धनुषामा चुनावी तयारी पूरा, सुरक्षा व्यवस्था चुस्त

धनुषामा चुनावी तयारी पूरा, सुरक्षा व्यवस्था चुस्त

जनकपुरधाम। धनुषामा स्थानीय निर्वाचनको तयारी पूरा भएको छ ।

शुक्रबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ। जिल्लाका १८ वटै स्थानीय तहका मतदान केन्द्रमा मतपेटिका, मतपत्र लगायतका सामाग्री पुगिसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सबै मतदानस्थलमा म्यादीसहितको सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।

जिल्लाका मतदानस्थलहरुको सुरक्षाका लागि दुई हजार नेपाल प्रहरीसहित पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । उनले भने, ‘‘भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मतदान स्थलसहित प्रत्येक पालिकामा सिभिल ड्रेसमा प्रहरी र मानवअधिकार सहितको अनुगमन टोली तथा स्वयंसेवकहरु परिचालन गरिसकिएको छ ।’’

जिल्ला निर्वाचन आयोगको कार्यालयका अनुसार जिल्लामा स्थानीय तह निर्वाचनमा भाग लिनका लागि दर्ता भएका ३२ वटा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित ६ हजारभन्दा बढी उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

मुख्य निर्वाचन अधिकृत प्याकुरेलले धनुषामा ३२३ मतदानस्थल र ५९६ मतदान केन्द्र कायम गरिएको जानकारी दिए। निर्वाचन आचारसंहिता उल्लंघन गर्ने विभिन्न दल, उम्मेदवार र व्यक्तिलाई आयोगमा प्राप्त उजुरीका आधारमा स्पष्टीकरण सोध्ने, सचेत तथा कारबाही गराउने कार्य गरिएको पनि उनले जानकारी दिए ।

अधिकृत प्याकुरलेका अनुसार मध्यरातीदेखि जारी भएको मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभतेर, पैसा बाँड्ने काम भए/नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए/नभएको अनुगमन कार्य छ । त्यस्तो कार्य गरेको पाइएमा तत्काल आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

मत बदर हुने सम्भावना बढी

मधेश प्रदेशमा मतदाता शिक्षा तथा सचेतना अभियान तथा कार्यक्रम नगरिएका कारण यसपटकको निर्वाचनमा मत बदर हुने सम्भावना बढेको छ। विगतमा मतदानअघि नयाँ मतदाता तथा वृद्धवृद्धालाई लक्षित गरी मतदाता शिक्षा सञ्चालन हुने गरेकोमा यसपटक आयोगले नै मतदाता शिक्षा कार्यक्रम हटाएकाले नयाँ मतदाता र वृद्धवृद्धाहरुले दिने मत बदर हुने सम्भावना बढेको हो।

मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरले २५ भदौमा नै नमुना मतदान गरेको थियो । तर ती नमुना मतदानमा मतदाताको अवस्था कस्तो थियो, कति प्रतिशत मत बदर भयो लगायतका विषयमा अहिलेसम्म निर्वाचन कार्यालयले सार्वजनिक गरेको छैन ।

मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरका प्रमुख श्रीधर पन्थीले धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको एक मतदान केन्द्रमा नमुना मतदान गरिए पनि समयको अभावमा मतदानको अवस्था परिणामबारे सार्वजनिक गर्न नसकिएको स्वीकार गरे । जनशक्तिको अभावका कारण सार्वजनिक गर्न नसकिएको उनको भनाइ छ ।

उनले धनुषामा प्रत्येक मतदान अधिकृतलाई मतदान केन्द्रहरुमा बुधबार र बिहीबार नमुना मतदान गर्न पत्राचार गरिएको बताए ।

सीमा नाका बन्द, मदिरा बिक्रीवितरणमा निषेध

शुक्रबार हुन लागेको स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा स्थानीय प्रशासनले भारतसँग जोडिएका सीमा नाकाहरु बन्द गरेको छ भने मदिरा बिक्रीवितरणमा निषेध गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार आदेश जारी गरिएको जानकारी दिए ।

मंगलबार राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्मका लागि धनुषा जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा) को बिक्रीवितरण र सेवन कार्य निषेध गर्नुका साथै मङ्गलबार राति १२ बजेदेखि ३० वैशाखसम्म भारतीय सीमासँग जोडिएका सीमा नाकासमेत पूर्णरूपमा बन्द गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved