धनुषा । सिराहामा कांग्रेसको संस्थापन इतर समूहले समानान्तर समिति घोषणा गरेको छ। संस्थापन इतरबाट सभापतिका प्रत्यासी रहेका रामसुन्दर चौधरीको समूहले गत सोमबार भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै समानान्तर समितिको घोषणा गरेको छ।
सोमबार भएको निर्वाचनमा एक हजार ४ सय २६ मत ल्याएर रामचन्द्र यादव विजयी भएका थिए। त्यस्तै, चौधरीले ८ सय ८७ मत प्राप्त गरेका थिए।
तर चौधरी पक्षले निर्वाचन परिणाम अस्वीकार गर्दै सदरमुकाम सिरहा स्थित जिल्ला समन्वय समितिको सभाहलमा आज भेला बोलाएर चौधरी नेतृत्वको प्यानललाई नै कार्यसमितिमा रुपान्तरण गरिएको घोषणा गरेका छन्।
उनीहरुले निर्वाचनमा धाँधली भएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा समूहका रामचन्द्र यादव नेतृत्वको कार्यसमितिलाई नमान्ने निर्णय गरे।
समानान्तार समिति गठन गरेका चौधरीले जिल्लाका पार्टीका सबै गतिविधि समेत समानान्तर रुपमा सञ्चालन गर्ने बताएका छन्। उनले नयाँ निर्वाचन सदरमुकाममा गरिनुपर्ने माग समेत गरेका छन्।
विवाद कै बीच दुई सयभन्दा बढी मतपत्र च्यातिएपछि चौधरी पक्षले मतदान रोक्न निर्वाचन अधिकृत लामालाई दबाब दिएका थिए । तर मतदान रोकिएन । त्यसपछि भएको झडपमा कांग्रेस लहान नगर सभापति रासलाल राय घाइते भएका थिए। पछि पुनःनिर्वाचनको माग गर्दै चौधरी पक्षका उम्मेदवारहरुले निर्वाचन बहिष्कार गर्दै मतदानस्थल छोडेर बाहिरिएका थिए।
नव निर्वाचित जिल्ला सचिव शैलेन्द्र यादवले भने निर्वाचनमा कुनै धाँधली नभएको बताएका छन्। सिरहामा संस्थापन पक्ष कै रामचन्द्र यादव र रामसुन्दर चौधरी दुई खेमामा विभाजन भएपछि प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । चौधरीलाई कोइराला र संस्थापन पक्षका केही नेताको साथ थियो ।