नेपालको पहिलो बालमैत्री गाउँपालिकामै तीन सय ५१ बालश्रमिक

बालश्रमिकमध्ये एघार जना विवाहित छन्।

नेपालको पहिलो बालमैत्री गाउँपालिकामै तीन सय ५१ बालश्रमिक

हेटौँडा। दुई वर्षअघि २८ पुस २०७६ तत्कालीन उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले मक मनहरी गाउँपालिकालाई नेपालकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरे। देशभरका अन्य गाउँपालिकाले उक्त गाउँपालिकाबाट सिक्नुपर्ने अभिव्यक्ति उनले दिए।

तर पहिलो बालमैत्री गाउँपालिका घोषित मनहरीमा नै साढे तीन सय बालबालिका बालश्रममा रहेको पाइएको छ। जसमध्ये दुई सय ३९ बालक र एक सय १२ बालिका रहेका छन्। मनहरीका वडा नम्बर २, ४, ६ र ८ का सात हजार १४ जना बालबालिकामा गरिएको सर्वेक्षणका क्रममा उक्त तथ्य बाहिर आएको हो।

सिविन नेपालको सहकार्यमा गरिएको अध्ययनमा बालश्रममा जानुको प्रमुख कारण गरिबी रहेको पाइएको छ। बालश्रममा जानेमा मनहरी गाउँपालिका भित्र एक सय ४४ जना र मनहरी गाउँपालिका बाहिर दुई सय ७ जना रहेका छन्। ती बालबालिकाहरू विद्यालय जान नपाएको प्रतिवेदनमा उल्लेख छ। जसमध्ये वडा २ र ४ नम्बर वडाका बालबालिका गलैँचा कारखानामा बढी कार्यरत रहेको पाइएको छ भने ६ नम्बर वडाका बालबालिका घरेलु बालश्रम, गलैंचा कारखाना र यातायात क्षेत्रमा कार्यरत रहेका छन्।

यस्तै ८ नम्बर वडाका बालबालिका घरेलु श्रम र यातायात श्रेत्रमा बढी बालबालिका कार्यरत रहेका छन्। घरेलु श्रममा रहेकामध्ये अधिकांश बालबालिका ३४ जना आफ्नै घरमा, १४ जना आफन्तको घरमा र केही बालबालिका अपरिचित व्यक्तिको घरमा काम गरिहेको तथ्यांकले देखाएको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार वर्तमान अवस्थामा काम छोड्ने २३७ जना र तत्काल काम छोड्ने योजना नबनाएका बालबालिका ११४ रहेका छन्। आर्थिक कारणले २८६ जना, घरेलु हिंसाका कारणले २१ जना, साथीभाइहरूको प्रभावले ११५ जना, आर्थिक सहयोगका लागि परिवारको दबाबले ६ जना, रोजगारदाताको प्रभावले १९ जना, पढाइमा रुची नभएर ११७ जना बालबालिका श्रम गर्न बाध्य भएको तथ्यांकले देखाएको छ। बालश्रमिकमध्ये विवाहित ११ जना र अविवाहित ३४० जना रहेका छन्।

मनहरी गाउँपालिकामा बालश्रमको अवस्थाको बारे आइतबार सरोकारवालाबीच प्रतिवेदन सार्वजनिक गरिएको हो। गाउँपालिका उपाध्यक्ष मनिला विष्टले अध्ययनले बालबालिका सम्बन्धि कार्ययोजना निर्माण, बजेट विनियोजन तथा बालमैत्री कार्यक्रमलाई निरन्तरता दिन सहयोग पुग्ने बताइन्। यस विषयमा आफू थप चनाखो हुन आवश्यक रहेको उनको भनाइ थियो। यद्यपि मनहरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण यस्ता कार्यक्रमहरू प्रभावित हुने गरेका छन्।

उपाध्यक्ष विष्टले हरेकजसो कार्यक्रममा बालमैत्री गाउँपालिका घोषणाका लागि गाउँपालिका अध्यक्षको नै सहयोग नभएको बताउँदै आएकी छन्। कार्यक्रममा गाउँपालिकाका वडाअध्यक्षहरूले अध्ययनमार्फत वास्तविक तथ्यांक थाहा पाएपछि आगामी दिनमा कार्ययोजना तथा बजेट विनियोजन गर्न सजिलो हुने बताए। सिविन नेपालले मनहरी गाउँपालिकामा बालश्रम न्यूनीकरण परियोजना अन्र्तगत बालश्रमको अध्ययन गरिएको र सो अध्ययन अनुसार बालबालिकाहरूको लागि सहयोग गरिने कार्यक्रम रहेको सिविन बालहेल्पलाइन मकवानपुरका प्रमुख झबिन्द्र ज्ञवालीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved