भाग्दाभाग्दै समातिए बालिका अपहरणकारी, पाँच राउण्ड हवाई फायर

नेपालभ्युज

भाग्दाभाग्दै समातिए बालिका अपहरणकारी, पाँच राउण्ड हवाई फायर

जनकपुरधाम। जनकपुरधामबाट अपहरणमा परेकी एक बालिकाको धनुषा प्रहरीले सकुशल उद्धार गर्न सफल भएको छ।

बिहीबार साँझ जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचौकबाट ध्रुव मण्डलकी चार वर्षीया छोरी अपहरणमा परेकी थिइन्। अपहरणमा परेकी बालिकाको २४ घण्टा भित्रै उद्धार गरिएको धनुषा प्रहरीका प्रमुख एसपी वसन्त रजौरेले जानकारी दिए।

उनका अनुसार बालिकालाई धनुषाको विदेह नगरपालिका वडा नं. ८ बाट उद्धार गरिएको छ। अपहरण गर्ने व्यक्तिमध्येका एकजनाले आफ्नो दिदीको घरमा बालिकालाई लुकाएर राखेको अवस्थामा उद्धार गरिएको एसपी बस्नेतले बताए।

शुक्रबार साँझ विदेह नगरपालिका ८ बफैयबाट बालिकाको उद्धार गरी घटनामा संलग्नको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ समेत गरेको छ। अपहरणमा संलग्न रहेको आरोपमा कमला नगरपालिका ८ का गंगाप्रसाद दासका छोरा अभिषेक दासले सहित पाँच जना पक्राउ परेको एसपी बस्नेतले बताए।

एसपी बस्नेतले अपहरणकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ५ राउण्ड हवाई फायर गर्नुपरेको थियो। उनले भने, “अपहरणकारी भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको हो।”

बालिकाको खोजी गर्न धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेकै नेतृत्वमा टोली खटिएको थियो। “हामी बालिकाको उद्धार गरिसकेका छौं, बालिका पूर्ण रुपमा स्वस्थ्य छन्”, उनले भने, “प्रकृया पुर्‍याएर परिवारको जिम्मा लगाएका छौं।”

बालिकाको बुवा जनकपुर पुलचोकमा डेरा गरी बस्दै आएका छन्। सोही घरमा डेरा गरी बस्दै गरेका अभिषेक दासले बालिका विद्यालयबाट आएपछि अपहरण गरी लगेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।बालिका अपहरण गरेर अपहरणकारीले १५ लाख रुपैयाँ फिरौती माग गरेको पाइएको बस्नेतले बताए। यस विषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved