काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदका लागि गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन्।
बिहीबार बिहान भुसालले मनोनयन दर्ता गराएकी हुन्। भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ छन् भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद लक्ष्मीकुमारी चौधरी छन्।
प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म मनोनयन दर्ता गराइसक्नु पर्नेछ।
उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ। उम्मेदवारको सूची पनि आजै प्रकाशन हुनेछ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उपसभामुखमा उम्मेदवारी दिँदैछ। एमालेबाट कसले उम्मेदवारी दिने भन्ने टुंगो लागिसकेको छैन। उम्मेदवारबारे छलफल भइरहेको एमालेले जनाएको छ।
Facebook Comment
Comment