विराटनगर। नेकपा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले आउँदो स्थानीय तहको निर्वाचनमा माओवादी र एकीकृत समाजवादीसँग एमालेले तालमेल नगर्ने बताएका छन्। तर तीबाहेकका दलसँग तालमेलको सम्भावना रहेको उनले बताए।
विराटनगरमा शुक्रबार आयोजित पत्रकारसँग भेटघाट कार्यक्रममा प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका नेता कार्कीले निर्वाचनमा माओवादी र नेकपा एसबाहेकसँग तालमेलको सम्भावना रहेको बताए।
‘‘प्रचण्ड, माधव कुमार नेपाल र अध्यक्ष ओलीबिचको चिसोपनाका कारण हाल माओवादी र एकीकृत समाजवादीसँग कुनै तालमेलको सम्भावना छैन,’’ उनले भने, ‘‘तर, निर्वाचन नजिकिँदै गएकाले अन्य दलहरुसँग भने तालमेल हुनसक्छ।’’
नेता कार्कीले ९ वैशाखसम्म सबै पालिकामा एमालेका मेयर र उपमेयरका उम्मेदवारको नाम सिफारिस भइसक्ने बताए।
फरक प्रसङ्गमा बोल्दै नेता कार्कीले मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको प्रदेश सरकारले प्रादेशिक संरचनाप्रति वितृष्णा बढाएको आरोप लगाए। प्रदेशको नामकरणमा अहिलेको सरकार गम्भीर नरहेको उनको गुनासो थियो।
उनले भने, ‘‘सरकारले ठोस नाम प्रस्ताव गर्न सकेको छैन, यदि सरकार तयार भए आगामी मंसिरसम्म प्रदेशको नामाकरण हुन्छ। एमाले त्यसका लागि तयार छ।’’
Facebook Comment
Comment