देशभर एघार लाख बालश्रमिक, दुई लाख बालबालिका बाध्यकारी श्रममा

बालश्रममा लाग्नुको मुख्य कारण गरिबी देखिएको छ। बालश्रमिकहरूको संख्या निकै धेरै भए पनि बालश्रमको विरुद्धमा एउटा पनि मुद्दा परेको छैन।

देशभर एघार लाख बालश्रमिक, दुई लाख बालबालिका बाध्यकारी श्रममा

हेटौंडा। नेपालमा एघार लाखभन्दा बढी बालश्रमिक रहेको पाइएको छ। स्वतन्त्रता अभियान नेपाल नामक संस्थाको एक अध्ययनअनुसार देशभर ठूलो संख्यामा बालश्रमिक रहेको पाइएको हो।

जसमध्ये दुई लाखभन्दा बढी बालबालिका बाध्यकारी श्रममा छन्। अध्ययनले बागमती प्रदेशमा मात्रै ६ हजारभन्दा बढी बालबालिका बाध्यकारी श्रममा रहेको देखाएको छ। बागमतीमा ३ दशमलव १ प्रतिशत अर्थात् ६ हजार दुई सय जना बालबालिका कष्टदायी श्रममा रहेको संस्थाले जनाएको छ।

अध्ययनले बालश्रममा लाग्नुको मुख्य कारण गरिबी देखाएको स्वतन्त्रता अभियान नेपालका प्रतिनिधि सोम बहादुर स्याङतानले जानकारी दिए। ‘‘विशेष गरी बालबालिकाहरू गरिबीकै कारण श्रममा लाग्न बाध्य छन्,’’ उनले भने,‘‘घरको न्यून आम्दानीका कारण बालबालिकाहरू बाध्य भएर श्रममा लागिरहेका छन्।’’ अभिभावकको कारण पनि बालबालिकाहरू श्रममा लागेको देखिएको उनले बताए। घरको आर्थिक अवस्था कमजोर हुँदा बालबालिकाहरू श्रमको क्षेत्रमा गइरहेको पाइएको छ।

तथ्यांकअनुसार बालश्रम गर्नेमध्ये १० वर्ष मुनिका १३ दशमलव १ प्रतिशत, १० देखि १३ वर्ष उमेर समुहका १९ प्रतिशत र १४ देखि १९ वर्ष समुहका ६७ दशमलव २ प्रतिशत रहेका छन्। बालश्रममा रहेकामध्ये बागमती प्रदेशका एक हजार पाँच सय ३५ जना बालश्रमिकहरूमा गरिएको अध्ययनले काम छोड्न चाहना राख्नेहरू कमै मात्रामा पाइएको देखाएको छ। शारीरिक कष्टकारी श्रममा बालबालिकामध्ये तीन प्रतिशत बालबालिकाहरू २० घण्टासम्म काममा जोतिनु परेको अवस्था रहेको छ। ‘‘कतिपय बालबालिकाहरूले दिनमा १६ देखि २० घण्टासम्म श्रम गरिरहेको पाइएको छ,’’ उनले भने,‘‘बालबालिकाहरू निकै जोखिमयुक्त श्रममा पनि छन्। उनीहरूको शारीरिक क्षमता भन्दा बढी श्रम उनीहरूले गर्नु परिरहेको छ।’’

श्रम कार्यालय मकवानपुरका प्रमुख छन्दनारायण श्रेष्ठले बालश्रमिकहरूको संख्या धेरै भए पनि बालश्रमको विरुद्धमा एउटा पनि मुद्दा नपरेको बताए। सरकारले बनाएको नीतिको कार्यन्वयनमा कमजोरी देखिएका कारण बालश्रमको अन्त्य हुन नसकेको उनले बताए। बागमती प्रदेशको नीति तथा योजना आयोगका सदस्य हरि पोखरेलले बालबालिकाहरूको अधिकार सुनिश्चितताका लागि सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर जानुपर्ने बताए।

राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष प्रकाश खतिवडाले बालश्रम चुनौतीको विषय रहेको बताएका छन्। सरकार र नागरिक समाजबीच अझै धेरै समन्वयको जरुरी रहेको उनले बताए। ‘‘बालश्रम अन्त्यका लागि सामाजिक विकासमा जोड दिनुपर्नेमा यस्तो हुन नसक्दा बालश्रमिकहरूको संख्या दिनानुदिन बढेको हो,’’ खतिवडाले भने,‘‘बनेका नीतिहरूलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ध्यान दिनु जरुरी छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved