पर्साका १४ मध्ये १३ पालिकाको मतगणना सकिँदा एमाले पहिलो, कांग्रेस दोस्रो

नेपालभ्युज

पर्साका १४ मध्ये १३ पालिकाको मतगणना सकिँदा एमाले पहिलो, कांग्रेस दोस्रो

जनकपुरधाम। पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये १३ वटाको मतपरिणाम सार्वजनिक भएको छ।

मतपरिणाम सार्वजनिक भइसकेका मध्ये सबैभन्दा बढी स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेले ५ वटा स्थानीय तहमा जित निकाल्दा नेपाली कांग्रेसले ४ वटा, जनता समाजवादी पार्टी (जसपा) ले ३ वटा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १ वटा स्थानीय तहमा जित हासिल गरेको छ।

एमालेले २ नगरपालिका र ३ गाउँपालिका जित्दा कांग्रेसले ४ गाउँपालिकामा जितेको छ। जसपा १ नगरपालिकासहित २ वटा गाउँपालिकामा विजयी हुँदा १ गाउँपालिकामा लोसपाले जित हासिल गरेको हो।

पर्साको पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका, ठोरी, छिपहरमाई र सखुवाप्रसौनी गाउँपालिकामा नेकपा एमालेले जितेको छ। जिराभवानी, पकाहमैनपुर, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकामा कांग्रेसले जितेको छ।

बहुदरमाई नगरपालिकासहित धोबिनी र कालिकामाई गाउँपालिकामा जसपाले जित्दा बिन्दवासिनी गाउँपालिकामा लोसपाले जित निकालेको हो। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जगरनाथपुर, छिपहरमाई र ठोरी गरी ३ वटा गाउँपालिका जितेको नेकपा माओवादी केन्द्रले यसपटक एक वटा स्थानीय तह पनि जित्न सकेन।

माओवादी केन्द्रबाट निर्वाचित भएका छिपहरमाई गाउँपालिकाका मनोज कुमार गुप्ता भने यसपटक नेकपा एमालेबाट पुनः निर्वाचित भएका छन्। उनी हाल एमाले पर्सा जिल्ला सचिवसमेत हुन्। उपाध्यक्षमा नेपाली कांग्रेसकी लिलावतीदेवी कानु निर्वाचित हुँदा ३ वडामा कांग्रेस र २ वडामा एमालेले जितको छ।

त्यस्तै माओवादी केन्द्रबाटै निर्वाचित जगरनाथपुर गाउँपालिकाका जालिम मियाँ मन्सुरीले पनि एमालेबाट प्रतिनिधि सभा लड्ने मनसायका साथ आफ्ना भाई सलिम मियाँ मन्सुरीलाई लडाए पनि उनी पराजित भइन्। जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका श्रीकान्त प्रसाद यादव र उपाध्यक्षमा कांग्रेसकी बबिता सिंह निर्वाचित भएकी छिन्। त्याहाँ ४ वडामा कांग्रेस र २ वडामा एमालेले जित निकालेको छ।

नेकपा माओवादी केन्द्रको गढ मानिएको ठोरी गाउँपालिकामा पनि निवर्तमान अध्यक्ष पदमलाल (पीएल) श्रेष्ठ नेकपा एमालेकै लालबहादुर श्रेष्ठसँग पराजित भएका छन्। ठोरीमा अध्यक्ष, उपाध्यक्षसँगै ३ वटा वडामा पनि एमालेले जित हासिल गरेको छ भने १-१ वटा वडामा कांग्रेस र माओवादी केन्द्रले जितेको छ।

पर्सागढी नगरपालिकामा पनि नगरप्रमुख, उपप्रमुखसँगै २ वडामा एमालेले जितेको छ। एमालेका गोकर्ण पाठक प्रमुख र उपप्रमुखमा पूजा चौधरीसँगै ३ वडामा कांग्रेस, २ वडामा जसपा र १/१ वटा वडामा स्वतन्त्र र लोसपाले जित हासिल गरेका छन्।

जिल्लाको दोस्रा सदरमुकामको रुपमा परिचित पोखरिया नगरपालिकाको प्रमुखमा पनि नेकपा एमालेकै प्रदुमन प्रसाद चौहान निर्वाचित हुँदा उपप्रमुखमा पनि एमालेकै रुवी कुमारी ठाकुर विजयी भएकी छन्। ४ वडामा एमालेले जित्को पोखरीयाका ५ वडामा कांग्रेस र १ वडामा नेपाल सुशासन पार्टीले जित निकालेको छ।

बहुदरमाई नगरपालिकाको प्रमुखमा जसपाका सिंगासन साह तेली र उपप्रमुखमा एमालेकी सुष्मा कुमारी कुशवाहा निर्वाचित भएकी छिन्। त्याहाँ ४ वडामा कांग्रेसले जितेको छ भने ३ वडामा एमाले, जसपा र स्वतन्त्रबाट १/१ वडा हात पारेका छन्।

नेपाली कांग्रेसका सुरेश प्रसाद अध्यक्षमा निर्वाचित भएका पकाहमैनपुर गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै सरफुन नेशा विजयी भएकी छिन्। पकाहमैनपुरका पाँचै वडामा पनि नेपाली कांग्रेस विजयी भएको हो। जसपाबाट २१ वर्षीय वशिष्ठ कुमार अध्यक्षमा निर्वाचित भएका कालिकामाई गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी ६१ वर्षीय राजमती बरैनी निर्वाचित भएकी छन्। ३ वडामा जसपा र १/१ वटा वडामा एमाले र कांग्रेसले जित हासिल गरेका छन्।

जसपाबाट मदन प्रसाद चौहानले अध्यक्षमा जितेको धोबिनी गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी मंजु देवी विजयी भएकी छन्। त्याहाँ ३ वडामा कांग्रेस २ वडामा जसपा विजयी भएको छ।

सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा पनि नेकपा एमालेकै ३२ वर्षीय जसवन्त यादव विजयी भएका छन् भने उपाध्यक्षमा जसपाकी शर्मिला विष्ट निर्वाचित भएकी हुन्। ६ वडा रहेको सखुवाप्रसौनीमा एमाले, कांग्रेस र जसपा २/२ वडामा विजयी भएका छन्।

पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दिनेश कुमार चौधरी निर्वाचित हुँदा उपाध्यक्षमा पनि कांग्रेसकै ममता महतो पुनः दोहोरिएकी छिन्। ४ वडामा कांग्रेसले जितेको पटेर्वासुगौलीमा १ वडामा मात्रै एमाले जित्न सफल भएको छ।

जिराभवानी गाउँपालिकामा पनि कांग्रेसकै ३१ वर्षीय अनोज चौधरी अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा पनि कांग्रेसकै ३१ वर्षीय रेखा चौधरी निर्वाचित भएकी छन्। त्यहाँ ३ वटा वडामा कांग्रेसले जित्दा २ वडामा एमालेले जित निकाले छ।

लोसपाले जितेको एक मात्र स्थानीय तह बिन्दवासिनी गाउँपालिका हो। जुन पालिकाको अध्यक्षमा प्रमोद तिवारी निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेकी ज्योतिदेवी चौरसिया निर्वाचित भएकी छन्। ३ वडामा कांग्रेसले जितेको बिन्दवासिनीमा नेकपा माओवादी केन्द्र र जसपाले १/१ वटा वडामा जित्न सफल भएका छन्।

वीरगञ्ज महानगरपालिकामा भने अहिले मत गणना जारी छ।

हालसम्मको तथ्यांकअनुसार पाँचदलीय गठबन्धनबाट जसपाका राजेशमान सिंह नेकपा एमालेका विजय कुमार सरावगीभन्दा झण्डै १२ हजारभन्दा बढी मतले अगाडि छन्। यस हिसाबले मधेश प्रदेशको एक मात्र महानगरपालिका जसपाले जित्ने प्रबल सम्भावना देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved