एमसीसीका पक्षधरलाई गाउँगाउँबाट लखेट्ने विप्लवको चेतावनी

नेपालभ्युज

एमसीसीका पक्षधरलाई गाउँगाउँबाट लखेट्ने विप्लवको चेतावनी
फाइल तस्वीर

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा महासचिव चन्दले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरूको बीचमा ध्रुवीकरण भइरहेको उल्लेख गर्दै आफूहरू प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउन गाउँमा पुग्नुपर्ने बताए।

एमसीसीको पक्षधरहरूलाई दलाल पुँजीपति वर्गको संज्ञा दिँदै उनीहरूरुद्धको लडाइँलाई गाउँसम्म पुर्‍याउनुपर्ने चेतावनी दिए।

“आज नेपालमा एउटा लडाइँ चलिरहेको छ। एउटा ध्रुवीकरण चलिरहेको छ। राष्ट्रघात गर्ने मान्छेहरू अनेक किसिमको खेल लिएर आएका छन् र अहिले चुनावको एउटा हतियार चलिरहेको छ। प्रयोग भइरहेको छ। नेपाल ध्रुवीकरण हुँदैछ। देशभक्त र देशघातीहरूबीचमा। राष्ट्रवादी र राष्ट्रघातीहरूको बीचमा। दलाल र स्वाभिमानी नागरिकको बिचमा एउटा ध्रुवीकरण हुँदैछ। यो प्रक्रियालाई हामीले तीव्रता दिनुपर्छ,” उनले भने।

उनले एमसीसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानूनी मान्यताले लागु गर्न नसकिने बताए। कसैको आत्मसर्मपणले नेपालमा एमसीसी लागु हुन नसक्ने उनले दाबी गरे।

महासचिव चन्दले एमसीसीविरुद्ध नयाँ मोर्चा खोल्नुपर्ने र यसलाई कुनै पनि मूल्यमा रोक्नुपर्ने बताए। उनले भने, “एमसीसीलाई कुनै कानूनी मान्यताले लागु गर्न सकिँदैन। कुनै संसदको स्वीकृतिले एमसीसीलाई लागु गर्न सकिँदैन। कुनै दलालहरूको आत्मसर्मपण र लाहा छापले नेपालमा एमसीसी लागु हुन सक्दैन। एमसीसीविरुद्ध नयाँ मोर्चा खोल्नुपर्छ। कुनै पनि मूल्यमा त्यसलाई रोक्नुपर्छ र नेपालबाट साम्राज्यवादको अतिक्रमणलाई रोक्नुपर्छ।”

उनले नेपालको संसद र संसदवादी दलहरू नेपाली स्वाधीनता जोगाउन असफल भएको बताए। नेपाली जनताका आकांक्षाहरू पूरा गर्ने जिम्मा कम्युनिष्ट, क्रान्तिकारीहरूको काँधमा आएको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved