‘चुच्चे नक्साको भूभाग फिर्ता ल्याउन सरकारले के गरिरहेको छ?’

नेपालभ्युज

‘चुच्चे नक्साको भूभाग फिर्ता ल्याउन सरकारले के गरिरहेको छ?’
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका सांसद् भीम रावलले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता ल्याउन सरकारले गरेका प्रयासबारे जानकारी माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गर्दै ‘वेल’ घेराउ गरेका थिए। उक्त अवरोधको अवज्ञा गर्दै सांसद रावलले  नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटासँग बोल्ने समय माग गरेका थिए। उनले एमालेको सरकारले जारी गरेको चुच्चे नक्साको विषयमा जानकारी गराउनुपर्ने माग गरेका थिए।

साथै उनले भारतीय पक्षबाट नेपालको पश्चिम सीमानामा एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेको उल्लेख गर्दै त्यसबारेमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।

‘‘महाकाली पारी नेपाली भूमिलाई समस्यामा पार्नेगरी भारतले डोजर लगाएको छ। यसमा गृहमन्त्री र परराष्ट्रमन्त्रीले संसदमाफर्त जनतालाई जानकारी गराउनुपर्यो। राष्ट्रियताको विषयमा सरकार गम्भीर हुन नसक्दा हामीलाई हाम्रो सरकारप्रति लज्जाबोध भइरहेको छ’’, रावलले भने। उनले एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानहरू संशोधन नगरि पारित गरिएको भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमाथि प्रश्न उठेको आरोप समेत लगाए। उनले आफूले उठान गरेका विषयहरूमा संसदमा आएर जवाफ दिन सरकारलाई निर्देशन दिन मागसमेत गरेका छन्।

सांसद रावलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका केही असन्तुष्टी सम्बोधन हुनुपर्ने धारणा व्यक्त गर्दै अनुमोदनपछि एमसिसी कार्यान्वयनको अवस्थाबारे जनताले जानकारी पाउनुपर्ने बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved