स्थानविशेष कविता

हुम्ला: दुई कविता

कुनै पनि हुम्लीलाई
जति धेरै बाँच्यो उति धेरै कष्ट
हुम्लाको हरेक रात-विषको अन्तिम थोपा निलिरहेको सुकरात

नेपालभ्युज

हुम्ला: दुई कविता
हुम्ला (फाइल फोटो)

रातको हुम्ला

–श्यामल

रातको हुम्ला बास बस्छ
महिनौंदेखि नधोइएको काम्लोभित्र पसेर
आफ्नै सासको तीखो दुर्गन्ध
भालुको पित्तभन्दा तीतो
र त्यसभन्दा तीतो
अजंगका पहाडहरूले सगरतिरबाट हेर्नु
भोका अजिंगरझैँ लठारिएर
यताबाट चुवा
र उताबाट कर्णालीले
कतैबाट फुत्कन नपाउने गरी
मानिसहरूलाई घेर्नु,
हुम्लाको हरेक रात
विषको अन्तिम थोपा पिइरहेको सुकरात ।

प्लेनबाट सिम्कोट ओर्लेको
सरकारी जातको भेडोलाई
रुघा लाग्छ एकछिनमै,
एअरपोर्टको डिलबाट
सानले हेर्छ ऊ अरू रैथाने भेडाहरूतिर,
सिडिओ अफिसको कौसीमा
जाडोले कामिरहेको राष्ट्रिय ध्वज
कक्रेर निदाउँछ रातभरि
हरेक कर्मचारी जब हुम्ला आइपुग्छन्
आफूलाई सम्झन्छन् कोलम्बस
उनीहरू खान्छन्, प्लेनबाट आइपुगेको रासन
र हुम्लीलाई खुवाउँछन्
प्लेनबाटै ल्याएको सुशासनको भाषण
कुनै पनि हुम्लीलाई
जति धेरै बाँच्यो
उति धेरै कष्ट
हुम्लाको हरेक रात
विषको अन्तिम थोपा निलिरहेको सुकरात ।

यस चिसो स्वर्गमा हेर/अति सुन्दर छ
धनसराको घाँघरको लय
कि भयानक अँध्यारोमा पनि
आफ्नै सुर र तालमा लम्किरहन्छ निर्भय
जीवन अनेकौं निर्णयको जाल हो भने
त्यसको पनि जन्जाल हो
उसको घाँटीमा झुन्ड्याइएको कम्पनी माला,
हुम्ला आफूले पिएर विषको घैंटो
वा पिउन नपाएर त्यही विष पनि
बख्खुबाट निकालेर दरबार पठाउँछ मृतसञ्जीवनी
हुम्लाको हरेक रात
अन्तिम सासको निष्कासन पर्खिरहेको
अभियुक्त सुकरात ।

केटाकेटीका नाकबाट बगिरहेका
हिमनदीहरूले छेकेको बाटोमा उभिएर हेर तिमी
यो बाँकी नेपालसँग नजोडिएको नेपाल हो
नेपाल हो भने
माकुराको धागोले नेपालसँग जोडेको अर्कै नेपाल हो
तैपनि बुझ्दो रहेछ यसले छक्कबहादुरको अंग्रेजी
र हाँसेरै उत्तर दिँदो रहेछ
जीवनले सोधेका प्रश्नहरूको
हुम्लाको रात जब पाखीसँगै तात्तिन थाल्छ
तब यो चिसो सिरेटो पनि आत्तिन थाल्छ
हुम्लाको हरेक रात
आगतका लागि वर्तमान मारिरहेको सुकरात ।

 

हुम्ला

 –दामोदर पुडासैनी ‘किशोर’

जब–जब ढाकिन थाल्छन्
हिउँका भुवाहरूले पहाड
तब–तब जल्न थाल्छ मन
डढेलोले खाएका
धूपीका पोथ्राहरूझैँ

हिउँ भनेको
आगो नै त रहेछ
ठिक्क–ठिक्क भयो भने
ब्युँझन्छन् सुशुप्तहरू
फैलन्छन् आँकुराहरू
र, आमन्त्रण हुन्छ प्रणय एक आपसमा

हिउँसँग खेल्नु
आगोसँग खेल्नुजस्तै हो
अलि बढी हिउँले
कुपुकुपु चपाउन थाल्छ पात र मुहुना
डढेलो सखाप पार्छ पहाडको सुन्दर कलेवर
सिनित्त बढार्छ मान्छेको पदचाप
र, खरानीको थुप्रो बन्न थाल्छन् बस्तीहरू
डढेलो निभेपछि झैँ
हिउँ बिलाएपछि मात्र
बिग्रन थाल्छन् एकाएक
नयाँ र सुकिला मनहरू

श्वेतअग्नि हो हिउँ
जब–जब बर्सिन थाल्छ लहरहरूमा
तब–तब पोल्न थाल्छ मन
जलेर खरानी हुन थाल्छन्
अनाजका बुकुराहरू
जल्न थाल्छन् खर्क र चरन
डढेर चौखुरिन्छन् पदचाप
विना आवाज, विना गति
एकोहोरो चलिरहन्छ धूवाँको मुस्लोजस्तो
आगोले भन्दा बढी टोक्ने र कोपर्ने
हिउँको तम्तम्याइलो सिरेटो

हिउँको असाध्यै डाहले पोलेपछि
आगोबाट शितल स्थान गर्न
जोरजाम गर्दै झिँजामिजा
तिनै झिँजामिजाहरू प्नि
डढाइदिन्छन् कुन सडको
हिउँका डरलाग्दा लप्काहरूले

हिमालको चिसो भनेको
हो पो रहेछ
आगोका सेता फिलिंगाहरू ।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved