दुई दिनमा चितवनमा दुई घटना, एकको निधन हुँदा एक जनाको काठमाडौंमा उपचार हुँदै

चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारी भन्छन, “राजनीति प्रेरित घटना चितवनमा भएका छैनन्, व्यक्तिगत कारणले भएका घटनाका विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।”

नेपालभ्युज

दुई दिनमा चितवनमा दुई घटना, एकको निधन हुँदा एक जनाको काठमाडौंमा उपचार हुँदै

काठमाडौं। भरतपुरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका कांग्रेस कार्यकर्ता अनिल परियारको व्यक्तिगत रिसइबीका कारण हत्या भएको चितवन प्रहरीले बताएको छ। यसमा राजनीतिक कारण नरहेको चितवन प्रहरीको दाबी छ।

आइतबार बेलुका परियारमाथि भरतपुर ७ कृष्णपुरको खेलमैदानमा धारिलो हतियार प्रहार गरिएको थियो। शरीरका विभिन्न १० ठाउँमा धारिलो हतियार प्रहार भएको उनको भरतपुर मेडिकल कलेज, चितवन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

कार्यकर्ताको हत्या भएपछि आज एक विज्ञप्ति जारी गर्दै चितवन कांग्रेसका सभापति राजेश्वर खनालले घटनाको सत्यतथ्य जाँच हुनुपर्ने बताएका छन्।

हत्या भएका परियार पार्टीको बागमती प्रदेश प्रतिनिधिसमेत भएको बताउँदै कांग्रेसका चितवन सभापति खनालले भनेका छन्, ‘निर्वाचनको प्रचारप्रसारमा खटिरहेका एक युवामाथि सुनियोजित तरिकाले सांघातिक आक्रमण गरी निर्मम तरिकाले हत्या भएको घटनाले कांग्रेस चितवनलाई स्तब्ध एवं मर्माहित बनाएको छ, घटनाप्रति कांग्रेस चितवन खेद प्रकट गर्दै यथाशीघ्र सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडाभन्दा कडा सजाय गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ।’

स्थानीय तहको निर्वाचनको मुखमा कांग्रेस कार्यकर्ताको हत्या भएपछि त्यसमा राजनीतिक कारण हुनसक्ने बताइए पनि चितवन प्रहरीले परियारको हत्यामा व्यक्तिगत रिसइबी कारण रहेको बताएका छन्। चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारी भन्छन, “परियारको हत्यामा व्यक्तिगत कारण देखिन्छ, राजनीतिक कारण छैन।”

एक वर्षअघि मात्रै उनी चितवन कारगारबाट मुक्त भएका व्यक्ति हुन्। परियारको हत्यासँगै कांग्रेस निकट युवाहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेका छन्।

यसअघि, २५ वैशाखमा चितवन खैरहनीका युवा संघका एक कार्यकर्ता कुमार थापामाथि धारिलो हतियार प्रहार भएको थियो। हतियार प्रहारबाट गम्भीर घाइते भएका लामाको चितवनमा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

थापा र परियार दुवैमाथि भएको आक्रमणमा राजनीतिक कारणभन्दा व्यक्तिगत कारण रहेको चितवन प्रहरी प्रवक्ता अधिकारी बताउँछन्। भने, “राजनीति प्रेरित घटना चितवनमा भएका छैनन्, व्यक्तिगत कारणले भएका घटनाका विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।”

उपचारका लागि काठमाडौं ल्याइएका थापा एक वर्षअघि मात्रै नेपाली कांग्रेस छोडेर नेकपा एमाले प्रवेश गरेका थिए। प्रहरीले घटना राजनीति प्रेरित नभएको बताए पनि हत्या भएका परियार र आक्रमणमा परेका लामा स्थानीय तह निर्वाचन प्रचारका लागि सक्रियता पूर्वक लागेका पार्टीका कार्यकर्ता थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved