काठमाडौं। मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डरलगायत सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास र नेपाल-भारत महिला मैत्री समाजबीच सम्झौता भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत-नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत बुधबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
भारत सरकारको २ करोड ४ लाख ९० हजार रूपैयाँ अनुदान सहयोगमा मधेस प्रदेशका तीन जिल्लामा तीन हजार ओटा एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री नेपाल-भारत महिलामैत्री समाजमार्फत उपलब्ध गराइने भारतीय दूतावासले जनाएको छ।
भारत स्वतन्त्र भएको ७५ वर्षको उपलक्ष्यमा भारत सरकारले नेपालमा ‘इन्डियाएट ७५ आजादीका अर्मत महोत्सव’ अन्तर्गत ७५ वटा परियोजना आयोजना गर्दैछ।
सोमध्ये यो परियोजना पनि एक हो। दाउरा, कोइला, गुइँठाजस्ता परम्परागत इन्धनमा निर्भर रहेको नेपाली ग्रामीण क्षेत्रका घरपरिवारलाई एलपी ग्यास इन्धनको पहुँच विस्तार गर्न भारतले ‘प्रधानमन्त्री उज्ज्वला योजना’ अन्तगर्तत यो परियोजना अगाडि ल्याएको हो।