गीतकार खड्काले कवि पराजुलीलाई कविता चोरेको आरोप लगाएपछि…

नेपालभ्युज

गीतकार खड्काले कवि पराजुलीलाई कविता चोरेको आरोप लगाएपछि…

गोरुले गधालाई सोध्यो –
भाइ ! चुनाव त जितिछस्
तर, मान्छेले
तँलाई मत कसरी दिए नि ?
गधाले भन्यो –
चुनाव जित्नुअघि त
म पनि मान्छे नै थिएँ नि !

चुनावी रौनक चलिरहेको बेला यतिबेला सामाजिक सञ्जालमा यो व्यङ्ग्य भाइरल छ। नेपाली राजनीतिमाथि व्यङ्ग्य लेखेर चर्चामा आइरहने कवि अर्जुन पराजुलीले ४ जेठ २०७९ मा सामाजिक सञ्जालमा राखेको यो व्यङ्ग्य पनि पनि चर्चित बन्यो।

ठीकठाक चर्चामा चलिरहेको यो व्यङ्ग्य बहसको विषय त्यतिबेला बन्यो जब बुकहिल प्रकाशन गृहका सञ्चालकसमेत रहेका गीतकार भूपेन्द्र खड्काले उक्त व्यङ्ग्यलाई आफूले लेखेको स्टाटस दाबी गर्दै पराजुलीलाई चोरीको आरोप लगाए।

भूपेन्द्रले फेसबुकमा लेखे, “लौ हेर्नुहोस्। मैले ९ वर्षअघि लेखेको स्टाटस त्यतिबेला भाइरल भएको थ्यो। आज तपाईँका प्रिय कवि अर्जुन पराजुलीले चोरेछन्। हैट, बूढालाई के भएछ !”

चुनावी सरगर्मीका बेला आएको यो व्यङ्ग्यको चर्चा भइरहेकै बेला चोरीको आरोप लगाएपछि कवि पराजुली रन्थनिए। उनीमाथि चोरीको आरोप लगाएपछि उनका पाठकहरू आलोचनामा उत्रिए। व्यङ्ग्य लेख्दा राजनीतिकर्मीबाट गाली खाने पराजुलीले आफ्नै फ्यान फलोअर्सबाट पनि गाली खाए।

तर, बहसको शृंखला त्यतिबेला मोडियो जतिबेला पराजुली प्रमाणसहित आए। भूपेन्द्रले ९ वर्षअघि आफूले लेखेको स्टाटस पराजुलीले चोरेको आरोप लगाएकोमा पराजुली भने २५ वर्ष पहिले लेखेको प्रमाणसहित आए।

भूपेन्द्रको माथि उल्लेखित पोस्ट सेयर गर्दै अर्जुन पराजुलीले लेखे, “आदरणीय मित्रहरु भ्रममा नपर्नुहोला। यो कविता मैले आजभन्दा २५ वर्षअगाडि लेखेको हुँ र लगातार मञ्चमा पढ्दै आएको छु। मलाई लाग्छ, यो स्टाटस मेरो कविताको कपी हो। अझै मलाई चोर बनाउँदै हुनुहुन्छ उहाँ मलाई चोर बनाउनेको विरुद्धमा अब मैले कानुनी उपचार खोज्नुपर्छ र खोज्नेछु।”

हिजो साँझदेखि शुरु विवाद अझ थप फैलियो जब आज बिहानै अर्जुन पराजुलीले जनमत साहित्यिक मासिकको पूर्णांक ११५, असोज २०६३ फेसबुकमा सेयर गर्दै लेखे, “मेरो नाममा जनमतले निकालेको विशेषाङ्कमा कवि, समालोचक रामप्रसाद ज्ञवालीले लेख्नुभएको समीक्षा लेखमा छ यो। आफ्नो सिर्जना अरुले चोरेर चोरले उल्टै चोरिस् भनेर दुनियाँका अगाडि धम्क्याउँदा यस्तो पीडा हुँदोरैछ कि उस्तै मान्छे ९म० भए आत्महत्या गरिसक्थ्यो।”

अनि भीड खनियो, भूपेन्द्र खड्कातर्फ। चुनावी रौनकले केही दिनदेखि तातिएको सामाजिक सञ्जाल यतिबेला कविता चोरीको आरोप प्रत्यारोपमा तातिएको छ।

पराजुलीले प्रतिक्रिया दिइसकेपछि सञ्चालको माहोल फेरिएको छ। पराजुलीलाई चोरको ट्याग भिराइसकेकाहरु हच्किएका छन् भने भूपेन्द्रको आलोचना हुन थालेको छ।चौतर्फी आलोचना भएपछि र सत्य बाहिर आएपछि खड्का माफी माग्न बाध्य भए। उनले फेसबुकमा लेखेकाम छन्, ‘९ वर्षअघि मैले लेखेको स्टाटस हिजो देख्दा र कवि अर्जुन पराजुलीको कवितासँग हुबहु मिल्दा मैले किन यस्तो भयो भनेर सोध्न मिल्छ । मैले प्रयोग गरेको भाषाले अर्जुन दाइलाई पर्न गएको असुविधाप्रति क्षमा चाहन्छु…।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved