जनकपुरमा दोहोरियो १७ सालदेखिको इतिहास, यी हुन् मनोजले जित्नुका कारण

जनकपुरमा २०१७ सालदेखि २०७४ सालसम्म कुनै पनि दलले नेतृत्व गरेको इतिहास छैन। ०७४ सालको निर्वाचनमा स्वतन्त्रले जितेको ‘ट्रेण्ड’ भत्केको थियो। तर पुनः कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उठेका मनोजले दलका हातबाट नेतृत्व खोसेका छन्।

जनकपुरमा दोहोरियो १७ सालदेखिको इतिहास, यी हुन् मनोजले जित्नुका कारण

जनकपुरधाम। जनकपुरमा विद्रोही उम्मेदवारहरूले स्वतन्त्रबाट जित्दै आएको इतिहास एकपटक फेरि दोहोरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साह निर्वाचित भएका छन्।

आज साँझ आएको अन्तिम मतपरिणामअनुसार मनोज प्रतिद्वन्द्वीलाई करीब झण्डै मतान्तरले पछि पार्दै मनोज १३ हजार ४६५ मतसहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५३२ मत प्राप्त गरे।

यस्तै तेस्रो नम्बरमा लोकतान्त्रिक समाजवादी पार्टी .लोसपा)का मनोजकुमार चौधरीले ५ हजार ३६० मत पाएका छन् भने चौथो नम्बरमा गठबन्धबाट जसपाका उम्मेदवार निवर्तमान मेयर लालकिशोर ५ हजार १९४ मतमा सीमित भए। पाँचौ नम्बरमा स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतो ४ हजार २९० मत पाएका छन्।

यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी किशोरी साह निर्वाचित भएका छन्। उनी १५ हजार ५२५ मत ल्याएर निर्वाचित भएका छन् भने उनकी प्रतिद्वन्दी नेकपा एमालेकी रुना झाले १० हजार ८८५ मत मात्र प्राप्त गरेकी छिन्। निवर्तमान उपमेयरसमेत रहेकी लोसपाकी रीताकुमारी मिश्रले ५ हजार ८१७ मत मत ल्याइन्।

जनकपुरमा २०१७ सालदेखि २०७४ सालसम्म कुनै पनि दलले नेतृत्व गरेको इतिहास छैन। तर ०७४ सालको निर्वाचनमा स्वतन्त्रले जितेको ‘ट्रेण्ड’ भत्केको थियो। तर यसपटक पुनः कांग्रेसका बागी उम्मेदवार मनोजले १७ सालदेखिको उक्त ऐतिहासिक विरासत जोगाएका छन्।

०७४ को स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)का लालकिशोर साह नगर मेयरमा निर्वाचित भएका थिए। साह दलको उम्मेदवारबाट विजयी हुने जनकपुरका पहिलो जनप्रतिनिधिका रूपमा देखा परेका थिए। तर यसपटकको चुनावमा पाँच दलको गठबन्धनबाट पुनः उम्मेदवार बनेका साह चौथो स्थानमा पुगे।

तत्कालीन पञ्‍चायत सरकारले नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम ०१७ जेठ १३ मा जनकपुर नगरपालिका गठन गरेको थियो। त्यसबेला श्यामसुन्दर शर्मालाई पञ्‍च सरकारले ‘अध्यक्ष’ को टीको लगाएको थियो। त्यसपछि तत्कालीन राजा महेन्द्रले ०१७ साल कै पुस २२ गते नेपालमा पञ्‍चायती व्यवस्था लागू गरेपछि जनकपुर नगरपालिकाको नाम ‘जनकपुर नगर पञ्‍चायत’ राखेका थिए।

त्यसबेलादेखि ०७४ मा बाहेक कुनै दलले नेतृत्व गरेका स्थिति छैन।

२०४६ मा प्रजातन्त्रको पुर्नस्थापना पश्चात् २०४७ जेठ २८ मा नगरपालिका ऐनअनुसार नगरपालिका बनेको जनकपुरमा २०४९ मा सम्पन्न स्थानीय निर्वाचनमा मेयरका लागि नेपाली कांग्रेसबाट दुईजना आकांक्षी थिए। दीगम्बर राय र वृषेशचन्द्र लाल। तर पार्टीले दीगम्बरलाई टिकट दियो। पार्टीको निर्णयबाट असन्तुष्ट वृशेषचन्द्रले स्वतन्त्र रूपमा उम्मेदवारी दिए। साथै लालकिशोर साहले पनि उपमेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिए।

निर्वाचनमा दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार भारी सावित भए र स्वतन्त्रबाट उम्मेदवारी दिएका वृषेशचन्द्र मेयरमा तथा लालकिशोर उपमेयरमा निर्वाचित भए।

त्यसको पाँच वर्षपछि २०५४ सालमा नेपाली कांग्रेसबाट दामोदरप्रसाद उपाध्याय र बजरंगप्रसाद साह मेयरको आकांक्षी थिए। तर कांग्रेसबाट दामोदरप्रसाद उपाध्यायले मेयरको टिकट पाए। उपाध्याय पञ्चायतकालमा दुईपटक पञ्च बनिसकेका प्रभावशाली नेता थिए। तर नतिजा फेरि उल्टियो, नेतृत्व कांग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका बजरंगप्रसाद साहले निर्वाचन आफ्नो पक्षमा पार्न सफल भए।

त्यसपछि दुई दशक स्थानीय तहको निर्वाचन हुन सकेन। ०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाले निकालेको जितलाई अपवाद मान्ने हो भने दलको उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारलाई जनकपुर फापेको देखिन्छ र यस पटक पुनः जनकपुरले त्यही इतिहास दोहोर्‍याएको छ।

मनोजले जित्नुका कारण

चुनावको जोडतोडका साथ तयारीमा जुटेका जनकपुर कांग्रेसले पाँचदलीय गठबन्धनबाट मेयरमा जसपाका लालकिशोर साहलाई उम्मेदवार बनाएपछि कांग्रेसका नगर सभापति मनोज साहले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिए। साहसँग कांग्रेसका एउटा ठूलो टिम उतै ढल्कियाे।

मेयर : मनाेज साह

जनकपुरधाम उपमहानगरमा कांग्रेसले मेयरको उम्मेदवारी पाउँदा शतप्रतिशत जित निकाल्न सक्ने विश्लेषणसहित चुनावी तयारीमा रहेको भए पनि गठबन्धनमा जसपालाई मेयरको टिकट दिने सहमति भएपछि कार्यकर्ता बिच्किए। स्वतन्त्र उम्मेदवार साहलाई साथ दिएजस्तो गरी जनकपुरको कांग्रेस नगर कमिटी पनि खुलेर गठबन्धनको उम्मेदवारका पक्षमा लागेनन्।

मनोजलाई कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूको पनि समर्थन देखिन्थ्यो । जब निर्वाचन चिन्हसम्बन्धी विवादमा मनोजले निर्वाचन अधिकृतको कार्यालयमा धर्ना र विरोध प्रदर्शनको लागि गए त्यतिबेला कतिपय वडाध्यक्षका उम्मेदवारहरू पनि सँगै थिए । कांग्रेसका वडास्तरीय प्रचार सामग्रीमा गठबन्धनका मेयर उम्मेदवारलाई भोट मागेको देखिएन।

जसकारण कांग्रेसको बहुसंख्यक मत साहलाई नै परेको अनुमान गर्न सकिन्छ।

मनोज साह आफू कांग्रेस कै मतमा मेयर जितेको दाबी समेत गरेका छन्। साहले जनकपुरमा कांग्रेस जोगाउनका लागि आफूले मेयर पदमा उम्मेदवारी दिएको बताउँदै उनले भने, ‘‘रुखबाहेक अन्त भोट हाल्नु कांग्रेसको नीतिविपरीत हो। हामीले अन्यत्र भोट हाल्यौँ भने जनकपुरको कांग्रेस जोगाउन शेरबहादुर आउने त होइनन्। त्यसैले कांग्रेस जोगाउनका लागि मैले उम्मेदवारी दिए र सबै कांग्रेसी मतदाता मेरो पक्षमा मत गरेका छन्।’’

जनकपुरधामका स्थानीय नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शैलेन्द्र झा भन्छन्, ‘‘दलबाट आजित भएका मतदाताको मत स्वतन्त्र उम्मेदवारलाई दिएका हुन्। कांग्रेसलाई भोट हाल्दै आएका अधिकांश मतदात अरु पार्टीको चुनाव चिन्हमा भोट हाल्नुभन्दा आफ्नै पार्टीका बागी उम्मेदवारलाई नै मत दिएका हुन्।”

नवनिर्वाचित मेयर साह २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार लालकिशोरसँग फराकिलो मतान्तरले पराजित भएका थिए। अघिल्लो चुनावमा लालकिशोरले २१९०३ मत ल्याउँदा मनोजले १११६४ मात्र पाएका थिए।

त्यतिबेला मधेस आन्दोलनको ह्युम र सेन्टिमेन्टले काम गरेको थियो। जनताले पनि एक मधेसवादी दललाई पनि हेरौं भनेर जिताएका थिए। तर जनताले सोचे जस्तो, जनताले चाहे जस्तो नगरमा केहि नभएको हुँदा निर्वतमान मेयर लालकिशोरसँग जनता असन्तुष्ट हुँदै बिकल्पको खोजीमा थिए। र मनोजलाई विकल्पको रुपमा रोजेको देखिन्छ।

०७४ को चुनाव हारे, तर कत्ति पनि विचलित नभइ मनोजले जनताका बीच पुगेर काम गरिरहे। आफूले त्यही बेलादेखि काम गरेरै आफ्ना लागि भोट मागिरहेको उनले बताए।

साहले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘‘प्रायः सबै उम्मेदवार चुनावमा उम्मेदवार बनि सकेपछि चुनाव ताका मात्र भोट माग्छन्। तर मैले २०७४ मा चुनाव हारेदेखि नै मत माग्न थालेका थिएँ। त्यति बेला देखि निरन्तर जनताको सेवा गरिरहेँ, र मत पनि मागिरहेँ।’’

उनले कांग्रेसको नगर सभापति भएर पछिल्लो साढे चार वर्षयतो उपमहानगरमा निरन्तर संगठन पनि विस्तार गरिरहेको बताउँदै उनले भने, ‘‘जनताले मैले गरेको सेवाको प्रतिफल स्वरुप मतदान गरेर मलाई जिताउनु भयो, अब जनताको हरसम्भव राम्रो काम गरेर देखाउँछु।’’

सत्तारूढ गठबन्धनले जसपाबाट निवर्तमान मेयर लालकिशोरलाई नै उम्मेदवार बनाउने निर्णयविरूद्ध मनोजसँगै कांग्रेसका कार्यकर्ता र समर्थकले पनि मत मार्फत विद्रोह गरेका छन्।

साढे चार वर्षे कार्यकालमा कुनै महत्वपूर्ण काम गर्न नसकेको, उपमहानगरको कार्यालयमा आफन्त र कार्यकर्ता भर्ती केन्द्र बनाएको र भ्रष्टाचारसमेत गरेको आरोप लागेका लालकिशोरलाई नै उम्मेदवार बनाइएपछि जनकपुरवासी आक्रोशित भएका थिए र त्यो अक्रोश उनीहरूले ब्यालेटमार्फत पोखे।

जनकपुरमा उनको विपक्षमा मतदाताले बलियो स्वच्छ र काम गर्ने उम्मेदवारको खोजीमा थिए। मनोजले विस्तारै आफ्नो छवि र ’भिजन’ मतदातासामु राखे र प्रभावित गरे। लालकिशोरबाट असन्तुष्ट धेरैले मनोज प्रतिको जनताको रुझानलाई देख्दै उनले जित्ने आंकलन गर्दै चुनाव जित्नेलाई भोट दिएका हुन्।

निर्वाचित भए पश्चात साहले आउने आर्थिक वर्षको लागि नमुना बजेट बनाउने पहिलो काम गर्ने बताए।

उनले विशेषज्ञहरूको राय सल्लाह सुझावमा नगरपालिकाको लागि गर्न सक्ने योजनाको खाका बनाउने बताए। उनले सबै क्षेत्रका जानकार र विज्ञहरूको छलफलको लागि एक महिना जतिको समय छुट्याउने बताए।

नवनिर्वाचित मेयर साहले भने, ‘‘गर्न सक्ने योजनाको लागि मात्र बजेट बिनियोजन गर्छु, र ठोस रुपमा त्यसलाई पूरा गर्छु। जनकपुरको ठूलो समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन गर्न स्यानिटरी ल्यान्डफिल साइट, कृषि बजार व्यवस्थापन, शिक्षा र स्वास्थ्य सम्बन्धी कानुन बनाउने, संचार निति बनाउने र धार्मिक पर्‍यटक नगरीका रूपमा विकास गर्ने कामलाई प्राथमिकतामा राखेर काम गर्छु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved