सुर्खेत। अघिल्लो स्थानीय निर्वाचनताका गाउँ-गाउँमा पुगेर दलहरूले निम्न वर्गले महशुस गर्नेगरी दूरगामी परिवर्तन र कार्यक्रमहरू कार्यान्वयन गर्ने बाचा गरिरहेका थिए। त्यसबेला कालिकोटको महावै गाउँपालिका–२ ओदा गाउँका स्थानीयले पनि आफ्ना दिन फेरिने अपेक्षा गरेका थिए।
हुन त त्यस्ता बाचा हरेक चुनावका बेला नेताहरूले आएर गर्ने भए पनि खरका छाना फेरेर टिन हालिदिने बाचा गरेका थिए, जसकारण प्रत्येक वर्ष तर्साउन आउने हुरी र झरीबाट मुक्ति पाइनेछ भन्ने आशा उनीहरूको थियो। तर त्यसो भएन, पाँच वर्षअघि निर्वाचनमा खरको छानो हटाएर टिनका छाना राखिदिने बाचा गरेका नेताहरू चुनाव सकिएलगत्तै हराए र फर्किएर आए पाँच वर्षपछि चुनावमा भोट माग्न मात्रै।
दलहरूले खरका छाना फेरिदिने पाँच वर्ष बित्दा पनि आफ्नो अवस्था ज्यूको त्यू भएको गुनाशो छ स्थानीय आइती कामीको। ‘‘घरमा रहेका खरका छाना हटाउने भनेको थिए,’’ उनले भनिन्,‘‘हामी गरीवले कहाँ टिन पाउनु ? उनै हुने खानेले टिनका छाना बनाए। हामीले त छानको खर पनि फेर्न पाएनौँ।’’
छानोको खर नफेरिए पनि उनका भित्ताको अवस्था भने फेरिएको छ, दलहरूले आएर भत्के बचेका भित्तामा चुनावी पर्चा टाँसिदिएका छन्। उनकै जस्तो अवस्था भएका स्थानीय धौले बिक, खड्के नेपाली, बचन कामी धने कामी र मदन कामीको घरमा पनि टाँसिएका छन् त्यस्तै पर्चाहरू। आगामी ३० वैशाखमा हुने निर्वाचनमा लागि विभिन्न राजनीतिक दलका गाउँपालिका अध्यक्षका उम्मेदवारदेखि वडासदस्यहरूका उम्मेदवारहरूले नमस्कार गर्दै मत मागेको तस्वीरहरू टाँसिएका छन्।
ओदा गाउँमा जम्मा १६ घरधूरी छन्। दलित समुदायको ती वस्तीमा सबै विपन्न परिवार छन्। ती सबैका घर खर(फुस)को छानाले छाइएको छ। कसैको घरमा कृषि कार्यालयले दिएको प्लाष्टिकले छाना छन्।
राज्यले खरको छानारहित घर बनाउने भनेर अभियान नै चलाएको छ। तर, यो गाउँमा कुनै पनि घरमा टिनको छानाले वा ढुङ्गाको छानाले छाएका छैनन्।
चुनावमा प्रचारमा दैनिकजसो विभिन्न राजनीतिक दलका कार्यकर्ता मत माग्न आउँदा दैलोमा प्रचारप्रसार सामग्री टाँसिदिने गरेको स्थानीय धौले बिकले बताए। ‘‘मलाई केही पढ्न पनि आउँदैन। आजकाल दैनिक राजनीतिक दलका कार्यकर्ता मत माग्न आउँछन्,’’ उनले भने, ‘‘तिनैहरूले नै टाँसेर गएका हुन्। नच्यात्नु भनेका कारणले यही रहन दिएको छु।’’
यस्तै स्थानीय रवि परियारका भित्ता पनि अचेल चुनावी प्रचार सामग्रीले भरिएका छन्। उनीकहाँ पनि पाँच वर्षअघि विभिन्न नेताहरूले आएर घरको छानो फेरिदिने प्रतिवद्धता गरेका थिए। तर त्यसो भएन, नफेरिएको छानोबाट पानी चुहिन थालेपछि उनले कृषि विकास कार्यालयले कृषि खेतीका लागि टनेल बनाउन दिएको प्लास्टिकले घरको छाना ढाकेका छन्। ‘‘हामीले छाना छाउने खरसमेत पाउँदैनौं, खर पाउने मेलाहरू(जंगल)समेत ठुलावडाले आफ्नो नाममा गरेका छन्,’’ उनले भने, ‘‘कसैले दया गरेर खर दियो भने छाना छाउने हो। अहिले त्यो पनि पाइएन। कृषि कार्यालयले दिएका प्लाष्टिकले घरमा छाना छाएका छौं।’’
उस्तै दुखेसो छ रगुचन्ने कामीको पनि। विगतमा राजनीतिक दलहरूले चुनाव जिते घरमा रहेका खरका छाना हटाएर टिन दिने भनेका थिए। तर उनीहरूले त चुनाव जितेर गएपछि फर्की आएनन्। त्यसैले चुनाव लागे पनि भोट हाल्न जान उत्सुक छैनन् उनी। भन्छन्, ‘‘विगत खरका छाना हटाउने, कामै गरेनन्। अहिले हाम्रो घरका छाना जसले हटाउँछ, यसैलाई मत दिने हो। तर, कुन दलले खरका छाना हटाउने हो ! त्यो विश्वास गर्न सकिने अवस्था पनि छैन।’’
दलित तथा विपन्न परिवारको अवस्थामा कुनै सुधार नआएको चुनावका बेला मात्रै उनीहरूलाई मतका लागि राजनीतिक दलहरूले सम्झिने गरेको स्थानीय दुर्गाप्रसाद काफ्लेले बताउँछन्। ‘‘दलित विपन्न परिवारको हालत उही अवस्थामा छ। पहुँचवालाहरूले जस्तापाता (टिन) पाए होलान्,’’ उनले भने, ‘‘यहाँका दलित घरले न घाम छेक्न सक्छ न पानी। चुनावमा पोस्टर पम्पलेट शृङ्गार गर्नुभन्दा त्यही पैसाले ओत लाग्ने ठाउँ बनाउन ध्यान दिए हुन्थ्यो।’’
ववाल न्युज