बन्दीपुर : दुई कविता

नेपालभ्युज

बन्दीपुर : दुई कविता

बन्दीपुरः एक अभिव्यक्ति

अनिल श्रेष्ठ

धुस्रो-फुस्रो
फुङ्ग उडेको अनुहार
असमय चाउरी परेर रंग हराएकी
मलिन-कान्तिहीन
निस्तेज-निर्भाव
वर्षौंदेखि
पीडाग्रस्त एउटी बुढी आइमाई
सिँउदो हराएकी विधवा जस्ती
लोग्नेको यादले छट्पटाइ रहेकी
टाढा कतै हराइरहेकी ।

आँखामा थुप्रै दृश्यहरू आउँछन्
र हराउँदै जान्छन्
सपना जस्तै
धमिला आकृतिहरू
स्मृति बनेर अल्झिरहन्छन्
भुल्न नसकेर विगत
सम्झनाको पीडाहरूले बल्झिरहन्छन्
एक्लोपनको आभासले
सधँै सधैँ लखेटिरहन्छन् ।

अहो ! आफन्तहरूको अभावमा
यात्रा कति कठिन ?
अझै कति पाइलाहरू हिँड्नु पर्ने हो ?
अझै कति दिनहरू धान्नु पर्ने हो ?
उकालोसँग थाकेर
चार भञ्ज्याङछेउ
एउटा चौतारीमा
थकाइ बिसाइरहेकी
थकित-थकित
लामो सुस्केरा काढिरहेकी
जीवनदेखि हारेर
मौनता बाँचिरहेकी
सहाराविहीन-कतै टोलाइरहेकी
आँखामा आफन्तजनहरूको
एक थुप्रो प्रतिविम्बित सपनाहरू बोकेर
एउटा पराजित समय भोगिरहेकी
सधैँ कतै डुबिरहेकी
सधैँ कतै हराइरहेकी
बन्दीपुर
यस्तै देखिन्छ
सधैँ यस्तै छ, बन्दीपुर ।

 

प्यारो बन्दीपुर

मणिराज सिंह

नागबेली उकालो उक्लँदै
कुहिरोसित लुकामारी खेल्दै
टुँडिखेलको छातीमा बुर्कुसी मार्दै
सौन्दर्यको रसपान गर्दै
न्यानो न्यानो घाममा
लुट्पुटिन चाहन्छु म– प्यारो बन्दीपुर ।

आगो जस्तै छटपटाहट बोकेर मनभरि
रित्तोपनको पखेंटा सिउरेर सपनाभरि
एकतमासको उजाड, तप्त दिनचर्या भुलेर
अशान्तिको चक्रव्यूह पन्छाएर
अञ्जुलीमा लालुपाते, सयपत्री र गुराँस समेट्न
आत्मिक शान्तिको कामना गर्दै
पखाल्न आफ्नै आदर्शको रित्तोपन
पुगेर तीनधारा
तिम्रा पवित्र सुवासमा
मगमगाउन चाहन्छु म– प्यारो बन्दीपुर ।

यान्त्रिक भोगाइका सीमाभित्र कैद
रित्ता गाग्रीका लाममा अलपत्र
चर्केको भित्ता र टुक्रिएका मनहरूले निस्सासिएको
फोहोरको डंगुरमा थिचिएको म
तिम्रो निश्छल र निष्कपट हाँसोमा लठ्ठ
निपूण सिकर्मीले कुदेको
प्राकृतिक फूलबारी
सिर्जना र सुन्दरताको
मगमगाउँदो धरोहर
प्राचीन संस्कृतिको पवित्र माइती
दिव्य–आमा संवेदनाको
सुनौलो जून, तारा प्यारो बन्दीपुर ।

कोलाहल र उत्पीडनबाट टाढा सहयोग र सद्भावको चौतारी
सुख र सृष्टिको तकिया
अनन्त अनन्तसम्म जुनेली दृष्टि उचालेर
प्रियतमलाई पर्खेर बसेकी
आफ्नै आँगनको नवबेहुली जस्ती
लोककी प्यारीप्यारी बन्दीपुर ।

नाघेर फाँटहरू
धमिलो नदी छाडेर
बादलसँगै बतासिएर डाँडाहरूमा
सूर्य, चन्द्र लेखेर आँखाहरूमा
सुन्तलाका बोटहरू स्याहार्दै
जब म तिम्रो समीपमा पुगेँ
घर आँगन लिपेर सिनित्तै
फूलजस्ती हँसिली
निश्चल, निर्भय, चट्टानजस्तै सधैँ अडिग
सुन्दर सपनाको
सुरम्य बस्ती तिमी– प्यारो बन्दीपुर ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved