कांग्रेसबाट टिकट नपाएका बागी मनोज साहको यस्तो छ नगरविकास योजना

नेपालभ्युज

कांग्रेसबाट टिकट नपाएका बागी मनोज साहको यस्तो छ नगरविकास योजना

जनकपुरधाम । नेपाली कांग्रेसबाट टिकट नपाएर जनकपुरधाम उपमहानगरपालिकामा बागी उम्मेदवार बनेका मनोज साहले आफ्नो पाँच वर्षे रणनीतिक योजनासहित घोषणापत्र सार्वजनिक गरेका छन्।

सत्ता गठबन्धन अनुसार जनकपुरधाम उपमहानगरपालिकाको मेयरको लागि जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि पार्टीबाट विद्रोह गरेर बागी बन्दै स्वतन्त्र उम्मेदवार बनेका साहले २१ बुँदे आफ्नो घोषणापत्र सार्वजनिक गरेका हुन्।

प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै उनले ‘हाम्रो जनकपुरधाम : राम्रो जनकपुरधाम, सुन्दर जनकपुरधाम र सफा जनकपुरधाम’ बनाउने प्रतिबद्धताका साथ आफूले स्वतन्त्रबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएको बताए ।

स्वतन्त्र उम्मेदवारी दिएका साहले आफ्नो घोषणापत्रमा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण गरी उर्जा तथा कम्पोष्ट मल तयार गरी कृषि कार्यमा प्रोत्साहनको नीति लिईने जनाएको छ।

उनले प्रत्येक वडामा सुरक्षित फोहर संकलन केन्द्र तथा निजी क्षेत्रको सहभागितामा फोहर ल्याण्डफिल साइटसम्म पुर्‍याउने योजना अघि सारेका छन्। घोषणापत्रमा ‘जनकपुरको सडकपेटी पर्यटन मैत्री बनाउँदै धार्मिक तथा सांस्कृतिक सम्पदाको मर्मत सम्भार तथा सौन्दर्यीकरणमा ध्यान दिइने उल्लेख गरिएको छ।

त्यस्तै ऐतिहासिक स्थल बाह्रविघा रङ्गभूमि मैदानलाई सफा, स्वच्छ, सुन्दर र हराभरा बनाइनेछ।’ जनकपुरलाई सुरक्षाको दृष्टिकोणले सीसीटीभी जडान र फ्री वाइफाइको व्यवस्था गरिने जनाएका छन्। जनकपुरको रिङरोड बनाउने तथा जनगुनासो डेस्क सञ्चालन गर्नुको साथै सूचनाको हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र पत्रकारमैत्री डेस्क सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ।

“ग्रामीण वडाहरुमा मलखाद, बीउ बिजन, सिँचाइ सेवा, कृषि उपज बजार व्यवस्थापन तथा फलफूलमण्डीको व्यवस्थापन गर्नेछ। अतिविपन्न नागरिकको हकमा आवासबाट वञ्चित रहेका व्यक्ति, परिवारलाई घर बनाई हस्तान्तरण गर्ने भएको छ।”

घोषणापत्रमा सीपमूलक तालिमका साथै साना तथा मझौला उद्योग स्थापनामा ऋण अनुदानको व्यवस्थापन गरिने उल्लेख गरिएको छ।

स्वतन्त्र उम्मेदवार साहले २५ वडामा सडक सञ्जाल र परिवहन सेवाका साथै अत्याधुनिक बस स्टेण्डसमेत निर्माण गरिने भएको जानकारी दिए। उनले भने, “जनकपुरमा अहिले अस्वस्थ्यकर बधशालालाई व्यवस्थित गरिनेछ साथै तरकारी बजारलाई समेत फुटपाथबाट हटाएर निश्चित ठाउँमा व्यवस्थित गर्ने योजना छ।”

स्वतन्त्र उम्मेदवार मनोजले अतिविपन्न नागरिकहरूको पहिचान गरी आवासबाट वञ्चित भएका व्यक्तिहरूलाई घर बनाई हस्तान्तरण गरिने, जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रका २५ वटै वडामा सुलभ शौचालय निर्माण गरिने, सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापनका साथै सेमीबोडर्स लगायतका विशेष कार्यक्रमहरू, जनकपुरधाम उपमहानगरपालिकाबाट लामखुट्टे नियन्त्रण गर्न दीर्घकालीन नीति बनाई कार्यान्वयन गर्ने, दलित, जनजाति, उत्पीडित तथा सीमान्तकृत समुदायको पहिचान गरी उनीहरूको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक पहुँच बढाई आत्मनिर्भर बनाउन कार्ययोजना बनाइने घोषणा पत्रमा उल्लेख गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved