चौधरी फाउण्डेसद्वारा गिरानचौरको एकीकृत नमूना बस्ती हस्तान्तरण

नेपालभ्युज

चौधरी फाउण्डेसद्वारा गिरानचौरको एकीकृत नमूना बस्ती हस्तान्तरण

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य एवं चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १२ गिरानचौरमा निर्माण भएको श्री नम्डोललिङ एकीकृत बस्तीको उद्घाटन गरेका छन्।

गिरानचौरमा आयोजित एक कार्यक्रमकाबीच प्रतिनिधिसभाका सदस्यसमेत रहेका फाउण्डेसका अध्यक्ष चौधरीले उक्त एकीकृत बस्तीको उद्घाटन गरी निर्माण भएका ६२ घरहरू स्थानीय नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिमा आबद्धभएका परिवारलाई हस्तान्तरण गरेका हुन्।

नमुना एकीकृत बस्ती निर्माणको योजना बनाएको चौधरी फाउण्डेशनसँग २०७२ सालको भूकम्पले घर भत्काएपछि कष्टकर जीवन बाचिरहेका गिरानचौरबासीले सहयोग मागेपछि चौधरी फाउण्डेशनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको सहकार्यमा उक्त एकीकृत बस्ती निर्माण गरेको हो। श्री नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समिति मातहातका परिवारले श्रमदान र स्थानीयस्तरमा उपलब्ध निर्माण सामाग्रीको संकलनमा सहयोग गरेका थिए।

नम्डोललिङ एकीकृत बस्तीको उद्घाटन र स्थानीयलाई घर हस्तान्तरणपछि बोल्दै फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले चौधरी फाउण्डेशनले एकीकृत बस्तीको अवधारणा कार्यान्वयनमा ल्याएकोमा खुशी व्यक्त गरे।

उनले भूकम्प पीडितलाई सुन्दर बस्ती उपहार दिन पाउदा सन्तोष लागेको बताउँदै भविष्यमा पनि यस कार्यक्रमलाई सिमान्तकृत वर्गमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। “हामीले भवन हस्तान्तरण गर्दैमा मात्र आफ्नो जिम्मेवारी सकिएको ठान्दैनौं, यहाँका बासिन्दाहरूको जीवनयापनलाई सहज बनाउन पनि लागिपरेका छौं”, फाउण्डेशनका अध्यक्ष चौधरीले भने, “एकीकृत बस्तीका बासिन्दालाई आर्थिक रूपले सम्पन्न बनाउने योजना पनि बनाएका छौं।”

उनका अनुसार चौधरी फाउण्डेशनले स्थानीयबासीलाई सीएसईबी प्रविधिअनुसारका इँटा उत्पादन गर्ने सीप, डकर्मी, काठको काम, भवन निर्माणमा आवश्यक अन्य सीपहरू सिकाएर घर प्राप्तिपछि पनि आफ्नो जीविकोपार्जनका लागि रोजगार हुन सक्ने बनाएको छ।

फाउण्डेशनका अध्यक्ष चौधरीले इँटा उत्पादन गर्ने मेसिन नम्डोललिङ एकीकृत बस्तीको स्वामित्वमा रहनेगरी हस्तान्तरण गरेका छन्। मेसिन र तालिममा सिकेको सीपको व्यवसायिक प्रयोग गरी बस्तीका बासिन्दाले आर्थिक आयआर्जन गर्न सक्ने फाउण्डेशनका उपाध्यक्ष निर्वाण चौधरीले विश्वास व्यक्त गरे।

हस्तान्तरण गरिएको एकीकृत बस्तीमा निर्माण गरिएका घरमा तीन कोठा, शौचालय र करेसाबारी रहेको छ। घर निर्माणमा प्रयोग भएका करीब २ लाख इँटा गाउँमै तयार गरिएको हो। यसका लागि आवश्यक उपकरण, तालिम र अन्य सामाग्री चौधरी फाउण्डेशनले प्रदान गरेको थियो।

घरका जग पछि आवश्यकताअनुसार दुई तलासम्म थप्न मिल्ने गरि बलियो बनाइएको छ। यसको अलावा फाउण्डेशनले बस्ती नजिकको महाकाली माध्यमिक विद्यालयमा डिजिटल क्लासरुम स्थापना गरेको छ भने स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि आवश्यक सामग्री र उपकरणहरू उपलब्ध गराउने घोषणा पनि गरेको छ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङले नम्डोललिङ एकीकृत बस्ती आफ्नो जिल्लाकै गहनाको रुपमा रहने बताउँदै यसको निर्माण र स्थानीयवासीको जीवनस्तर उकास्न सहयोग गरेकोमा चौधरी फाउण्डेशन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई धन्यवाद ज्ञापन गरे।

उनले आगामी दिनमा थप सहयोगको अपेक्षा गरेको पनि बताए। नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कर्माश्री लामाले नयाँ प्रविधिमा बनेका चिटिक्कका घरमा बस्न पाउदा आफ्नो वर्षैको सपना पूरा भएको बताए।

उनले बस्तीका चारसय जना निकै उत्साही भएको बताए। “मैले आफ्नो जीवनकालमा यति राम्रो घरमा बस्न पाउला भन्ने सचेको पनि थिइनँ’, स्थानीय ७६ वर्षे सिन्गी लामाले भने,”चौधरी फाउण्डेशनले आफुलाई जीउदै स्वर्गको अनुभूति दिलाएको छ।”

रंगरोगनमा महिला

चौधरी फाउण्डेशनका उपाध्यक्ष निर्वाण चौधरीको पहलमा विश्वविख्यात ट्यूनेसियाका पेन्टर तथा मुर्तिकार एल सिडले गिरानचौर आएर स्थानीय महिलाहरूलाई रंगरोगन कला पनि सिकाएका थिए।

बस्तीमा निर्माण भएका घरहरूको रंगरोगन एलबाट प्रशिक्षित स्थानीय महिलाहरूले गरेका थिए। उनी आफैले पनि योगमायाको कवितालाई अरबी भाषामा अनुवाद गरेर एकीकृत बस्तीमा “मिउरल आर्ट’ बनाएका थिए जसलाई पछि दुबई एक्पोमा प्रदर्शनीमा राखीएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved