जनकपुरमा निर्वाचन प्रचारप्रसारमा भारतीय नम्बरका गाडी र डीजे आतंक

जनकपुरधाम उपमहानगरपालिकामा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूले ठूलो आवाजमा बाजा घन्काएर दिनभरि गाडी घुमाउने गरेका छन्।

जनकपुरमा निर्वाचन प्रचारप्रसारमा भारतीय नम्बरका गाडी र डीजे आतंक

जनकपुरधाम। मधेश प्रदेशको राजधानी तथा धनुषाको एक मात्र उपमहानगरपालिका जनकपुरधामसहित जिल्लामा प्रचारप्रसारको नाममा प्रमुख राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले नगरमा डीजे बजाउन थालेपछि सर्वसाधारणहरुलाई समस्या खेप्नुपरेका छ।

निर्वाचन आचारसंहिताविपरीत भारतीय नम्बर प्लेटका सवारी साधनहरू पनि प्रचार प्रसारमा प्रयोग भइरहेका छन्।

उपमहानगरपालिकाको विभिन्न पदका उम्मेदवारहरूले प्रचारप्रसारको क्रममा भारतीय नम्बर प्लेटको गाडी तथा डीजे एवं हर्नको प्रयोग गरिएको छ। जुन निर्वाचन आचारसंहिताको उल्लंघन हो। जसका कारण बस्ती र बजारमा अत्यन्त कोलाहल मच्चिएको छ।

धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले विभिन्न राजनीतिक दलले प्रयोग गरेको भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोगबारे जानकारी आएको र सवारीसाधन नियन्त्रणमा लिन स्थानीय प्रहरी प्रशासनलाई आदेशसमेत दिइसकेको जानकारी दिए। यसका साथै डीजे तथा हर्न नियन्त्रणका लागि पनि पहल गर्ने बताए।

धनुषा प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षत्रीले पनि भारतीय नम्बर प्लेटको सवारी साधन नियन्त्रणको काम शुरु गरेको बताए। अहिलेसम्म जनकपुरधामको कपिलेश्वर तथा देवपुरामा गरेर तीन वटा सवारी साधनलाई नियन्त्रणमा लिएर चालकहरूलाई सम्झाइ बुझाइ छाडेको उनले बताए।

राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरुले आफ्नो पक्षमा मतदान गर्न जनतालाई प्रेरित गर्न विभिन्न प्रकारको विज्ञापन तथा गीत पनि बनाएका छन्। सोही गीत ई–रिक्सा, पिकअप जस्ता गाडीमा ठूला ठूला बाजामा बजाउँदा नगर क्षेत्र कोलाहलमय भएको छ।

चर्को स्वरमा डीजे तथा हर्नबाट प्रचार प्रसार गर्ने काम भएका कारणले सर्वसाधारणमा मानसिक तनाव सृजना भएर हृदयाघातको सम्भावना रहेको चिकित्सकहरूले जनाएका छन्। जनकपुरधाम उपमहानगरपालिकामा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूले ठूलो आवाजमा बाजा घन्काएर दिनभरि गाडी घुमाउने गरेका छन्।

यस्तै स्वतन्त्र उम्मेदवारी दिएका निर्माण व्यवसायी बलराम महतो, जानकीराम साह, मनोज साह लगायत विभिन्न वडामा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुले प्रचारको नाममा ठुलो स्वरमा नगर क्षेत्रमा बाजा बजाएर गाडी घुमाउने गरेका छन्।

यता मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले आफूहरूले आचारसंहिता उल्लंघनको घटनाको अनुगमन गर्दा पनि राजनीतिक दलले त्यस तर्फ ध्यान नदिएका बताए। उनले भने, “हामी यता अनुगमन गर्छौं,  अर्कोतिर उल्लंघन हुने गर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved