जनकपुरधाम। विवाद बढेर मतपत्र च्यात्ने अवस्थासम्म पुगेपछि नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज सुरु भएको मतदान रोकिएको छ। रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा बिहान ११ बजदेखि मतदान सुरु भएको थियो।
निर्वाचनमा विवाद बढ्दै गएर हात हालाहालकै स्थिति आएपछि मतदान स्थगित गरिएको हो। करिब ६ सय मत खसेपछि विवाद भएको थियो।
संस्थापन पक्षका कार्यकर्ताले नक्कली मतदातामार्फत मत खसाल्न लगाएको भन्दै संस्थापन इतर समूहले मतदान गर्न नदिएपछि विवाद भएको हो। विवादका क्रममा केही मतपत्र च्यातिएको थियो।
मतपत्र च्यातिएपछि दुवै पक्षबीच विवाद बढेपछि साँझ ५ बजे मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए।
नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानल बीच विवाद भई मतपत्र च्याताच्यात भएपछि मतदान स्थगित गरिएको निर्वाचन अधिकृत शर्माले जनाए।
विवाद कै क्रममा दुई सय मतपत्र समेत लुटिएको निर्वाचन समितिले जनाएको छ। प्रतिनिधि सभा सदस्य समेत रहेका संस्थापन इतरका नेता तेजुलाल चौधरीले संस्थापन पक्षले नक्कली मतदाताबाट मतदान गर्न लगाएर धाँधली गर्न खोजेको आरोप लगाए।
चुनावमा मतदान गर्ने कुल मतदाता संख्या २ हजार ५ सय १० रहेको छ।
Facebook Comment
Comment