मुजेलियामा बन्यो शहीदद्वार, मधेश आन्दोलनमा सहादत पाएका तीन जनाको शालिक

नेपालभ्युज

मुजेलियामा बन्यो शहीदद्वार, मधेश आन्दोलनमा सहादत पाएका तीन जनाको शालिक

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले मुजेलियामा जनकपुर ढल्केवर ६ लेन सडक आयोजनाअन्तर्गत निर्माण गरिएको शहीदद्वारको शुक्रबार साँझ उद्घाटन गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिकाको करिब साढे चार करोडको लागतमा शहीदद्वारको निर्माण सम्पन्न भएको जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए।

शहीदद्वारको निर्माण धनुषाकारको रहेको छ। धनुषाकारको उक्त शहीदद्वारको माथिल्लो भागमा भगवान् श्रीरामले धनुषमा प्रत्यञ्चा चढाएको आकर्षक मूर्ति राखिएको छ भने मधेश आन्दोलनका क्रममा सहादत पाएका तीन जना नीतु यादव, सञ्जय चौधरी र दिलीप यादवको अर्ध कदको शालिक राखिएको छ।

मधेश आन्दोलनका क्रममा जनकपुरधाममा सहादत पाएका तीनै जनाको सामूहिक दाहसंस्कार सोही ठाउँमा गरिएको थियो।

यसै गरी मधेश आन्दोलनका क्रममा सहादत दिएका सबै मधेशी शहीदको नाउँ शिलापत्रमा राखिएको छ। मधेश आन्दोलन क्रममा मेचीदेखि महाकालीसम्मका मधेश आन्दोलनका एक सय १६ जना शहीदहरूको नामप्लेट राखिएको छ।

निक्कै भव्य र आकर्षक स्वरुपमा निर्माण शहीदद्वारको निर्माण भएको छ। जनकपुरधामको गरिमालाई झल्काउने किसिमले धनुष आकारको शालीक रहेको छ।

शहीदद्वारको निर्माण भएको अवसर पारेर सो ठाउँमा शुक्रबार साँझ धार्मिक अनुष्ठानको आयोजनासमेत गरिएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहले सहीदको सपना साकार हुने विश्वास व्यक्त गरे।

मेयर साहले भने, “शहीदको सहादतको बलमा म मेयर भएँ, भोज भतेर र अनावश्यक खर्च न गर्छु, न गर्न दिन्छु।”

साहले आफू निर्वाचित भएर आएपछि पहिलो बैठकवाट नगरपालिकाको नामको आगाडिमा धाम थप्ने र शहीद गेट निर्माण गर्ने निर्णय गरेको र त्यो साकार भएको बताए।

मधेश आन्दोलन क्रममा सहादत प्राप्त गरेकाहरूको गुण भुल्न नसक्ने बताउँदै मेयर साहले अधिकार, पहिचान र सम्मानकालागि आफ् ना जिवन उत्सर्ग गरेकाहरूको ऋण चुक्ता गर्न नसक्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved