एमसीसीमाथि छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

कुनै नाटकीय मोड नआएमा दुई वाम दलको आन्तरिक बैठकपछि आइतबार यो विषयमा गठबन्धनमा औपचारिक सहमति हुनेछ। र एमसीसी एमालेको सहयोग बिना नै पास हुनेछ।

नेपालभ्युज

एमसीसीमाथि छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं। एमसीसी अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे छलफल प्रारम्भ हुने भएको हो।

गत आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको थियो। एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ। सोही अनुसार पास गर्नुपर्ने समयसीमा अब दुई दिन मात्र बाँकी छ।

यसअघि शुक्रबारका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।

एमसीसीका विषयमा दलहरुबीच एक मत बनेको भनिए पनि अझै अन्योल देखिन्छ। जसकारण एमसीसी संसदबाट अनुमोदन गराउन कांग्रेसले दौडधुप गरिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेता गगन थापासम्म भेटघाटमा सक्रिय छन्। सत्ता साझेदार दलहरू आन्तरिक गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउने सहमतिमा पुगेका छन्। माओवादी र नेकपा एकीकृत समाजवादीले सम्झौताका केही बुँदामा राखेका प्रश्नमा ‘व्याख्यात्मक घोषणा’ सहित संसद्बाट पारित गर्न उनीहरू सहमत भएका छन्। कुनै नाटकीय मोड नआएमा दुई वाम दलको आन्तरिक बैठकपछि आइतबार यो विषयमा गठबन्धनमा औपचारिक सहमति हुनेछ। र एमसीसी एमालेको सहयोग बिना नै पास हुनेछ।

सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसले आफ्ना सांसदलाई बैठक अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ। लामो समयदेखि संसद् अवरुद्ध गरेको नेकपा एमाले भने अवरोध कायमै राख्ने निर्णयमा अडिक रहेको सचेतक विशाल भट्टराईले बताए।

शनिबार गठबन्धनमा एमसीसीमा सहयोग गर्ने माओवादी केन्द्रले बताए पनि सो दलभित्र विवाद कायमै छ। गत साता सम्पन्न संसदीय दलको बैठकले विपक्षमा उभिने निर्णय गरेको थियो। एकीकृत समाजवादीभित्र पनि एमसीसीलाई लिएर विवाद भएको छ। झलनाथ खनाल पक्षले कुनै हालतमा पास गर्न नहुने बताएको छ। अध्यक्ष माधवकुमार नेपाल पक्षले भने गठबन्धन जोगाउन पास गर्नुपर्ने बताएको छ।

लोकतान्त्रिक समाजवादी पार्टीको बुधबार सम्पन्न बैठकले एमसीसीको पक्षमा मत हाल्ने निर्णय गरेको छ। त्यसै गरी जनता समाजवादी पार्टी पनि एमसीसीको पक्षमा छ। अन्य संसदमा रहेका साना दलहरूमा नेमकिपा, राजमो विपक्षमा रहेको छ। राप्रपा पनि सडकमा एमसीसीविरुद्ध आन्दोलन गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved