कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

नेपालभ्युज

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ। पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पालिका चुनावको समीक्षा र आसन्न चुनावको तयारीका सम्बन्धमा छलफल गर्न आज (सोमबार) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका छन्।

बैठकमा शेखर कोइराला नेतृत्वको संस्थापन इतर पक्षले सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ। हिजो बसेको नेता कोइराला पक्षको बैठकले सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो। कोइराला पक्षले सरकारले ल्याएको बजेटमा पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ।

यस्तै पार्टी सभापति देउवाले पार्टीलाई विधिवत् रुपमा अघि बढाउन नसकेको कोइराला पक्षको आरोप छ। पार्टी सञ्चालनमा सभापति देउवाले एकलौटी गरेको भन्दै विरोध गर्दै आएको कोइराला समूहले यस पटकको केन्द्रीय समिति बैठकमा दबाब बढाउने भएको छ ।

कांग्रेसको संस्थापन इतर समूहले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री हेरफेरका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष शेरबहादुर देउवालाई दबाब दिने तयारी गरेको छ । सरकारका काम–कारबाहीप्रति असन्तुष्ट इतर समूहले पार्टीभित्रको शक्ति सन्तुलनअनुसार मन्त्री हेरफेर गर्नुपर्ने माग अगाडि सार्ने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved