६ सय जना बोकेर जनकपुर आइपुग्यो भारतीय रेल, मुख्यमन्त्रीद्वारा स्वागत

मंगलबार साँझ दिल्लीको रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउन रेल्वे यात्रा शुरु गरेका थिए।

६ सय जना बोकेर जनकपुर आइपुग्यो भारतीय रेल, मुख्यमन्त्रीद्वारा स्वागत

जनकपुरधाम। करीब ६ सय भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ मधेशको राजधानी जनकपुरधाम आइपुगेको छ।

रामायण सर्किटअन्तर्गत भारतीय रेल्वेले शुरु गरेको रेल धार्मिक पर्यटक लिएर जनकपुरधाम आइपुगेको हो। विभिन्न धर्मका तस्वीर र सद्भाव दर्शाउने तस्वीरअंकित रेलबाट जनकपुरधाम आइपुगेका करीब छ सय पर्यटकहरू छातासहित विभिन्न बन्दोबस्त सामग्रीसहित आइपुगेका हुन्।

अयोध्या नरेश भगवान् राम र मिथिलाकी राजकुमारी माता जानकीको जन्मस्थल क्रमशः भारतको अयोध्या र नेपालको जनकपुरधामसहित रामायण सर्किटको पर्यटन विकासका लागि मुख्यतः यो रेल जनकपुरधाम आइपुगेको हो।

१८ दिनको धार्मिक यात्राअन्तर्गत तेस्रो दिन भारत गौरव पर्यटक रेल बिहीबार जनकपुरधाम रेल्वे स्टेशनमा करीब पौने दुई बजे आइपुगेको हो।

मंगलबार साँझ दिल्लीको रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउन रेल्वे यात्रा शुरु गरेका थिए।

बिहीबार उक्त रेल्वे जनकपुरधाम पुग्दा तीर्थयात्रीलाई स्वागत गर्न मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोसन दाससहित स्थानीय पुगे थिए।

रेल जनकपुरधाम पुग्नेबित्तिकै दुवै देशका नागरिकहरूले जय जय सियारामको नारा घन्काउन थालेपछि वातावरण नै रमणीय बनेको छ। जनकपुरधाममा भगवा रंगको ‘जय सियाराम’ लिखित झण्डा बजार क्षेत्रमा सजाइएको छ।

पर्यटकहरू प्रसिद्व श्री जानकी मन्दिर, साँझ हुने महागंगा आरती, शुक्रबार धनुषाधामसहित जनकपुरधाम र यसक्षेत्रका सम्पुर्ण धार्मिक सम्पदा र कुटी र कुण्डहरूको दर्शन अवलोकन गर्नेछन्।

उनीहरूको स्वागतमा रेल्वे स्टेशन पुगेका मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउत र पर्यटन मन्त्री सत्रुधन महतोले यो यात्राबाट प्रचारप्रसार र रामायणकालीन स्थलहरूको पर्यटन विकासका लागि सम्भाव्यता खोज्ने एक कदम रहेको बताए।

जनकपुरधामका मेयर मनोज कुमार साह र श्री जानकी मन्दिरका सहायक महन्त राम रोशन दासले जनकपुरधाम र अयोध्याधामलाई भगिनी धार्मिक शहरको रुपमा विकास गर्न यस यात्राले थप बल पुग्ने बताए।

वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत निनेश कुमारले यात्रा रामायणबाट रामायण सर्किटको विकासका अनेकन् सम्भावयता र अगामी प्रयासहरूको बाटो खोल्ने र दुई देशबीच त्यसका लागि छलफलको वातावरणसमेत बनाउने बताए।

जनकपुरधाम आएका पर्यटकहरू तत्कालीन मिथिलाको राजधानी जनकपुरधामदेखि माता जानकी उत्पति भएको सथल भारतको सितामढीसम्म बसबाट यात्रा गर्नेछन्।

रेल भने बिनापर्यटक आजै जनकपुरधामबाट सीतामढी पुग्ने छ। भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको रेल र पर्यटकको स्वागतका लागि जनकपुरधामका उद्योगी, पर्यटन व्यवसायीसमेत एकजुट भएर सक्रिय छन्।

भारतीय राजदूतावासका अनुसार यो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कला र धार्मिक सदभाव र भाइचारा दर्शिनेजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को चित्रित छ।

जनकपुरधाम पुगेका तीर्थालुहरू भोलि पुनः सोही रेलबाट सीतामढीका लागि प्रस्थान गर्नेछन्। रामायण सर्किटअन्तर्गत भारत र नेपालबीच पर्यटक रेल शुरु भएपछि जनकपुरधामको पर्यटन विकासमा मद्दत पुग्ने व्यवसायीहरूको आशा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved