युक्रेनमा जारी युद्ध त्यस्तो पहिलो विश्वव्यापी संकट हो, जहाँ विश्व शक्ति चीनले तीन ध्रुवीय प्रणालीमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नसक्छ।
शुरूदेखि नै वासिङ्टनले चीनलाई यस युरोपेली संकटमा असान्दर्भिक पक्षका रूपमा लिएको छैन। बरू, बेइजिङलाई आफ्नो आफ्नो सावधानीपूर्ण कूटनीतिबाट डाइभर्ट गर्नका लागि उसले सक्रिय प्रयास गरिरहेको छ।
भर्खरै लिक भएको नयाँ दस्ताबेजमा कम्तीमा पछिल्ला तीन महीनादेखि अमेरिकी अधिकारीहरूले भ्लादिमिर पुटिनको युक्रेन कब्जा गर्ने योजना रोक्नका लागि चिनियाँ समकक्षीहरूसँग कसरी सहयोग मागेका थिए भन्ने पुष्टि गर्छ।
र, युद्ध शुरू भएको एक साताभन्दा लामो समय बितिसक्दा अमेरिकीहरू अझै चीनलाई यसमा संलग्न गराउन सक्रिय छन्। उनीहरूलाई थाहा छ, विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको समर्थन बिना नै लागू गरिएको विद्यमान प्रतिबन्धले रूसलाई ठूलो असर गर्नेछैन। र चीनका सी जिनपिङ नै सायद त्यस्तो एक्लो व्यक्ति हुन् जसले पुटिनलाई उनका कदमबारे पुनर्विचार गर्न र योजना फेर–बदल गर्नका लागि आश्वस्त गर्न सक्छन्।
वासिङ्टनलाई यो पनि थाहा छ, विगतमा रूस र अमेरिकाबीच तनाव उत्पन्न हुँदा चीनले आफ्ना राष्ट्रिय स्वार्थहरू रोक्नका लागि सावधान कूटनीतिको मार्ग रोजेको छ। तर, आजको दिनमा मस्कोको आक्रामकतालाई नियन्त्रणमा राख्नका लागि युक्रेन संकटमा सक्रिय भूमिका खेल्न चीनलाई आश्वस्त पार्नुपर्ने सम्भावना स्पष्टै देखिन्छ।
आज, चीनले नियममा आधारित विश्व व्यवस्थाको समर्थन गर्छ, जहाँ राष्ट्रको सार्वभौमिकतालाई सम्मान गरिन्छ। सैन्य बिस्तारवाद वा हस्तक्षेपको पक्षमा चीन छैन। उसले अमेरिकासँग पनि स्थिर सम्बन्ध विकास गर्न चाहेको छ, किनकि यो अहिलेको राजनीतिक र आर्थिक आवश्यकता हो। अमेरिकाका पूर्वराष्ट्रपति रिचर्ड निक्सनले बेइजिङ भ्रमण गरेको ५० औँ वर्षगाँठलाई चीनले भर्खरै भव्य कार्यक्रमहरू गरेर मनायो। यसले पनि अमेरिकासँग उसले चाहेको स्थिर सम्बन्ध प्रदर्शन गर्छ।
यस्तो परिस्थितिमा चीनलाई पनि प्रत्यक्ष रूपमा युक्रेन संकटमा होमिन बहाना चाहिएको छ। र, बेइजिङले आफ्नो रणनीतिमा केही परिवर्तन गरेर यसको संकेत गरिसकेको छ।
जब, युक्रेन युद्धका विषयमा राष्ट्रसंघको सुरक्षा परिषद्मा नेटो गठबन्धनका देशहरू (अमेरिका, बेलायत, फ्रान्स) ले निन्दा प्रस्ताव पेस गरे, तब रूसले भिटो प्रयोग ग¥यो। यतिबेला चीनले रूससँगै लागेर प्रस्ताव निस्तेज गर्न भिटो प्रयोग गरेन, बरू तटस्थ बस्यो।
चीनको यो कदमले रूलाई अन्तर्राष्ट्रिय जगत्मा एक्लो बनाउने दिशामा सफलता मिलेको पश्चिमा पर्यवेक्षकहरूको बुझाई छ।
अर्को कुरा, चीनका ठूलो राज्य नियन्त्रित बैंक (बैंक अफ चाइना र आईसीबीसी) ले रूसबाट आयात हुने सामाग्रीको खरिदका लागि पैसा उपलब्ध नगराउने घोषणा २५ फेब्रुअरीमा गरेका थिए। यही दिन राष्ट्रपति सीले पुटिनसँग फोनवार्ता गरेका थिए, उनले युक्रेन सरकारसँग वार्ता गर्नका लागि पुटिनलाई आग्रह गरे।
यसको प्रभाव पनि देखियो, मस्कोले युद्धविराम सम्झौताका लागि आफू तयार रहेको घोषणा गर्यो।
२८ फेब्रुअरीमा युक्रेन मुद्दामा बेइजिङको अडानबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले भने, ‘‘चीन र रूस रणनीतिक साझेदार हुन्। सहयोगी होइनन्।’’
३ मार्चमा चीनको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले रूस र बेलारूससँग सम्बन्धित सबै गतिविधिलाई स्थगित गरेर यसबारेमा समीक्षा गर्न थाल्यो। त्यसो भए बेइजिङलाई उसको प्रभाव प्रयोग गरेर मस्कोमा युद्धविरामको मध्यस्थता गर्न र अन्ततः युक्रेनमा शान्ति सम्झौता गराउन के कुराले रोकेको छ ?
पहिलो त अविश्वास हो। वासिङ्टनका पक्षमा बलियो समर्थन गर्दा आफूलाई धेरै फाइदा हुन्छ भन्ने चीनलाई लागेको छैन। बरू, धेरै चिनियाँ विश्लेषकहरूका अनुसार यसमा उल्टै घाटा हुनसक्छ। अमेरिकालाई युक्रेन संकटमा सहयोग गर्दा पनि ताइवानमा पश्चिमा समर्थन कायमै रहनेछ, नाटो थप आक्रामक हुनेछ, र फेरि अकस (अस्ट्रेलिया, बेलायत, अमेरिका) जस्तो चीन विरोधी गठबन्धन बनाउने काम नयाँ चरणमा पुग्नेछ।
एसियामा अमेरिकी कूटनीतिको प्राथमिकता चीनविरुद्ध गठबन्धन निर्माण गर्नु हो भन्ने घामझैँ छर्लङ्ग छ। रूसले युक्रेनमा आक्रमण गर्दै छ भन्ने गोप्य सूचना अमेरिकाले सार्वजनिक गर्दा बेइजिङका अधिकरहरूले सुरुआतमा यसको खण्डन गर्नु पछाडिको कारण पनि सायद यही अविश्वास हो।
अमेरिकी रणनीतिज्ञहरूले सधैँ चीनलाई लौरोमात्रै देखाएका छन्, अवरोध मात्रै गरेका छन्, त्यही कारण पनि युक्रेन संकटमा पश्चिमाको पक्षमा उभिनुपर्छ भन्नेमा चीन पूर्ण विश्वस्त छैन। चीनलाई रुसी तानशाह जसरी नै चित्रण गर्ने प्रयास पनि अमेरिकी प्रशासन र सञ्चारमाध्यमहरूले लामो समयदेखि गरिरहेका छन्, अमेरिकासँग सहकार्य नगर्दाको अवस्थामा चीनलाई यसरी प्रस्तुत गर्ने गरिएको छ।
अहिले, वासिङ्टनले ब्रिक राष्ट्र भारतलाई रूसविरुद्ध उभिएर नाकाबन्दी गर्न दबाब दिइरहेको छ। यदि यसले काम गर्यो भने चीन शान्तिको खतरा हो भनेर विश्व समुदायमा प्रस्तुत गर्न अमेरिकालाई थप सहज हुनेछ, जो चीनले बुझेको छ।
रूसलाई यो संकट अन्त्य गर्नका लागि चीनमार्फत प्रभावित पार्ने हो भने पहिले अमेरिकाले चीनलाई हरियो घाँस देखाउनुपर्ने हुन्छ। अर्थात्, लाभ देखाउनुपर्छ।
हेनरी किसिन्गर (पूर्व विदेशमन्त्री) र रिचर्ड निक्सनले ५० वर्षअघि प्रयोगमा ल्याएको यर्थाथवादी दृष्टिकोणको खाँचो अहिले छ।
शान्ति स्थापनाका लागि त्रिपक्षीय प्रणाली (अमेरिका–रूस–चीन) ले धेरै व्यवहारिकताको माग गर्छ, सैद्धान्तिक अनुमान वा संयन्त्र कमजोर भए पनि हुन्छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको समयमा चीनको राक्षसीकरण गरिएको थियो, वासिङ्टनका लागि अहिलेको समय जनमत बदल्न सही हुनसक्छ।
अन्तर्राष्ट्रिय सम्बन्धमा प्रायजसो द्वन्द्वरत पक्षबीच शान्ति स्थापना गर्न स्थिर शक्ति सन्तुलनको आवश्यकता पर्छ। कमजोर हुँदै गएको (पश्चिमा प्रतिबन्धले) संशोधनवादी रूसलाई नियन्त्रणमा राख्न पश्चिमालाई चीनको आवश्यकता छ।
र, जब कमजोरी बढ्दै जान्छ, तब चीनको आर्थिक सुरक्षा ग्यारेन्टीमा रूस थप निर्भर हुँदै जानेछ। नतिजा, चीनले सहजै शक्ति सन्तुलनको ग्यारेन्टी दिन सक्छ र अहिलेको संकट निवारण गर्ने मध्यस्थताकर्ता बन्न सक्छ।
सायद विश्वले किस्सिन्गर र निक्सनजस्ता यर्थाथवादी डिसिजन मेकरको अभाव भोगिरहेको छ, जसले सैद्धान्तिक खाडल नाघेर युरोपमा शान्ति कायम गर्न मद्दत गर्न सक्छन्।
अलजजिराबाट साभार
यर्थाथवादी?