल बताउँछन्।

‘‘प्रचण्डले कांग्रेससँगको बार्गेनिङ पोजिसनलाई अहिलेदेखि नै अघि सारेको देखिन्छ। कांग्रेसले इग्नोर नगरोस्, हामी पनि छौँ भनेर चुनावअघि नै आफ्नो स्ट्यान्ड लिएका हुन्। एमालेबाहेकका अरू कम्युनिस्ट पार्टीहरू सबैलाई गठबन्धनजस्तो बनाएर त्यसको नेतृत्व गर्ने र कम्युनिस्ट दलका प्रमुख नेता बन्ने उनमा चाहना छ,’’ बराल भन्छन्, ‘‘अलि ठूलो समूहको लिडर बनेपछि आफ्नो दल तेस्रो नै ठूलो दल बने पनि कांग्रेससँग प्रधानमन्त्रीमा बार्गेनिङ गर्न सहज हुन्छ भनेर पोजिसन क्लियर गरेका हुन्।’’

प्रचण्डको चाहना– फेरि आफू नै निर्णायक

स्थानीय चुनावमा गठबन्धनबाट सबभन्दा बढी फाइदा माओवादी केन्द्रलाई नै भएको कतिपयको विश्लेषण छ। २०७४ सालको स्थानीय चुनाव र हालै सम्पन्न स्थानीय चुनावको परिणाम हेर्दा माओवादीले पूर्वानुमानभन्दा धेरै अर्थात् १२१ पालिका प्रमुख जितेको छ। ३२९ पालिका प्रमुखमा जितेर कांग्रेस पनि प्रतिष्ठा फर्काउन सफल भयो। बाहिर गुनासो गरेझैँ गरे पनि २० पालिकामा जितेको नेकपा एकीकृत समाजवादी (नेकपा एस)लाई पनि फाइदै भएको छ।

कृष्ण खनाल,राजनीतिक विश्लेषक

कांग्रेससँगै चुनावी तालमेल गरेर राम्रो नतिजा ल्याएर सरकार गठनमा फेरि आफ्नो दल निर्णायक बनाउने प्रचण्डको रणनीति देखिएको विश्लेषक कृष्ण खनाल बताउँछन्।

‘‘प्रचण्ड आफ्नो समर्थनविना सरकार नै नबन्ने स्थिति सिर्जना गर्न चाहन्छन्। यदि, यसो भएन भने प्रधानमन्त्री आफ्नो हातबाट फुत्कन्छ,’’ उनको विश्लेषण छ ‘‘चुनावमा आफ्नै दल निर्णायक बनोस् र आफू नै पहिला प्रधानमन्त्री भन्ने प्रचण्डको अगाध चाहना छ। बरु आधा आधा कार्यकाल बाँड्ने सहमति गरेरै किन नहोस् प्रधानमन्त्री बन्ने हतारो देखिन्छ।’’

शक्तिकेन्द्रसँग सामिप्यता बढाउँदै

‘प्राइम मिनिस्टर इन वेटिङ’ का रूपमा रहेका प्रचण्ड आउँदो चुनावमा देशभित्रका शक्ति आफ्नो पक्षमा पार्न मात्र लबिङ थालेका छैनन्, छिमेकी देशसँग समेत निकटता बढाउँदै छन्।

कांग्रेसलगायतका दलसँगको गठबन्धन कसिलो बनाउने तयारीमा रहेका उनी भारत, चीन र अमेरिकालगायतका मित्रराष्ट्रसँग सम्बन्ध थप प्रगाढ बनाइरहेका छन्। भारतीय जनता पार्टीका अध्यक्षको निम्तोमा प्रचण्ड हालै दिल्ली पुगेर फर्किए। उनले आफ्नो भ्रमण दिल्लीसँगको सम्बन्ध थप प्रगाढ बनाउने अवसरका रूपमा उपयोग गरेका कतिपयको तर्क छ।

प्रचण्ड केही साताअघि भारत भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग

विश्लेषक भन्छन्, ‘‘स्थानीय तहमा जस्तै सत्ता गठबन्धन एक भएर चुनाव लडेमा राम्रो नतिजा ल्याउन सक्नेछ। त्यो बेलामा प्रचण्ड प्रधानमन्त्री बन्न सक्नेछन्। फेरि प्रधानमन्त्रीको लाइनमा रहेका प्रचण्डसँग सम्बन्ध बलियो बनाउन भारतको सत्तारूढ दल भाजपाले चाहेको देखिन्छ।

प्रचण्ड भारतका नेता तथा अधिकारीहरूसँग आफ्नो पुरानो सम्बन्धलाई पुनर्ताजगी गराएर फर्किसकेका छन्। यति मात्र होइन ‘प्रचण्ड’ ले आफू छिट्टै चीनको भ्रमणमा पनि जाने बताउँदै आएका छन्। भारत जानुअघि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओसँग भेटेका प्रचण्डले कोभिड नियन्त्रणपछि चीन जान चोहेको उनी निकटका नेताहरू बताउँछन्। पछिल्लो समय बाक्लो रूपमा नेपाल आउजाउ गरिरहेका अमेरिकी अधिकारीसँग पनि प्रचण्डले छलफलको मौका पाइरहेका छन्।

कांग्रेसमाथि बढाउँदै दबाब

धेरैले भन्ने गरेका छन्, ‘कांग्रेसलाई गठबन्धनबाट फाइदा के त ?’ आफूले माओवादीसँग गठबन्धन नगर्दा एमालेसँग मिल्ने र आउने चुनाव जित्नसक्ने डर कांग्रेसलाई छ। त्यसो भएमा लाभ एमालेलाई र घाटा आफूहरूलाई हुने कांग्रेस नेताहरूको आकलन छ। यसकारण माओवादीसँग नचाहेरै गठबन्धन गर्नुपर्ने बाध्यता कांग्रेसलाई रहेको केही नेताहरू सुनाउँछन्।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा फाइल फोटो

कांग्रेसको यही बाध्यता बुझेका प्रचण्डले प्रधानमन्त्रीमा बार्गेनिङ मात्र होइन बेला बखत कांग्रेसलाई धम्क्याउँदै आएका छन्। स्थानीय तहको चुनावमा पाएको सफलतासँगै १८ जेठमा प्रचण्डले कांग्रेसलाई चेतावनी दिइसकेका छन्।

उनले भनेका थिए, ‘‘हामीले मिहिनेत गरेर प्रधानमन्त्री बनाएको हो, भइराख्नुस् भन्ने पनि छ। तर, एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादीलाई ठेगान लगाउँछौं भन्यो भने हामीले पनि एमालेलाई जस्तो ठेगान लगाउने दिन नआओस्।’’

कांग्रेससँग गठबन्धन गरेर चुनावमा जाँदा फेरि पनि निर्णायक अवस्थामा माओवादी नै हुने प्रचण्डको विश्वास छ। त्यस्तो अवस्थामा कांग्रेसलाई रोक्न एमालेले आफूलाई प्रधानमन्त्री प्रस्ताव गर्ने र कांग्रेस पनि दबाबमा आउने प्रचण्डको आकलन हुन सक्छ। जुन असम्भव पनि छैन। संभवत त्यसको वातावरण बनाउने प्रचण्डले अहिलेदेखि नै प्रधानमन्त्रीको अन्तिम इनिङ्स भनिरहेका छन्। तर उनको अन्तिम इनिङ्सको चाहना भने चुनावी परिणाम र दलहरुबीच हुने समिकरणले नै तय गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved