पोखरा। पोखराको फेवातालको पानी घटाइने भएको छ। बाँध बाँधेको ठाउँबाट पानी घटाउन लागिएको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीले जनाएको छ।
पोखरा महानगरपालिका वडा नं. १७ अन्तर्गत सिद्धार्थ राजमार्गको विरौटा चोकदेखि करीब एक सय मिटर पश्चिममा सिंचाई नहरमा पर्ने कल्भर्टलाई फराकिलो बनाउन तालको पानी घटाउन लागिएको कार्यालयको सूचनामा उल्लेख गरिएको छ।
सडक डिभिजन कार्यालय, पोखरामार्फत् उक्त क्षेत्रमा नहर फराकिलो बनाउनुपर्ने आवस्यकता देखिएको भन्दै कार्यालयमा निवेदन परेपछि कार्यालयले उक्त कार्यका लागि अनुमति दिएको हो। “फेवा तालको सतह घटाउन अनुरोध भइआएकोमा उक्त कार्यको लागि यही मिति २०७८/११/१० गते देखि २०७९/१/३० सम्म फेवा तालको बाँध खोली पानीको सतह घटाई निर्माण कार्यमा सहजीकरण गरिने व्यहोरा अनुरोध छ।” डिभिजन प्रमुख किरण आचार्यद्वारा जारी सूचनामा उल्लेख छ।
साथै सोही अवधिमा फेवाताल वरपर तथा फेवा ताल भन्दा तल बसोबास गर्ने आम सर्वसाधारण नागरिक निर्माण व्यवसायीलागायत सरोकारवाला सबैमा पर्न जाने असुविधाप्रति कार्यालयले क्षमा याचना गरेको छ।
कल्भर्ट सानो हुँदा नहरको गेट पुरै बन्द गर्दा समेत पानी ओभरफ्लो हुने समस्या समाधानका लगि तालको सतह नै घटाउनुपर्ने देखिएको सूचनामा उल्लेख छ।
निवेदनको वोधार्थमा गण्डकी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, मत्स्य विकास केन्द्र पोखरा, महानगरको वडा नं. १७ कार्यालय, ६ नंबर वडा कार्यालय र फेवा सिँचाई जलउपभोक्ता समितिलाई समेत उल्लेख गरिएको छ
Facebook Comment
Comment