पुस्तक-विमर्श

‘पुल खस्यो’ : समृद्ध काव्यचेतनासँगै प्रश्नको चाङ

नेपालभ्युज

‘पुल खस्यो’ : समृद्ध काव्यचेतनासँगै प्रश्नको चाङ

सामाजिक, सांस्कृतिक एवं राजनीतिक संचेतनाका कवि हुन्, शार्दूल भट्टराई। नेपाली नाटक, निबन्ध र अनुभूतिका साथै मूल्याधारित पत्रकारितामा समेत दख्खल राख्ने उनका रचनात्मक धरातलमा मूलतः सामाजिक/सांस्कृतिक चेतनाका साथै संघर्षशील मानिसका सामाजिक दायित्व घनीभूत र प्रखर रुपमा आउँछन्।

तीसको दशकदेखि नै साहित्य-लेखनसँग सम्बद्ध उनको पछिल्लो काव्यकृति ‘पुल खस्यो’ मा बितेको चार दशकयता सामाजिक क्षेत्रमा व्याप्त असमानता, विदु्रप राजनीतिका साथै हरेक क्षेत्रमा देखिएका अव्यवस्थाप्रति प्रश्नचिह्न उठाइएका छन्। उनको कविता-संसारमा विचरण गर्दा तात्कालिक सामाजिक, राजनीतिक र सांस्कृतिक परिवेशको सग्लो तस्वीर सामुन्ने आउँछन्।

पचासको दशकका अन्तिम वर्षहरूमा नेपाली राजनीतिको वायुमण्डललाई पूरै तुवाँलोले ढाकेको अवस्था थियो। अस्थिर राजनीतिको फाइदा उठाउँदै तत्कालीन राजा ज्ञानेन्द्रले निरंकुश कदम चाले।

निरीहजस्तै देखिएका संसदीय राजनीतिक शक्तिहरू सडक आन्दोलनमा थिए। विद्रोही नेकपा (माओवादी) ले युद्धलाई झन् तेजिलो र तिख्खर तुल्याउँदै लगिरहेको थियो। एकातिर लादिएको थियो- राजाको निरंकुशतन्त्र र अर्कोतिर युद्धले सिंगो जनजीवनलाई थिल्थिलो तुल्याइएको अवस्था थियो। त्यतिबेलाको भयावह स्थिति उनको कविता ‘जूनसँग सोध’ मा प्रतिविम्बित भएको छ-

‘आकाशमा घाम उदाएको छ
तर धर्तीमा प्रकाश छैन
आकाशमा ताराहरू छन्
तर बस्तीमा कुनै चमक छैन
सबैको ज्योति हराएको छ।’

प्रकृतिमा अनेक जीवन छन्। अनेक जीवन बाँचिरहेका जीवजन्तुमध्ये सबैका फरक-फरक विशेषता पनि छन्। कुनै यस्ता जीवहरू पनि छन्, जसका आयु क्षणिक हुन्छन्। क्षणिक भए पनि आफ्नो सान देखाउन पछि नपर्नेमा पर्दछ- ‘छिचिमिरा’।

छिचिमिरा एउटा यस्तो विम्ब हो, जसलाई हाम्रा सन्दर्भहरूमा पनि उभ्याउन सकिन्छ। राजनीतिमा छिचिमिराहरू हुन्छन्, समाजमा छिचिमिराहरू हुन्छन्, सिर्जनाको क्षेत्रमा पनि जन्मिन्छन्- छिचिमिराहरू। जसलाई केवल क्षणिकतामात्र मन पर्छ, क्षणभरका लागि उद्युम मच्चाउन चाहन्छन्। ‘छिचिमिराहरू’ हरूलाई बुझ्नका लागि एक पंक्ति-

‘सबैलाई थाहा छ
तिनीहरूको आयु कति हुन्छ भनेर
दिनहरू गनिरहनु पर्दैन
छिचिमिराहरूको आयु
सम्भवतः
जन्मिने बित्तिकै मर्नु हो
क्षणिक आयुमा पनि
विविध रुप र रुपावलीमा
छिनछिनमा रुपान्तरित हुने तिनको परम्परा छ।’

कविले पञ्चायतको निरंकुशतन्त्रलाई झेले। पछिल्लो समय २०५९ पछि फेरि निरंकुशतन्त्र झेल्न बाध्य भए उनी। उनी मात्र नभई सबै नेपालीजनले निरंकुशतन्त्रको कहर भोगे, त्यस समय। जनजीवन दोहोरो चेपाइमा परेको बेला थियो त्यो। सहर-बजारतिर निरंकुशतन्त्रलाई दीर्घजीवन दिने संकल्प बोकेका पहरेदारहरूका चेपाइ, ग्रामीण बस्तीहरूमा युद्ध हाँक्नेहरूका चेपाइ। सबैतिर चेपाइले चेपिएको थियो, सिंगो मुलुक नै।

शासकीय सनकीपनामा मुलुक जोतिएको बेला उनले राजनीति-सम्बद्ध केही सिर्जना जन्माए। जसमध्ये ‘बादशाहको खेल’ र ‘शासक’ मा निरंकुश समयका आहट सुन्न सकिन्छ-

‘सुन्दर सिर्जना
सुन्दर सपना
र सुन्दर कल्पना
उसलाई सबैभन्दा कुरुप लाग्छन्।’

नयाँ समाजको सपना देख्नेहरूले परिवर्तनको चाहनालाई कहिल्यै मर्न दिँदैनन्। जतिसुकै अप्ठ्यारा समय आए पनि, जतिसुकै संकटको भुमरी उब्जिए पनि परिवर्तनको बेगमा होमिन छाड्दैनन्। तर परिवर्तनको सुस्पष्ट दिशा देखाउनेहरू भने सक्षम हुनैपर्छ। तिनीहरूले जनविश्वासलाई आत्मसात गर्नैपर्छ। ‘पुल खस्यो’ मा हरेक परिवर्तनपछि जनताले सँगालेका विश्वास, आशा र आस्थाको मुहान सुक्दै गएको अवस्थाप्रति सूक्ष्म तर गहन कटाक्ष व्यक्त भएको छ-

‘उनीहरूको विश्वास थियो
पुलबाट मान्छेहरू खस्ने छैनन्
पुलबाट मान्छेहरू मर्ने छैनन्
पुलको नाममा धराप हैन
साँच्चिकै पुल बन्ने छ
उनीहरूले
पुल बनाउनेलाई विश्वास गरेका थिए
उनीहरूले
पुललाई विश्वास गरेका थिए।’

अर्थ-सम्प्रेषणीयताका हिसाबले उनको अब्बल कविता हो- ‘मौनधारणको बेला’। जसमा अभिव्यक्त छ, प्रचुर व्यंग्यचेत पनि। कुनै कार्यक्रम आयोजना हुँदा देश र जनताका निम्ति रगत बगाउने सहिदहरूप्रति एक मिनेट मौनधारण गर्ने चलन छ। यो राम्रो पक्ष हो।

तर मौनधारणको बेला साँच्चै नै सहिदको त्याग, तपस्या र बलिदानलाई अन्तरहृदयदेखि नै सम्झिनेहरू कति हुन्छन् होला ? यसैप्रति तिखो कटाक्ष छ, कवितामा।

२०४८ सालको आमनिर्वाचनपछि सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र अरू वाम दलबीच सिधा टक्कर पर्‍यो। मूलतः टनकपुर सन्धिपश्चात् सत्तारुढ शक्ति र विपक्षीहरूबीचको तनावले भर्खर पुनर्बहाली भएको प्रजातन्त्रमाथि नै प्रश्नचिह्नसमेत उठाइन थालियो। देशमा प्रजातन्त्र अफाफसिद्ध हुने हो कि भन्ने आशंका उब्जिएको अवस्था रह्यो। तिनै त्रासदीका दिनहरूमा निहत्था मानिसको हत्या हुन थालेपछि तत्कालीन गृहमन्त्रीले भनेका थिए, ‘गोलीको आँखा हुँदैन।’ उनको कविता ‘गोलीको आँखा’ ले तत्कालीन शासन व्यवस्थाको चरित्र उद्घाटन गर्दछ-

‘तपाईं सडकमा नहिँड्नोस्
घरका झ्यालढोका पनि नखोल्नोस्
प्रजातन्त्रको रक्षाका लागि
गोली जहिले पनि चल्नसक्छ
गोली जता पनि छिर्नसक्छ।’

२०४६ सालको जनआन्दोलनको पूर्वसन्ध्यामा उनले लेखे- ‘इन्द्रेणी’। इन्द्रेणी अर्थात् रङहरूको सुन्दर संयोजन। आकाश र धर्तीलाई जोड्ने सुन्दर प्राकृतिक दृश्य। तर त्यतिबेलाको इन्द्रेणीमा प्रचुर रुपमा रातो रङ देख्छन् उनी। त्यो रातो रङ परिवर्तनको पूर्वसूचक थियो, थियो- संकेतार्थ पनि।

जनआन्दोलनको समापनपश्चात् पनि उनले लेखे, अर्को कविता- ‘नाम’। जतिबेला परिवर्तनको खुसीयालीमा रमाउने र परिवर्तनलाई नस्वीकार्ने दुवै शक्तिले नयाँ राजनीतिक परिवर्तनलाई जनताको विजयको रुपमा अथ्र्याए। अलमलमा परेका जनपंक्तितिर संकेत गर्दै उनले तत्कालीन समयमै प्रश्न उठाएका थिए,

‘विजेताहरूको जीत नभएको
पराजितहरूको हार पनि नभएको
एउटा क्रान्ति सकियो
कसैले पनि नहारेको
र कसैले पनि नजितेको
त्यो क्रान्तिको नाम के होला ?’

आधुनिक नेपाली कविताको जग राख्ने स्रष्टा थिए- गोपालप्रसाद रिमाल। तत्कालीन राज्यव्यवस्थाको सड्दो रुप देखेर विक्षिप्त र विचलित भए उनी। तिनै महान् स्रष्टाले ‘बौलाहा’ को उपाधि पाए र दुःखद मृत्युवरण गर्नुपर्‍यो। रिमालको स्मृतिमा उनले २०४३ सालमै लेखे- ‘उनको सपना’। र, लेखे यी काव्यहरफ-

‘उनको सपना थियो
त्यो उहिल्यै आउँछ भन्ने
सपना सपना नै रह्यो
त्यो आउनुपर्ने पनि आएन
कुनै मीठो गीतले
हामीलाई आफ्नो बाँसुरी पनि बनाएन।’

रिमालको निधनमा दुःखित उनले अर्को दुःखद अनुभव बटुले, कवि/पत्रकार/अन्तराष्ट्रिय मामिलासम्बन्धी वजनदार रचना सिर्जना गर्ने अग्निशिखाको असामयिक निधनमा। २०६५ सालमा बितेका अग्निशिखालाई समर्पण गर्दै लेखे, ‘उनी’। लेख्न त उनले केवलपुरे किसानको दुःखद अवसानमा पनि लेखे, कविता। ‘उनी’ भित्र अग्निशिखालाई यसरी स्मरण गर्छन्-

‘यो बेला उनी छैनन्
त्यसैले
एल्तसिनलाई गाली गर्नेहरू पनि छैनन्
यो बेला उनी छैनन्
त्यसैले चे ग्वे भाराको प्रशंसा गर्नेहरू पनि छैनन्।’

पञ्चायतको जगजगी चम्केको बेलाका केही काव्यसिर्जना पनि समेटिएका छन्, यो काव्यकृतिमा। २०३७ सालको जनमतसंग्रहपछि निर्दलले जित्यो। बहुदल र निर्दलबीच धेरै मतान्तर रहेन। त्यसपछिका दिनमा पञ्चायती व्यवस्थाले जनआवाजलाई सुन्नेछ भन्ने अपेक्षा सँगालिएको थियो। तर झनै अनुदार भएर निस्कियो पञ्चायत। तिनै दिनहरूमा उनले लेखे- ‘चील’। तत्कालीन समयको शासन व्यवस्थाको विषमतालाई टिपोट गर्ने क्रममा उनी लेख्छन्,

‘पहिलेको
निख्खर कालो र कुरुप चील
रङ बदलेर
फेरि पनि
उही गाउँमा पसेको छ
उही बस्तीमाथि नाचिरहेको छ।’

कविको प्रमुख स्वर र दृष्टि राजनीतिक क्षेत्रका व्याप्त विसंगत पक्ष र पात्रहरूप्रति एकोहोरिएका देखिन्छन्। त्यसमा पनि उनी शासकहरूका शैलीप्रति अधिक नै आलोचनात्मक देखिन्छन्। ‘मुकुटधारी’ र ‘जो सत्तामा छ’ ले शासकीय चरित्रको पर्दालाई उदांगो तुल्याएका छन्। लेख्छन् उनी,

‘उसको टाउकोमा मुकुट थियो
त्यसैले
उसलाई लागेको थियो
ऊ नै वास्तविक ईश्वर हो
अरू सबै
उसको चरणकमलका पुजारी हुन्।’

करिब चार दशकयताका अवधिमा सिर्जित काव्यहरू संग्रहित यो कृतिमा बितेको अवधिका राजनीतिक, सामाजिक जीवनका आरोह-अवरोहहरूलाई छेउमै उभिएर नियाल्न सकिन्छन्। २०३६ सालमा लेखिएको ‘इतिहासलाई पढिरहँदा’ होस् वा पछिल्लो समय लेखिएको ‘नीलकण्ठको तस्वीर’ होस्, एउटै गति र प्रवाहमा उनले सिर्जन धरातल नापेका छन्।

समसामयिक यथार्थलाई सूक्ष्म रुपले टिप्ने शक्ति, सामथ्र्य र शिल्पगत बेजोडपना देखिन्छन्, कवि भट्टराईका सिर्जनामा। उनका रचनामा कतै काव्यात्मक आक्रोश र आलोचनात्मक दृष्टि देखिन्छन् भने कतै उच्च तहको व्यंग्यचेत पनि। सामाजिक एवं राजनीतिक जीवनमा व्याप्त आडम्बर, ढोंग, पाखण्ड र गतिरुद्धताका विपक्षमा सिर्जनात्मक हस्तक्षेपसहित उभिएका पाइन्छन् उनलाई।

अतः समृद्ध काव्यचेतनाले परिपूर्ण उनका कवितामा यथार्थको क्रुर स्वरुपसँग प्रत्याक्षानुभूतिसमेत गर्न सकिन्छ सहजै। यो नै उनको कविता लेखनको आन्तरिक सामर्थ्यो हो।

कृति : पुल खस्यो
विधा : कविता
कवि : शार्दूल भट्टराई

प्रकाशक : भृकुटी एकेडेमिक पब्लिकेशन्स
पृष्ठ : १२०
मूल्य : २९५।-
-विवश वस्ती


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved