काठमाडौँ। नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले आफूले रफ्तारमा काम गर्ने बताएका छन्।
शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार सम्हाल्ने क्रममा मन्त्री चौधरीले चुनाव नजिकै भएकाले तीन सयदेखि चार सयको स्पिडमा काम गर्नु पर्ने अवस्था आएको बताए।
आफ्नो मन्त्रालयको कामलाई चुस्तदुरुस्त बनाउन शहरमा विकास प्राधिकरण आवश्यक भएकाले त्यसको लागि शुरुदेखि नै पहल थाल्ने उनले बताए।
उनले भने, “मुलुक अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौँ। मुलुक चलाउने मान्छे पनि घमण्डी भयौँ। कर्मचारीको बारेमा त के भनौँ र तर हामीले आफ्नोतर्फबाट पनि जे गर्नुपर्ने हो त्यो गरिरहेका छैनौँ। आफ्नो बचावटको लागि हामी नेताहरु नै आफू बच्नको लागि सुरक्षित नीति नियम बनाउने। आफूलाई संरक्षण गर्ने किसिमका कानून बनाउन खोज्ने, मुलुकलाई इमान्दारीपूर्वक योगदान गरौँ। कुनैपनि व्यक्तिले स्ट्रङ कमिटमेण्ट नगर्दासम्म मुलुक बन्दैन। हामीलाई अफ्ठ्यारो त छ नि, घुस खान पाउँदा पैसा हुन्छ, अरु बद्मासी गर्दा अरु होला। यो तरिकाले त मुलुक बन्दैन रहेछ नि। देश बनाउनको लागि सबैले सामूहिक रुपमा प्रतिबद्धता जनाऔं।”
Facebook Comment
Comment