बेल्जियम छाडेर गठबन्धनबाट गाउँपालिका अध्यक्षको उम्मेदवार

नेपालभ्युज

बेल्जियम छाडेर गठबन्धनबाट गाउँपालिका अध्यक्षको उम्मेदवार

बागलुङ।अठार वर्ष लामो बेल्जियम बसाइलाई बिट मारेर गाउँ फर्किएका राजु थापाले नेपाली कांग्रेसबाट काठेखोला गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन्।

२०५४ सालको स्थानीय चुनावमा काठेखोला–४ तङ्ग्राम (तत्कालीन गाविस) अध्यक्ष उनलाई यसपालिको चुनावमा सत्ता साझेदार दलहरूले साझा उम्मेदवारका रूपमा अघि बढाएका हुन्। थापा चार महिनाअघि मात्रै नेपाल फर्केका थिए। कांग्रेसबाट होमबहादुर हमाललगायतका नेता अध्यक्षको आकांक्षी रहे पनि अन्तिममा थापाले टिकट पाएका हुन्। कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी बेल्जियमा रहँदा नेपाली जनसम्पर्क समितिमा क्रियाशील थिए।

“बेल्जियमा रहँदा पनि लगातार पार्टी समितिमा बसेर काम गरेँ, अहिले नयाँ जिम्मेवारीका लागि पार्टीले अगाडि बढाएको छ, परिणाम दिने गरी चुनावमा होमिएको छु”, थापाले भने। पहिले गाविस अध्यक्ष हुँदा होस् या प्रवासमा रहेका बेला पनि गाउँको विकास र जनताको सेवामा थापाको महत्वपूर्ण योगदान रहेकाले चुनावमा लोकप्रिय मत लिएर जित्ने नेपाली कांग्रेस, क्षेत्रीय समितिका सदस्य खड्क थापा मगरले दाबी गरे।

“एउटा जित्ने आधार कांग्रेसको आफ्नै सङ्गठन हो, त्यहीँमाथि अध्यक्षका उम्मेदवारको आफ्नै व्यक्तित्व छ, पहिले गाविस अध्यक्ष हुँदा पनि उनीले जनताको मन जित्ने गरी काम गर्नुभएको थियो”, थापा मगरले भने, “सबै विदेश जान लालायित भइरहेका बेला उनी बेल्जियको पिआर त्यागी देशको सेवा गर्छु भनेर आउनुभएको छ।”

पचास वर्षीय थापा २६ वर्षको उमेर छँदा विसं २०५४ मा तत्कालीन तङ्ग्राम गाविस अध्यक्षमा निर्वाचित भएका थिए। कम उमेरमा जनप्रतिनिधि हुनेमा उनीको पनि नाम लिइन्छ।

अध्यक्षमा थापाको प्रतिस्पर्धा नेकपा (एमाले)का डिलबहादुर कार्कीसँग हुने भएको छ। २०७४ को चुनावमा काठेखोला एमालेले जितेको थियो। नेपाली कांग्रेसका होमबहादुर हमाललाई पराजित गर्दै एमालेका अम्मरबहादुर थापा अध्यक्ष बनेका थिए।

काठेखोलाको अध्यक्षमा नेपाल दलित पार्टीबाट गङ्गाबहादुर विकले पनि उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा भने चार जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाले लक्ष्मण पुनलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ भने एमालेले कोपिला पुनलाई अघि सारेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved