अर्थमन्त्री प्रकरण

छानबिन समितिमा रहेका एमालेका सदस्यको आरोप– सत्तापक्षले प्रमाण लुकायो

नेपालभ्युज

छानबिन समितिमा रहेका एमालेका सदस्यको आरोप– सत्तापक्षले प्रमाण लुकायो

काठमाडौं। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिका एमालेतर्फका सदस्यले सत्तापक्षले घटनाको प्रमाण लुकाएको आरोप लगाएका छन्।

सत्ता र शक्तिको दुरुपयोग गरेर नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले रिकभर गरी पठाएको सीसीटीभी फुटेज प्रस्ट नदेखिने र एक दुई सेकेन्डका क्लिपहरू देखाइएको एमाले सांसदको आरोप छ।

मंगलबारको बैठकमा फरेन्सिक विज्ञको रुपमा दुई जना प्रहरी अधिकृत संसदीय छानबिन विशेष समितिको बैठकमा आएका थिए। उनीहरूले फुटेज रिकभर भएको भन्दै देखाए पनि मिति नबुझिएको ५१ वटा भिडिओ क्लिप देखाएका थिए।

किन गुणस्तरीय फुटेज नभएको भन्ने प्रश्नको जवाफमा विज्ञद्वयले रिकभर हुनु ठुलो कुरा भएको बताए। आफूहरूले सक्दो प्रयास गरेर ल्याएको उनीहरूले जवाफ दिए।

चालु आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका क्रममा जेठ १४ गते राति अर्थमन्त्री शर्माले अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको थियो। सो समयको सीसीटीभी फुटेज डिलिट गरेपछि अन्य रिकभर प्रमाण समेत मेटेको एमालेको आशंका छ।

मंगलबार बसेको विशेष समिति बैठकपछि एमालेका सदस्यले सत्तापक्ष कांग्रेस, माओवादी केन्द्रका समिति सदस्यहरूले प्रमाण लुकाएको आरोप लगाएका हुन्। ती सदस्यले भने, ’’सत्तापक्षले प्रमाण लुकायो, आफ्नो सरकारको अपराध ढाकछोप गर्न हामीले भनेका कुरा पनि मानेनन्। कतिपय प्रमाण नष्ट गरेको छ। समितिले तथ्य पत्ता नलगाई प्रतिवेदन दिने भएको छ।’’

समितिको मंगलबार बसेको बैठकले सीसीटीभी फुटेज हेरेको र अब प्रतिवेदन लेखनको तयारी गर्ने सचिव सुरेन्द्र अर्यालले बताए। आज बुधबार ११ बजे फेरि समिति बैठक बस्ने छ। समितिको पछिल्लो पटक ७ दिन म्याद थपिएको थियो। थपिएको म्यादभित्रै काम सकाउने सचिव अर्यालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved