कांग्रेस, माओवादी र एमालेलाई सत्तामा पुर्‍याउनु देश बर्बाद गराउनु होः अध्यक्ष लिङ्देन

नेपालभ्युज

कांग्रेस, माओवादी र एमालेलाई सत्तामा पुर्‍याउनु देश बर्बाद गराउनु होः अध्यक्ष लिङ्देन

कपिलवस्तु। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु पश्चाताप गर्नुशिवाय केही नहुने बताएका छन्।

अध्यक्ष लिङ्देनले यस्ता राजनीतिक दललाई चुनावमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गरे। कपिलवस्तुको बाणगंगास्थित बुद्ध रंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो दाबी गरेका हुन्।

कांग्रेस, एमाले र माओवादीले पटकपटक देश विकासको नेतृत्व गर्ने अवसर पाएको तर उक्त अवसरलाई उनीहरूले सदुपयोग गर्न नसकेको उनको भनाइ छ। देशका प्रमुख राजनीतिक दललाई अध्यक्ष लिङ्देनले देश र जनताले महसुस हुने गरी गरेको काम देखाउन चुनौतीसमेत दिए।

अध्यक्ष लिङ्देनले यस्ता राजनीतिक दललाई फेरि पनि सत्तामा पुर्‍याउनु देशलाई थप बर्बादीको दिशातर्फ धकेल्ने काम हुने बताए। स्थानीय तहको निर्वाचन नजिकिएको गर्दा उनले राप्रपाका उम्मेद्वारलाई जिताउन अपिलसमेत गरे।

राप्रपामा प्रवेश गर्नेहरूलाई स्वागत गर्दै अध्यक्ष लिङ्देनले जनताका लागि अहित हुने कुनै पनि काम नगर्ने बताउँदै राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिबद्धता व्यक्त गरे।

एमसीसीतर्फ इंगित गर्दै अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दलका नेतृत्वको केटाकेटीपनले अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वासनियता गुमेको बताए। देशमा विदेशी शक्ति राष्ट्रहरू रणनीतिक रूपमा प्रतिस्पर्धा गरिरहेको बताए।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक हजार जना बढी राप्रपामा प्रवेश गरेका छन्।

कार्यक्रममा अध्यक्ष लिङ्देनसहित, महामन्त्री एवम् नेपालगञ्ज उप-महानगरपालिका मेयर डा धवल शम्शेर राणा, वरिष्ठ नेता दिपक बोहोरा, पूर्वआईजीपी तथा पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयसहित नेताले सम्बोधन गरेका राप्रपाका केन्द्रीय सदस्य ध्रुव रायमाझीले जानकारी दिए। केन्द्रीय सदस्य रायमाझीले अब कपिलवस्तुमा राप्रपा थप बजबुत बनेको दाबी गरे।

अध्यक्ष लिङ्देन स्थानीय तहको निर्वाचनको तयारीस्वरूप पार्टीको विभिन्न जिल्ला समितिले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न अधिकांश समय राजधानीबाहिर पुगेका छन्। लिङ्देनले बिहीबार तनहुँको दमौलीमा आयोजित आमसभालाई सम्बोधन गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved