केपी ओली क्विन्टल त हुन् तर आलुको, हामी सुनको तोला हौं : महामन्त्री शर्मा

नेपालभ्युज

केपी ओली क्विन्टल त हुन् तर आलुको, हामी सुनको तोला हौं : महामन्त्री शर्मा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय रूपमा विजयी बन्ने दाबी गरेका छन्।

आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा महामन्त्री शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा विजयी बन्दै गर्दा विजयको कुरामात्र नसोचेको र समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने ? भन्ने बारेमा पहलकदमी गरिरहेको बताए।

महामन्त्री शर्माले स्थानीय निर्वाचनमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरु एक/एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताए।

केही दिनअघि नेकपा एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका ५ दल एक/एक किलोको ढक भएको र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिनुभएको थियो। त्यसप्रति इंगित गर्दै महामन्त्री शर्माले नेकपा एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक/एक तोला मात्र भएपनि सुन भएको जिकिर गरे।

महामन्त्री शर्माले भने, “नेपाली कांग्रेस पार्टी बलियो ढंगले विजयी बन्दै गर्दा कमरेड केपी ओलीलाई लाग्यो, उहाँले भन्नुभयो, १/१ किलाका ५ वटा ढक हुन् भन्नुभयो, हामी एक्लै क्विन्टल हौँ भन्नुभयो। मेरा जिल्लावासीलाई म विनम्रतापूर्वक भन्छु। हामी उहाँले जस्तै गरी नकारात्मक ढंगले बौल्दैनौँ तर हिसाब नमिलेपछि हिसाब बुझाइदिनुपर्छ। हामी ५ वटा एक एक किलाका ढक होइनौँ। हामी एक एक तोला मात्रै हौँ। क्विन्टलचाहिँ वहाँ क्विन्टल नै हो। तर एक क्विन्टल आलु र ५ वटा तोला सुनको हिसाब बजारमा गएर सोध्यो भने कमरेड केपी ओलीलाई थाहा हुन्छ, वास्तविकता के हो।”

महामन्त्री शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिए पनि भित्रभने कमल थापासँग तालमेल गरिरहेको बताए।

काठमाडौं महानगरपालिकामा यस पटक सिर्जना सिंहको नेतृत्वमा बहुसंख्यक जित दर्ता गर्ने दाबी गरे। महामन्त्री शर्माले कांग्रेसले तालमेलबाट पहिलो भएर शक्ति सञ्चय गर्न चाहेको र त्यसपछिका निर्वाचनमा रूख चिन्हलाई विजयी गराएर १५ वर्षभित्रमा नेपाललाई विकासशील बनाउने प्रतिवद्धता जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved