अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन टर्की गए परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल ३० फागुनमा स्वदेश फर्कने छ।

नेपालभ्युज

अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन टर्की गए परराष्ट्रमन्त्री खड्का
फाइल तस्वीर।

काठमाडौं। परराष्ट्रमन्त्री नारायण खड्का टर्की प्रस्थान गरेका छन्। २७ देखि २९ फागुनसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खड्का टर्की उडेका हुन्।

टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उनी हिजो बेलुकी त्यसतर्फ प्रस्थान गरेका हुन्।

परराष्ट्रमन्त्रीले २८ फागुनमा मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरुको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।

मञ्चको यस वर्षकोे विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ। मञ्चमा विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल हुनेछ।

मन्त्री खड्काले गैरआवासीय नेपाली सङ्घ टर्कीका पदाधिकारी र इस्तानबुलमा रहेका नेपाली उद्यमीसँग व्यवसायका अवसरहरू र चुनौतीहरूका साथै नेपाली समुदायले सामना गर्नुपरेका समस्याबारे छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षी, विभिन्न मुलुकका विदेशमन्त्री तथा उच्चपदस्थ व्यक्तिहरुका साथै इस्तानबुल र अन्तालियाका उद्योग वाणिज्य सङ्घका सदस्यहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ।

नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको सन्दर्भमा भएको परराष्ट्रमन्त्रीको यो भ्रमण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ तुल्याउन फलदायी हुने विश्वास गरिएको छ।

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल ३० फागुनमा स्वदेश फर्कने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved