काठमाडौं। श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षविरुद्ध एक अन्तर्राष्ट्रिय संस्थाले पक्राउको माग गर्दै मुद्दा दायर गरेको छ। अधिकारकर्मीहरूले मुद्दा हालेका हुन्। श्रीलंकामा आन्दोलन चर्किएपछि भागेर सिंगापुर पुगेका राजापाक्ष विरुद्ध सिंगापुरमा उजुरी दिइएको हो ।
सिंगापुरको महान्यायाधिवक्ताको कार्यालयमा शनिबार दर्ता गरिएको छ। ६३ पृष्ठ लामो उजुरीमा श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षले श्रीलंकामा चलेको २५ वर्ष लामो गृहयुद्धमा जेनेभा महासन्धिको उल्लंघन गर्नुका साथै मानवअधिकार हनन् गरेको आरोप छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इन्टरनेसनल ट्रुथ एन्ड जस्टिस प्रोजेक्ट (आईटीजेपी)का तर्फबाट राजापाक्षविरुद्ध शनिबार मुद्दा दायर गरिएको उक्त संस्थाकी कार्यकारी निर्देशक यस्मिन सुकाले पुष्टि गरेकी हुन्।
श्रीलंकामा राजापाक्षविरुद्ध देशव्यापी प्रदर्शन चर्किएपछि जुलाइ १३ मा उनी भागेर सिंगापुर पुगेका थिए। साथै उनले सिंगापुरबाटै राजीनामा पठाएका थिए।
राजापाक्षले भने आफूमाथि लाग्ने गरेका आरोप अस्वीकार गर्दै आएका छन्। उनीमाथिको मुद्दाबारे सिंगापुरका महान्यायाधिवक्ताले भने कुनै प्रतिक्रिया दिएका छैनन्।
Facebook Comment
Comment