रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः शुरु

रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः शुरु

पाल्पा। निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माइन्। गाउँकै अस्पतालमा सेवा पाउँदा उनी औधी खुशी देखिन्थिन्। ज्यामिरेबाट सदरमुकाम तानसेन पुग्न सहज छैन। तानसेन आउजाउ गर्न झण्झट र आर्थिक समस्या पनि उत्तिकै छ।

गाउँकै अस्पतालमा सहज सेवा पाएपछि अन्यत्र जाने समस्या टरेको राना बताउँछन्। उनी भन्छन्, “गाउँबाट तानसेन पुग्न चार/पाँच घण्टा लाग्छ, एक दुई जना पनि साथमै लिएर जानुपर्‍यो, टाढाको ठाउँ, खाने, बस्ने गाडी भाडा खर्च, आउजाउ गर्न सकस हुन्थ्यो, यहीँ सुविधा पाइयो, धेरै खुशी छु।”

पन्ध्र वर्षको उमेरमा विवाह गरेकी रानाले पहिलो सन्तान जन्माएकी हुन्। डा. रन्दीप राउतसहितको टोलीले रानाको शल्यक्रियामार्फत प्रसूति गराएको हो। गाउँघरमा सेवा सुविधा विस्तार हुँदा नागरिकलाई सेवा लिन सजिलो भएको रानाकी सासुआमा इमिसरा बताउँछिन्। उनले चार छोरा र एक छोरीलाई मेलापात, घाँसदाउरा तथा गोठालो गर्दै जन्माएकी थिइन्। “अब छोरी बुहारी अस्पतालमै सुत्केरी हुनुपर्छ, नत्र ज्यानको जोखिम रहन्छ”, इमिसराले भनिन्।

“हाम्रो समयमा गाउँमा स्वास्थ्य सुविधा थिएन, कोहीले मेलापात, कोहीले घाँसदाउरा, गोठालो गर्दैमा बच्चा जन्माए”, उनले भनिन्। अस्पतालमा २०७७ चैतमा तत्कालीन डा. वासुदेव सुवेदीसहितको टोलीले शल्यक्रिया सेवा प्रदान गरेको थियो। त्यसबेलादेखि नियमितरुपमा डा सुवेदी नेतृत्वको टोलीले गत वर्ष भदौसम्म शल्यक्रियामार्फत सफल प्रसूति सेवा प्रवाह गर्दैआएको थियो। डा. सुवेदी अन्यत्र सरुवाभएपछि उक्त सेवा बन्द हुन पुग्यो।

हालसम्म २७ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको शल्यक्रिया विभागका नर्स सुनिता गौतम बताउँछन्। उनका अनुसार गत साउनदेखि हालसम्म अस्पतालमा २०९ जनाले प्रसूति सेवा लिएका छन्। अहिले चिकित्सकको व्यवस्थापन भएपछि रोकिएको सेवालाई पुनः शुरु गरिएको हो। “चिकित्सक अभाव र प्राविधिक समस्याले अस्पतालमा करीब सात महिना शल्यक्रियाबाट प्रसूति सेवा रोकिन पुग्यो, अब नियमितरुपमा सेवा पाइन्छ”, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विजय परियारले बताए। शल्यक्रियाका लागि विशेषज्ञ चिकित्सक तथा आवश्यक उपकरणको बन्दोबस्त गरिएको छ।

विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको उक्त अस्पतालमा झण्डै २५ वर्षपछि शल्यक्रिया सेवा शुरु भएको थियो। गर्भवती, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस, गाँठागुठीको चिरफारलगायत सेवा दिने गरी निक साइमन्स् इन्सिच्युट ललितपुरको सहयोगमा शल्यक्रिया सेवा थालिएको हो। यससँगै प्रसूति सेवा लिन तानसेन जानुपर्ने समस्या हटेको छ।

पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्व (नवलपुर) को केन्द्रबिन्दु रामपुरमा सेवा लिन आउने सेवाग्राहीको चाप बढ्दो छ। अस्पतालले बाहिर जान नपर्ने गरी सेवा दिन चिकित्सकलाई निर्देशन दिएको छ। चिकित्सकले चौबिसै घण्टा खटिएर सेवा दिइरहेको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved