बुटवल। लुम्बिनी प्रदेशमा पाँचदलीय गठबन्धनले ६ वैशाखभित्र स्थानीय चुनावका लागि उम्मेदवार भागबण्डाको टुंगो लगाउने भएको छ।
आज बुटवलमा बसेको प्रदेशस्तरीय गठबन्धनको बैठकले प्रदेशका १०९ वटै स्थानीय तहमा भागबण्डाको टुंगो लगाउन लागि जिल्लाहरूलाई निर्देशन दिएको हो।
बैठकले ४ गतेभित्र जिल्लाहरूले सहमतिमा भागबण्डाको टुंगो लगाएर प्रदेशमा जानकारी दिने निर्णय गरेको छ। कुन दललाई कुन पालिका दिने भन्ने जिल्लामा सहमति गराउने र ६ वैशाखभित्र भागबण्डा सकिने नेताहरूले जानकारी दिएका छन्।
सहमति हुन नसके र नमिलेका विषयसमेत उल्लेख गरी प्रदेशलाई जानकारी गराउन जिल्लालाई निर्देशन दिइएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले जानकारी दिए।बैठकले केन्द्रीय निर्देशनअनुसार सबै जिल्लाहरूमा नेपाली कांग्रेसको समन्वय गर्नुपर्ने र संयन्त्रको बैठकमा पाँचदलीय गठबन्धनलाई उपस्थिति गराउनुपर्ने निर्णय गरेको छ।
बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति अमर सिंह पुन, माओवादी केन्द्रका प्रदेश अध्यक्ष बराल, नेकपा एकीकृत समाजवादी प्रदेश अध्यक्ष मेटमणि चौधरी, जसपा प्रदेश अध्यक्ष अशोक कुमार यादव, राष्ट्रिय जनमोर्चाका बद्रे आलमको उपस्थिति थियो।
कांग्रेसले लुम्बिनीका ८० स्थानीय तह प्रमुखमा दाबी गरेको छ।
यस्तै नेकपा माओवादी केन्द्रले २०७४ मा जितेका १९ स्थानीय तहसहित दोश्रो स्थानमा रहेका स्थानीय तहमा प्रमुख पद दाबी गर्दै आएको छ। नेकपा एकीकृत समाजवादीले २२ वटा स्थानीयत हको प्रमुख पदमा दाबी गरिरहेको छ।
यस्तै जसपा र जनमोर्चाले पहिले जितेका स्थानीय तह र दोश्रो भएका स्थानीय तहमा आफ्नो दाबी गरेको छ।
Facebook Comment
Comment