पोखरा। गण्डकी प्रदेशले प्रदेशभित्र वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। प्रदेशले प्रथम पञ्चवर्षीय योजनाका माध्यमबाट गण्डकी प्रदेशलाई पर्यटन हब र पोखरालाई नेपालको पर्यटकीय राजधानीका रूपमा विकास गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको हो।
नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला क्याथरिन पोलिटसँग मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बीचको भेटमा प्रदेशले आफ्नो लक्ष्यबारे बताएको हो। प्रदेश नीति तथा आयोगका उपाध्यक्ष डा. रघुनाथ काफ्लेसमेत उपस्थित उक्त भेटमा आयोगका उपाध्यक्ष काफ्लेले यस्तो बताएका हुन्।
गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष काफ्लेले समृद्ध प्रदेशः सुखी नागरिक निर्माणका लागि सरकारले प्रथम पञ्चवर्षीय योजनाका माध्यमबाट बहुआयामिक गरिबी सूचकांक १४ दशमलव २ बाट ७ प्रतिशतमा झार्ने, औसत आर्थिक वृद्धिदर १० दशमलव २ प्रतिशत पुर्याउने लक्ष्य राखेको बताए।
‘‘प्रतिव्यक्ति आय १ हजार ४३ बाट १ हजार ९ सय ५६ अमेरिकी डलर पुर्याउने, पूर्ण बेरोजगारी ९ बाट ४ प्रतिशतमा घटाउने लक्ष्य लिएका छौं,’’ उनले भने।
भेटमा संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशमा बेलायत सरकारबाट जलवायु परिवर्तन अनुकूलन, लघुउद्यम प्रवर्द्धन र आयआर्जन, स्वास्थ्य, पर्यटन, प्रदेश र स्थानीय तहको सुशासन र क्षमता विकास जस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध अझ सुमधुर बन्ने विश्वास व्यक्त गरे।
नेपाली युवाहरू बेलायती सेनामा संलग्न भएर लामा समयदेखि काम गर्ने अवसर पाएको भन्दै मुख्यमन्त्री पोखरेलले उनीहरूको परिवार बेलायतमै बस्दै आएको चर्चा गरे।
उनले जलवायु परिवर्तन अनुकुलन र विपद् व्यवस्थापन पर्यटन पूर्वाधार विकास र आयआर्जन र ठूला पूर्वाधार निर्माणमा सहयोगजस्ता क्षेत्रमा बेलायतबाट प्रदेश सरकारले थप सहयोगको अपेक्षा गरेको बताए।
मुख्यमन्त्री पोखरेलले प्रदेशलाई आवश्यक कानुनहरूको तर्जुमा र कार्यान्वयन, योजनावद्ध विकासका लागि प्रथम पञ्चवर्षीय योजना तर्जुमा, दिगो विकास लक्ष आधाररेखा प्रतिवेदन तयारी, मध्यमकालीन खर्च संरचना, आयोजना बैंक जस्ता रणनितिक महत्वका दस्तावेजहरूले प्रदेशको विकासका लागि सरकारको गन्तव्य सुनिश्चित गरेको जानकारी गराए।
उक्त अवसरमा बेलायती राजदूत निकोलाले जलवायु परिवर्तन अनुकुलन र पर्यटन प्रवर्द्धनका लागि बेलायत सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता जनाइन्। पोखराको सुन्दरताबाट प्रभावित भएको भन्दै उनले सोमबार बिहान साइक्लिङबाट आनन्द लिएको खुशी व्यक्त गरिन्। नेपालसँगको पुरानो सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउन आफूहरू हरदम तयार रहेको उनको भनाइ थियो।्
पोखरा र गण्डकी प्रदेशको स्वास्थ्यको क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगले निरन्तरता पाउने पनि उनले उक्त अवसरमा जानकारी गराइन्। राजदूत निकोलाले संघीय शासन प्रणाली लागु भएपछिको अवस्था र प्रदेश सरकारको अनुभवका बारेमा उक्त अवसरमा जिज्ञाशा राखेकी थिइन्।
Facebook Comment
Comment