धनुषाका वन क्षेत्रमा अतिक्रमण रोक्न काँडेतार लगाइँदै

नेपालभ्युज

धनुषाका वन क्षेत्रमा अतिक्रमण रोक्न काँडेतार लगाइँदै

जनकपुरधाम। धनुषामा वन क्षेत्रमा अतिक्रमण रोक्न काँडेतारको घेरा लगाउन थालिएको छ।

सवडिभिजन वन कार्यालय लालगढ धनुषाले मिथिला नगरपालिका–११ स्थित शिकारी डाँडा वन क्षेत्रमा अतिक्रमण बढेपछि वन अतिक्रमण रोक्न काँडेतारको घेरा लगाउन थालिएको छ। वन अतिक्रमण रोकथाम गर्न वन क्षेत्रमा आरसीसी पोल तथा काँडेतारले घेरा लगाउन थालेको हो।

कार्यालयका वन अधिकृत मदन चौधरीले शिकारी डाँडा वन क्षेत्रको ३५ हेक्टरमा तारजालीले घेराबेरा गर्न लागिएको बताए। उनले काँडेतारको घेरा लगाउने काम ९० प्रतिशत सम्पन्न भइसकेको र बाँकीको काम एक दुई दिनमै सकिने जानकारी दिए।

वन अधिकृत चौधरीले टहरा बनाएर तथा खेतीयोग्य जग्गामा परिणत गरेर वन अतिक्रमण बढेको जानकारी पाएर अतिक्रमित जग्गामध्ये करिब दुई हेक्टर जग्गासमेत खाली गराएको जानकारी दिए।

२०५८ सालमा १६ सय हेक्टर वन क्षेत्र सुन्दरी सामुदायिक वन उपभोक्ता समिति गठन गरेर समुदायलाई वन संरक्षणको जिम्मा दिइएको थियो। तर, २०६२ सालमा आएर उपभोक्ता समिति निष्कृय भएपछि वन अतिक्रमणसँगै काठ तस्कीर ह्वातै बढेको थियो।

वन अतिक्रमण तथा काठ तस्करीका कारण उजाड बनेको वन क्षेत्रमा पुनः हराभरा वनमा रुपान्तरण गर्न तारजाली गरेपछि विभिन्न प्रजातिका वृक्षरोपण पनि गर्ने वन अधिकृत चौधरीले बताए। उनले यसरी तारजाली लगाउँदा वनभित्र भएका बोटविरुवाको संरक्षण हुने र स्थानीयको खेती पनि संरक्षण हुने जनाए।

वन क्षेत्र मासिँदै गएपछि बाँदर, बँदेल, निल गाई र मृगजस्ता वनजन्तुले खानाको खोजमा बस्तीमा पसेर अन्नबाली नष्ट गर्दै आएको छ।

तारजालीपछि वन्यजन्तु मानववस्तीमा जान नसक्ने र घरपालुवा जनावार पनि वन क्षेत्रमा प्रवेश गर्न नसक्ने हुँदा वन क्षेत्रका रुखविरुवा फस्टाउने दाबी वन अधिकृत चौधरीले गरे।

डिभिजन वन कार्यालय धनुषाका डिभिजन प्रमुख सुनिककुमार कर्णले वन अतिक्रमण नबढोस् भन्नका लागि तारजाली लगाइएको बताए। उनले तारबार गरेर वृक्षरोपण गरी हरियाली बढाइने र ताराबारले वन अतिक्रमण रोकिने जनाए। साथै काठ चोरी निकासीमा समेत नियन्त्रण हुने उनले जनाए।

शिकारी डाँडा वन क्षेत्रको जमिन खेती गर्ने प्रयोजनले मात्रै अतिक्रमण भएको छैन। त्यस, स्थानमा घर टहरा बनाई स्थायी बसोवास गर्ने सुकुम्वासी र अन्यत्र घर भएकाले पनि सो स्थानमा अस्थायी घर बनाएर बसेकोले समेत वनको जमिन अतिक्रमण गर्दै गएका छन्।

हालसालै अतिक्रमण गरिएका जमिन खाली गर्न लगाएको डिभिजन प्रमुख कर्णले जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved