बैंकको जागिर छाडेर व्यावसायिक कालिजपालन

आफ्नै जग्गामा अहिले पूर्वाधार विस्तारको समेत काम भइरहेको र बाख्रा तथा कालिजपालनलाई प्राथमिकता दिने उनले बताए। उनको फार्ममा कालिज, टर्की र बाख्रा छन्। तीनवटा पोखरीमा माछापालन पनि शुरु भएको छ।

नेपालभ्युज

बैंकको जागिर छाडेर व्यावसायिक कालिजपालन

म्याग्दी। सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागीर छोडेर कृषि पेशा रोजेका छन्। आचार्य बैंकिङ क्षेत्रको जागीरै छाडेर व्यावसायिकरूपमा कालिजपालनमा लागेका हुन्।

उनले लस्ती कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर कालिज, टर्की, हाँस, बाख्रा र माछापालन गरेका छन्। ३५ लाख लगानी रुपैयाँबाट ‘जङ्गली कुखुरा’ भनेर चिनिने कालिजको व्यावसायिकपालन शुरु गरेका आचार्यले यस पेशामा धेरै सम्भावना रहेको बुझेपछि व्यवसायलाई थप लगानी र अझै व्यवस्थित बनाएका छन्।

कालिजको मासु र अण्डा अरु पन्छीको भन्दा महँगोमा बिक्री हुन थालेपछि कालिजपालनमा लगानी थपेर थप व्यवस्थित बनाएको उनले बताए। उनको फार्ममा अहिले बिक्री भएर बँचेका १०० भन्दा बढी कालिज छन्। तीन सयभन्दा बढी कालिज बिक्री गरिसकेको उनले जानकारी दिए। पौने दुई किलोसम्मको एउटा कालिज तीन हजार ५०० रुपैयाँदेखि चार हजारसम्ममा बिक्री हुनेगरेको छ।

कालिज प्रजातिका चरामा रोगप्रतिरोधी क्षमता बढी हुनाले जोखिम कम रहेको उनको भनाइ छ। कालिजका लागि उनले रैथाने आहारा (मकै, गहुँ, कोदो) का साथै बजारबाट आयातित दाना खुवाउने गरेका छन्। हरियो भुइँ तथा डालेघाँसबाट पनि उनले कालिजलाई दानाको व्यवस्थापन गरेको बताए। उनको फार्ममा तीन व्यक्तिले रोजगारी पाएका छन्।

निकट भविष्यमा ‘ह्याचिङ मेसिन’ राखेर आफैँ चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उनको योजना छ। पाँच महिनामा करीब दुई किलो तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उनले जानकारी दिए। कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरीका लागि हितकारक हुने बताइएको छ।

कालिजलाई दाना र घाँस दुवै दिएर पाल्न सकिन्छ। आहारामा समेत कम खर्च लाग्छ। यद्यपि कालिज आकाशमै उड्न सक्ने भएकाले सबैतिर जालीले छेक्नुपर्छ। त्यसैले खोर बनाउन भने खर्चिलो हुन्छ। आफ्नै जग्गामा अहिले पूर्वाधार विस्तारको समेत काम भइरहेको र बाख्रा तथा कालिजपालनलाई प्राथमिकता दिने उनले बताए। उनको फार्ममा कालिज, टर्की र बाख्रा छन्। तीनवटा पोखरीमा माछापालन पनि शुरु भएको छ।

जलजला गाउँपालिकाले पनि व्यावसायिक कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहनको नीति लिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा यसकै लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। नेपालमा कालिज प्रजातिका चरा लोप हुने अवस्थामा पुगेको भन्दै सरकारले संरक्षितको सूचीमा राखेको छ। यद्यपि यहाँ पछिल्लो समय विदेशी प्रजातिका कालिजको व्यावसायिक पालन थालिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved