पञ्जाबमा आम आद्‌मीको विजयले भारतीय राजनीतिमा देखाएको रूपान्तरण

सुशासन, शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारीलगायत दैनिक जीवनका मुद्दालाई नै मुख्य एजेन्डा बनाएको आम आद्‌मी (आप) बिजेपी र कांग्रेसको दबदबा रहेको भारतीय राजनीतिमा तेस्रो ध्रुवका रूपमा उदाएजस्तो देखिन्छ।

नेपालभ्युज

पञ्जाबमा आम आद्‌मीको विजयले भारतीय राजनीतिमा देखाएको रूपान्तरण

एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसलाई शुन्य सिटमा झारेर दिल्लीमा प्रभुत्वशाली शक्तिका रूपमा आम आद्‍‍मी पार्टी उदाएको पाँच वर्ष बितेको धेरै भइसकेको छैन, अरविन्द केजरीवाल नेतृत्वको यो पार्टीले पञ्जाबमा अहिले परम्परागत खेलाडीहरूलाई उछिनेर भारतीय राजनीतिमा रूपान्तरणको संकेत दिएको छ।

सुशासन, शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारीलगायत दैनिक जीवनका मुद्दालाई नै मुख्य एजेन्डा बनाएको आम आद्‌मी (आप) बिजेपी र कांग्रेसको दबदबा रहेको भारतीय राजनीतिमा तेस्रो ध्रुवका रूपमा उदाएजस्तो देखिन्छ।

भारतकै पुरानो पार्टी कांग्रेससँग वर्तमान समय देशका केवल दुई राज्यमा मात्रै आफ्ना मुख्यमन्त्री छन्। जबकी एक दशकको पनि इतिहास नभएको आपले पनि यति संख्या मुख्यमन्त्री बनाउन सफल भइसकेको छ। २६ नोभेम्बर २०१२ मा यो पार्टी स्थापना भएको थियो।

२०२४ को लोकसभा निर्वाचनअघि कांग्रेसभन्दा शक्तिशाली विपक्षका रूपमा आफूलाई उभ्याउने दौडमा धेरै क्षेत्रीय पार्टीहरू छन्। पञ्जाबमा हासिल गरेको विजयपछि राष्ट्रिय राजनीतिमा आपले यो स्पेश पाउनसक्ने सम्भावना देखिएको छ।

पञ्जाब र आपको साइनो

दिल्लीमा २०१३ आप नेतृत्वमा बनेको थियो। त्यसको अर्को वर्ष पञ्जाबमा लोकसभा चुनाव भयो । यस निर्वाचनमा पञ्जाबका १३ सिटमध्ये आपले ४ सिट जितेको थियो। पञ्जाबमा खसेको मतमध्ये २४ दशलमव ४ प्रतिशत आपको पक्षमा आयो। कांग्रेस र अकाली दल (एसएडी) ले पनि ४-४ सिट जितेका थिए। बाँकी १ सिट बिजेपीले जित्यो।

अर्को वर्ष (२०१५) दिल्ली विधानसभामा ७० मध्ये ६७ सिट आपले जित्यो। यतिबेला भारतीय जनता पार्टीले बाँकी तीन सिट जितेको थियो, कांग्रेस आई शुन्यमा झर्‍यो।

यसपछि आपको ध्यान पञ्जाबमा केन्दीत थियो। २०१७ मा पञ्जाबमा भएको विधानसभामा निर्वाचनमा आपले २० सिट ल्यायो। तर, पहिलो भएको कांग्रेसको दाँजोमा यो त्यति राम्रो नतिजा थिएन, क्याप्टेन अमरिन्द्रर सिंहको नेतृत्वमा कांग्रेसले गज्जब उडान भर्दै १ सय १७ मध्ये ७७ सिट जितेको थियो। यसपटक भने नतिजा फरक देखिएको छ। मतगणना जारी रहदाँ अहिलेसम्म १ सय १७ सिटमध्ये ९२ सिटमा आम आद्‍मीको अग्रता छ।  जबकी का‌ंग्रेस आई १८ सिटमा अघि छ।

के गलत भयो ?

२०१७ मा पनि पञ्जाबले परिवर्तन चाहेको थियो। निर्वाचनपूर्व मतदातामाझ आपको क्रेज राम्रै थियो।

कांग्रेस, आप, सिरोमणी अकाली दल (एसएडी) र बिजेपी नै यस निर्वाचनमा मुख्य प्रतिस्पर्धी दल थिए। यी दलमध्ये सबैभन्दा राम्रो छवि र एजेन्डा आपसँग थियो।

उसले सुशासन, भ्रस्टाचारको विरोध, कृषि प्रणालीमा सुधार नहुँदा घटेको आय बढाउने , बेरोजगारी सम्बोधन गर्ने, ड्रग्स नियन्त्रण गर्ने, साम्प्रदायिक दंगालाई नियन्त्रण गरेर समुदायबीच सद्भाव कायम राख्नेलगायत मुद्दा सम्बोधन गर्ने एजेन्डा बनाएको थियो।

वैकल्पिक राजनीतिको उसको प्रतिवद्धताबाट पञ्जाबका जनता खुसी पनि थिए । तर निर्वाचनमा जाँदा आपले मुख्यमन्त्रीको चेहरा सार्वजनिक गरेन।

अर्थात्, भविष्यमा को मुख्यमन्त्री बन्नेछ भन्ने टुंगो थिएन। यो उसलाई निकै भारी पर्‍यो। उसले दुर्गम माल्वा बेल्टमा मात्रै सफलता पायो, जो भागवन्त मनको क्षेत्र हो। यसपटक उनकै नेतृत्वमा आपले सफलता हासिल गरेको हो।

उनी अब पञ्जाबको मुख्यमन्त्री हुनेछन्।

(२०१९) (लोक सभा) आम चुनावमा पञ्जाबका १३ सिटमध्ये आप एक सिटमा खुम्चिएको थियो,  यस चुनावमा दिल्लीमा उसले कुनै सिट जितेन, दिल्लीका सबै ७ सिट बिजेपीले नै जित्यो।

यसरी २०१७-२०२० सम्मको अवधि आपका लागि कठिन रह्यो, यही बेलामा जटिलता समाधानका लागि पार्टीलेले केही रणनीतिक परिवर्तनहरू गर्‍यो।

पहिलो, ऊ दिल्लीमै केन्द्रीत भयो । जो उसको आधार इलाका हो। जहाँ भ्रस्टाचारविरुद्धको मुद्दा उठाएर ऊ एउटा राजनीतिक शक्तिका रूपमा उदाएको थियो।

दोस्रो, प्रधानमन्त्री नरेन्द्र मोदी र बिजेपीविरुद्ध केजरीवाल कम आक्रामक बने। यसअघि उनले धर्मसँग जोडिएको बिजेपीको राष्ट्रवादको विरोध गर्ने गरेका थिए।

यस्ता विषयमा अल्झन छाडेर आप सुशासनमै केन्द्रीत रह्यो। तर यस अवधिमा पनि जल्दाबल्दा मुद्दामा भने उसका  अडानहरू स्पष्ट थियो, आफूलाई लागेको कुरा व्यक्त गर्ने क्रममा जनता रिसाउलान् र जनमत गुम्दा भन्ने त्रास यो पार्टीका नेता केजरीवालले मानेको  देखिएन।

यस्तो रणनीतिको नतिजा स्वरूप २०२० को दिल्ली लोकसभा निर्वाचनमा उनले अर्को शानदार विजय हासिल गरे। अघिल्लो निर्वाचनकै हाराहारीमा (अघिल्लोपटक ७० मध्ये ६७ सिट) ६२ सिट जितेर केजरीवालले आफ्नो प्रभुत्व कायम राखे।

यही जीतपछि आफ्नो पार्टीलाई छिमेकी पञ्जाबसहितका राज्यहरूमा फैलाउने चाहना फेरि केजरीवालमा पलायो।

पुनर्उदय

कृषि कानूनलाई लिएर बिजेपी–एसएडी आलोचित छन्। कांग्रेसको चुनावी अभियान पूर्ण अन्यौलमा रह्यो। यस्तो परिस्थितीमा पञ्जाबमा दुई शक्तिको दबदबालाई चिर्ने अवसरलाई आपले राम्ररी बुझेर सदुपयोग गरेको छ।

विगतका गल्तीहरु नदोहर्‍‍याउन पार्टीपंक्ती सचेत भएको देखियो। यहीकारण यसपटक भगवन्त मनलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा पहिल्यै घोषणा गरियो, जो शिख समुदायका हुन्।

आपले आफूलाई एनआरआई (गैर आवासिय भारतीय) बाट टाढा राख्यो, २०१७ मा पार्टीलाई चन्दा दिनेमात्रै होइन आक्रामक रूपमा पार्टीको प्रचार समेत गरेका थिए। डायस्पोरामा रहेका अतिवादी शिखहरूसँग जोडेर आफूविरुद्ध विपक्षीले दुष्प्रचार गर्नसक्छन् भन्नेप्रति पार्टी सचेत थियो।

शिक्षा, स्वास्थ, उर्जा तथा विकासका क्षेत्रमा दिल्लीले हासिल गरेको सफलतालाई पञ्जाबमा प्रचार गरियो। त्यहाँ पनि यस्तै विकास ल्याउने वाचा गरियो।

व्यापारिक समुदायको मन जित्नका लागि आपले विभिन्न अभियान चलायो। उनीहरूसँग औद्योगिक केन्द्रहरूमा छलफल गर्‍यो।

र, केजरीवालले आफूलाई संस्थापन इतरको व्यक्तिका रूपमा प्रस्तुत गर्नसके। उनीसँग गल्ती बिनाको उत्कृष्ट सुशासनको रेकर्ड जो थियो।

सिट संख्याका हिसाबमा हेर्दा आपको चुनावी अभियान गोआ र उत्तराखण्डमा त्यति राम्रो रहेन।

तर पञ्जाबमा हासिल गरेको यो विजयले गुजरातमा ध्यान केन्द्रीत गर्नका लागि आपलाई पर्याप्त उर्जा मिलेको छ। यहाँ अभियान थाल्ने संघारमै पार्टी छ। कांग्रेस कमजोर हुँदै जाँदा रिक्त रहेको स्पेसलाई भर्दै अघि बढ्ने अवसर यो पार्टीसामु छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved