बागी उम्मेदवारी दिएका वडाध्यक्षका उम्मेदवार झुण्डिएको अवस्थामा भेटिए

नेपालभ्युज

बागी उम्मेदवारी दिएका वडाध्यक्षका उम्मेदवार झुण्डिएको अवस्थामा भेटिए

विराटनगर। सुनसरीको रामधुनी नगरपालिका-८ को वडाध्यक्ष पदका बागी उम्मेदवार नेपाली कांग्रेसका गणेश पौडेल झुण्डिएको अवस्थामा फेला परेका छन्।

शनिबार बिहान आफ्नै निवास पछाडी झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो। उनले आत्महत्या गरेको हुन सक्ने स्थानीयले बताएका छन्। एक स्थानीयले भने, “चुनाव र पार्टीगत विवादले होला पौडेल केही दिनयता तनावमा देखिन्थे। त्यही तनावले घटना भएजस्तो छ।”

नेपाली कांग्रेसका क्रियाशील नेता रुपमा चिनिएका पौडेलले यसपटकको निर्वाचनमा वडा नम्बर ८ को वडाध्यक्ष पदका दाबेदार थिए। पार्टीबाट टिकट पाउनुपर्ने उनको माग थियो। तर, पार्टीले टिकट नदिएपछि प्यानलसहित उनले बागी उम्मेद्वारी दिएका थिए। अघिल्लो निर्वाचनमा पनि वडाध्यक्षका लागि उनको नाम सिफारिसमा परेको भए पनि उनले टिकट भने पाएका थिएनन्।

यसपटक पनि टिकट नपाएपछि बागी उम्मेदवार बनेर खडा भएका उनलाई पार्टीबाट समेत उम्मेदवारी फिर्ता लिन दबाब आएको थियो। उम्मेदवारी फिर्ता नलिएपछी पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गर्ने निर्णय गरेको थियो।

३ दिनअघि पौडेल इनरुवाबाट अपहरणमा समेत परेका थिए। तर, अपहरणको परेको भनिएका पौडेल भोलिपल्ट बेलुका सम्पर्कमा आएका थिए। परिवारजनले भने हराएको भनी प्रहरीमा निवेदन दिएका थिए।

हाल प्रहरीले भने घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ। शवको प्रकृति हेर्दा प्रारम्भिक अनुसन्धानको नतिजाअनुसार पौडेलले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved