सिर्जना-गर्भ

देशप्रेमका गीत लेख्न रुचाउँछु

हाँले अचानक देह त्याग्नुभयो। उहाँले देह त्याग गर्दा म विराटनगरमा थिएँ। उहाँ बित्ने दिन बिहान उहाँसँग निकट एकजना मानिसले मलाई फोन गरेर भने, “सर, आज बाबाले दुई बजे देहत्याग गर्नु हुने रे। हजुरलाई बोलाउनुभएको छ, आउनुस् है।”

देशप्रेमका गीत लेख्न रुचाउँछु

मैले अनेक विषयका गीत लेखेँ तर धेरैचाहिँ देशप्रेमका गीत लेखेँ। देशप्रेमसम्बन्धी मेरा ५ वटा गीति-एलबम नै निस्किएका छन्। मैले सिर्जना गरेका केही गीतका सिर्जना-गर्भ भने यस्ता छन्ः

आज फेरि टाढाबाट…

आज फेरि टाढाबाट आयो एउटा खबर

मन मेरो रुन लाग्यो मरी सारा रहर…।’

सन् २००४ मा नेपालीहरूले एउटा कहालीलाग्दो घटना देख्नु र भोग्नुपर्‍यो। वैदेशिक रोजगारको सिलसिलामा इराकमा गएका १२ जना नेपाली त्यो देशका विद्रोही लडाकु समूहको सिकार बने।

यो घटनाबारे बिहान ९ बजेको समाचारमा सुनेँ मैले। समाचार सुन्नेबित्तिकै मेरो मन एकाएक बिथोलियो र गहिरो पीडानुभूति भयो। मैले कल्पिएँ, ‘हरे, कस्तो दुःखद घटना। मारिनेहरूका नेपालमा आफ्ना पत्नी होलान्, प्रेयसीहरू होलान्, भर्खर विवाह गरेर छाडेर गएका होलान्। अब तिनीहरूले यो घटना कसरी सहन सक्लिन् ? विदेश गएर कमाएर ल्याउलान्, सुनको गहना किनिदेलान् भन्ने कत्रो आशा थियो होला ! उनीहरूका सपना चकनाचुर भयो।’

त्यतिबेला म अफिस जान तयार भइसकेको थिएँ र कपडासमेत लगाइसकेको थिएँ। समाचार सुन्नेबित्तिकै पीडाले छोयो। त्यसपछि समाचार बन्द गरेर मैले कापी-कलम लिएर त्यो पीडालाई शब्दमा व्यक्त गर्न थालेँ, १०-१५ मिनेटभित्रै यो गीत लेखेँ-

फर्की आउने उनको बाचा नपुग्ने पो हो कि ?

बिपत्तीमा परी कतै अल्झिएका छन् कि ?

न्याउली पनि रुन लाग्यो चाला निको छैन

काकाकुल रहर मेरा पुग्ने भर छैन…।’

यो गीत पुरुष र महिला दुवैको आवाजमा सजिएको छ। दिवंगत गायक रुवी जोशी र सपनाश्रीले आ-आफ्नो स्वरमा सजाउनुभएको छ।

मिलौं मिलौं हामी मिलौं…

विगतमा एक दशक अवधिसम्म नेपाली जनताले राज्य र विद्रोही पक्षबीच चर्किएको युद्धको मार झेल्नुपर्‍यो। युद्धको बीचमा केही पटक युद्धविराम पनि भए र युद्धविरामका अवधिमा जनताले सन्तोषको सास फेर्न पाए।

एक पटक दाङको हापुरेमा शान्तिवार्ता भएको थियो। त्यो वार्तामा सरकार पक्षबाट डा. प्रकाशचन्द्र लोहनी र कमल थापा र विद्रोही पक्षबाट डा. बाबुराम भट्टराई, कृष्णबहादुर महरालगायत सहभागी भए। पछि भने शान्तिवार्ता सफल हुन सकेन।

जब मैले हापुरे शान्तिवार्ताको खबर सुनेँ, ममा खुसी भित्रियो। मैले सोचेँ, ‘अब वार्ता सफल भएर देशमा शान्ति छाउलाजस्तो छ।’

युद्धकै समयमा विद्रोहीको आक्रमणमा परेर २६ जना मरे। त्यतिबेला म डेनमार्कमा थिएँ। एकदिन एकजना प्राध्यापकले यो खबर मलाई सुनाउँदै भने, “तिम्रो देशमा त एकै दिन २६ जना मानिस मरेछन्।”

यस्ता घटनाले मलाई छोइरहेको थियो। आफूलाई छोएको विषयमा मैले गीत पनि लेखिरहेको थिएँ। डेनमार्कबाट नेपाल फर्किएलगत्तै शान्तिवार्ता हुने खबर सुनेँ र मैले यो गीत लेखेँ-

मिलौं मिलौं हामी मिलौं

तिमी-हामी मिल्यौं भने राम्रा कुरा गर्न सक्छौं

घृणा, द्वेष बिर्सिएर भाइचारा बाँड्न सक्छौं…।’

द्वन्द्वकालीन समयलाई प्रतिविम्बित गरिएको यो गीत दिवंगत गायक प्रेमध्वज प्रधान र प्रकाश श्रेष्ठले गाउनुभएको छ। संगीतचाहिँ शक्ति बल्लभको रहेको छ। यो गीतको अन्तरा यस्तो छः

घाउ जसको भए पनि दुख्ने छाती हाम्रै हो

रगत जसको बगे पनि रुने आमा नेपालै हो

बिर्सिएर भुलहरू आऊ हामी सँगै बसौं…।’

थाहा छैन…

वैदेशिक रोजगारका निम्ति विमानस्थलमा लस्कर लागेर विदेसिएका युवाहरू देख्थेँ म। एकातिर लस्कर लागेर विदेसिएका युवाको पंक्ति र अर्कोतिर लास बनेर फर्किने दृश्य। यस्ता दृश्यले मलाई छोइरहन्थे। यस्ता दृश्यले धेरै पीडा दिन्थ्यो।

त्यस्तो दृश्य देखेर म कल्पिन्थेँ, ‘विदेश जाने बेलामा आफ्नी प्रियसीलाई सम्झिँदै, तर्कना गर्दै जान्छन् होला।’

यही दृश्य देखेर मैले लेखेँ-

थाहा छैन फर्की आउन पाउने हो कि हैन

आशिष दिने आमा हाँस्न पाउने हो कि हैन…’

संगीतकार शक्ति बल्लभद्वारा संगीतबद्ध यो गीत स्वरूपराज आचार्यले गाउनुभएको छ। गीतका अरू हरफ यस्ता छन्-

दोष दिनु कसलाई छ र गरिबी नै दोष रै’

पराइबीचमा कमाइ खान पाउने हो कि हैन

धेरै साथी फर्किसके बाकसभित्र लास बनी

सास बोकी मैले फिर्न पाउने हो कि हैन…?’

बाँच्न पनि…

देवघाटमा एक जना जोगी हुनुहुन्थ्यो। नाम थियो- गणेशदत्त पन्त। उहाँको घरचाहिँ बैतडीतिर रहेछ।

उहाँ पहिला प्राध्यापक हुनुहुँदो रहेछ। दर्शनशास्त्रमा आचार्य गर्नुभएको रहेछ। तर पछि भने वैराग्य जीवन बिताउने निष्कर्षमा पुग्नुभएछ। सन्न्यासी हुनलाई शास्त्री गर्नुपर्दो रहेछ। उहाँ शास्त्री गरेर जोगीहरूको अखडामा बस्नुभएको रहेछ। सन्न्यासी भएपछि उहाँले अर्कै नाम पाउनु भएछ- गणेश चैतन्य।

उहाँ असाध्यै ज्ञानी हुनुहुन्थ्यो। उहाँलाई गीता, वेदलगायत सबै शास्त्र कण्ठस्थ थियो। उहाँ ४ वर्षजति देवघाटको एकान्त ठाउँमा बस्नुभयो र उहाँलाई भेट्न मानिसहरू जान्थे।

तर उहाँले अचानक देह त्याग्नुभयो। उहाँले देह त्याग गर्दा म विराटनगरमा थिएँ। उहाँ बित्ने दिन बिहान उहाँसँग निकट एकजना मानिसले मलाई फोन गरेर भने, “सर, आज बाबाले दुई बजे देहत्याग गर्नु हुने रे। हजुरलाई बोलाउनुभएको छ, आउनुस् है।”

मैले भनेँ, “कहाँ मृत्युको घोषणा गरेर मानिस मर्छन् र ? उहाँ मर्नु हुन्न।”

पछि त ती मानिसले मलाई फोन गरेर भने, “बाबाले त दुई बजे देह त्याग गर्नुभयो नि।”

म चकित परेँ र सोधेँ, “कसरी त्याग गर्नुभयो ?”

ती मानिसले भने, “बाबाले मलाई नारायणी नदीमा लगेर टाउको बाहिर राखेर शरीर डुबाइदिनू। एकछिनपछि मेरो मुखबाट रगत आउँछ। रगत खान कमिला आउँछन्। कमिलाले रगत खाइसकेपछि मेरो मृत्यु हुन्छ। म मरेपछि ढुंगामा बाँधेर नदीमा फ्याँकिदिनू।”

यो कुरा मलाई सपनाजस्तै लाग्यो। बाबाको मृत्युको खबर सुनेपछि मैले एउटा गीत लेखेँ-

बाँच्न पनि कहाँ सकियो र उनी बाँचेजस्तो

मर्न पाए हुन्थ्यो बरु उनकै मरण जस्तो…।

यो गीत उदय सोताङ र लासिमित राईले गाउनुभएको छ।

स्पन्दन थियो…

त्यो बेला मेरो छोरा सात कक्षामा पढ्दै थियो। सातमा पढ्दाताका नै उसलाई हामीले मल्पीस्थित विद्यालयमा बोर्डर्स गरेर राखिदियौँ। तर उसलाई बोर्डर्स गरेपछि आमाचाहिँ असाध्यै रोइन्।

आमा रोएको देखेपछि मैले एउटा गीत लेखेँ। शब्द यस्तो थियो-

स्पन्दन थियो मुटुको एउटा त्यही पनि टाढा भयो

ब्झाऊ पनि कसोरी यो मन आँसु नै मेरो भाग्य भयो…।’

हामीले बोर्डर्स गरेपछि उसले बाहिरै बसेर उच्च अध्ययन गर्‍यो र विदेश पनि गयो।

पीडामिश्रित यो गीत दीपक खरेलले गाउनुभएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved