अमेरिका भ्रमण जाँदै प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्मा

“हालसम्मलाई प्रधानमन्त्री देउवाले जुलाई महीनाको अन्तिममा अमेरिका भ्रमण गर्ने तयारी भए पनि यो नै अन्तिम नहुन सक्छ,” स्रोत भन्छन्, “आवश्यकताअनुसार यो समयमा केही फेरबदल हुने सम्भावना उत्तिकै रहेको छ।”

नेपालभ्युज

अमेरिका भ्रमण जाँदै प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्मा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र अमेरिकाको भ्रमणमा जाने तयारी शुरु भएको छ। नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको औपचारिक निमन्त्रणा दिएकी थिइन्।

८ जेठमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उपविदेशमन्त्री जियाले प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको निमन्त्रणा गरेसँगै नेपालको परराष्ट्र मन्त्रालय र नेपालस्थित अमेरिकी दूतावास त्यसको तयारीमा लागेको हो।

सन् २००२ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा देउवा अमेरिकाको भ्रमणमा गएका थिए। देउवाको उक्त भ्रमणपछि नेपालका अन्य प्रधानमन्त्रीले अमेरिकाको औपचारिक भ्रमण गरेका छैनन्। यस हिसाबले दुई दशकपछि नेपालका प्रधानमन्त्रीको अमेरिका भ्रमण हुन लागेको हो। विभिन्न कार्यक्रममा सहभागी हुन अमेरिकाको न्यूर्योक लगायतका अन्य शहरमा नेपालमा प्रधानमन्त्री पुगे पनि राजधानी वाशिङटनको भ्रमणमा विगत दुई दशकयता नेपालमा प्रधानमन्त्रीले गरेका छैनन्।

नेपाल–अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष पुगेको अवसरमा पछिल्लो समय दुई देशबाट भ्रमणको क्रम बढ्दै गएको छ। यसै क्रममा नेपालका प्रधानमन्त्री देउवाले अमेरिकाको औपचारिक भ्रमण गर्ने तयारी भएको हो।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको तयारी चले पनि भ्रमणको मिति भने निश्चित भइसकेको छैन। परराष्ट्र मन्त्रालय स्रोतले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको तयारी थाल्न निर्देशन आए पनि मिति भने जानकारी नभएको बताए।

प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई समेत भेट्ने गरी तयारी भएको छ। त्यसैले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अमेरिकी राष्ट्रपति र विदेशमन्त्रीको समय मिल्ने गरी गर्ने तयारी भएको स्रोत बताउँछ।

“हालसम्मलाई प्रधानमन्त्री देउवाले जुलाई महीनाको अन्तिममा अमेरिका भ्रमण गर्ने तयारी भए पनि यो नै अन्तिम नहुन सक्छ,” स्रोत भन्छन्, “आवश्यकताअनुसार यो समयमा केही फेरबदल हुने सम्भावना उत्तिकै रहेको छ।”

प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण गर्नुभन्दा अघि प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकाको भ्रमण गर्ने भएका छन्। सेना मुख्यालय स्रोतका अनुसार प्रधानसेनापति शर्माले जुनको अन्तिम साता अमेरिकाको भ्रमण गर्ने सम्भावना रहेको छ। “प्रधानसेनापतिले अमेरिका भ्रमण गर्ने निश्चित भएपनि मिति भने अझै निश्चित भएको छैन,” स्रोतको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved